चार बुँदे प्रतिबद्धता

सुर्खेत : अन्तरपार्टी महिला सञ्जाल कर्णाली प्रदेशले चारवटा प्रतिबद्धता गरेको छ । बिहीवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी सञ्जालले उक्त प्रतिबद्धता गरेको हो । सञ्जाललाई स्थानीय तहसम्म विस्तार गर्ने, आर्थिक पारदर्शिताको लागि तथ्यांकमा आधारित भइ काम गर्ने, प्रत्येक स्थानीय तहले गरेका सामाजिक विकृतिविरुद्धका कार्यक्रमको सूची तयार गर्ने र कानुनको कार्यान्वयन गर्ने गरी साझा प्रतिबद्धता व्यक्त गरिएको अन्तरपार्टी महिला सञ्जाल कर्णाली प्रदेशकी संयोजक देवी वलीले जानकारी दिइन् । उनले कर्णालीको सामाजिक कुरिती र जातीय विभेदविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पार्वती बिसुन्केले महिलाहरूको अस्तित्व समाजले स्वीकार गर्न नसकेको बताइन् । उनले महिलाहरूलाई हरेक नेतृत्वमा प्रत्यक्ष सहभागी गराउनुपर्नेमा जोड दिइन् । राष्ट्रियसभा सदस्य नन्दा शर्माले महिलाहरूले समेत नेतृत्व वहन गर्न सक्नुपर्ने बताइन् । कर्णाली प्रदेशसभा सांसद सीता नेपालीले महिलाबाटै छुवाछुत अन्त्यका लागि पहल हुनुपर्ने बताइन् । उनले महिनावारी हुँदा महिलालाई एक हप्ता छुवाछुत गर्ने गरिएको भन्दै दलित समुदायले सधैं छुवाछुत सहनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

प्रकाशित मितिः   १० माघ २०७६, शुक्रबार ०५:००