राष्ट्रियसभा निर्वाचन

नेकपाका शर्मा र बिसी विजयी

सुर्खेत : राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । बिहीवार सम्पन्न निर्वाचनमा सत्तारुढ दल नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसी राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका हुुुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मायाप्रसाद शर्माले तीन हजार ६ सय १८ मतभार प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे ।

यस्तै महिला सदस्यमा नेकपाकी सुमित्रा बिसीले तीन हजार ६ सय ८४ मतभार प्राप्त गरेर विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ मतभार प्राप्त गरिन् । राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशबाट चार जना उम्मेदवार चुुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन कार्यालयका सूचना अधिकारी हिरानन्द पोखरेलका अनुसार कर्णालीमा कुल ४० जना प्रदेशसभा सदस्य र एक सय ५८ जना स्थानीय तहका गरेर कुल एक सय ९८ मतदाता रहेका थिए । जसमध्ये एक सय ९५ मत खसेको छ । तीन भोट भने नखसेको उनले जानकारी दिए ।

पोखरेलले दुई मत भने बदर भएको जानकारी दिए । जसमा प्रदेशसभा र स्थानीय तहको एक÷एक मत रहेको थियो । आफ्नो दुई वर्षे कार्यकाल सकेर कालीबहादुर मल्ल र युटोल तामाङ बाहिरिँदै छन् । उनीहरूको स्थानमा नयाँ निर्वाचन गरिएको हो । बिहीवार सातै वटा प्रदेशमा प्रदेशसभा सदस्य पदका लागि निर्वाचन सम्पन्न
भएको छ ।

प्रकाशित मितिः   १० माघ २०७६, शुक्रबार ०५:००