प्रदेश समृद्धिको खाका
समय आफैमा बलवान छ । समयको गतिमा दौड्न नसक्नेहरू पाछाडि पर्नेछन् । विकासको गतिले समयको गतिलाई पछ्याउन सक्नुपर्दछ । यदि यसो नभएको खण्डमा विकास र समृद्धिको रहर अधुरो रहनसक्छ । मानव परिवर्तनशील छ, र ऊ विकास चाहन्छ । नेपालमा बारम्बार हुने राजनीतिक परिवर्तन र अस्थिरताले जनतालाई विकासको भोको बनाएको छ । कुनै पनि हालतमा जनता विकास देख्न चाहन्छन् । आफ्नो जीवनस्तरमा सुधार भएको अनुभूति गर्न चाहन्छन् । तर त्यो चाहाना अधुरो छ । अघिल्लो वर्ष देशमा सीमाङ्कनको खाका कोर्दै गरेका राजनीतिक दलहरूले आजसम्म पछाडि पारिएको मध्यपश्चिमलाई सुदूरपश्चिममा समायोजन गरे । त्यसैको विरोधमा सुर्खेतबाट आन्दोलनको सुरुवात भयो । भूगोलको पहिचान गुमेको भन्दै क्रमशः अन्य जिल्लाहरूमा पनि आन्दोलनले उग्ररूप लियो । अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलनमा चार जनाले ज्यान नै गुमाए । जनताको आन्दोलनको अगाडि राजनीतिक दल र तिनका नेताहरू घुँडा टेक्न बाध्य भए । अन्ततः आन्दोलनको १३ दिनपछि गत वर्षको भदौ ४ गते नयाँ प्रदेश घोषणा भयो ।
अघिल्लो वर्ष भदौ ४ गते जनताको आन्दोलनको बलमा ६ नम्बर प्रदेश जन्मियो । कर्णालीका पाँच, भेरीका तीन र राप्तीका दुई वटा जिल्ला समेटेर अघिल्लो वर्ष भदौ ४ गते दलहरूले छैठौं प्रदेश घोषणा गरेका थिए । जनताले आफ्नो पहिचान त फिर्ता पाए । के यतिले मात्र अब जनताको समृद्धि हुन्छ त ? यो प्रश्न गम्भीर भएर उठेको छ । जसरी जनता स्वतः स्फूर्त रूपमा पहिचानका लागि सडकमा आए । अब त्यसरी नै जनतामा विकासको सपना देखाउन सक्ने नेतृत्व चाहिएको छ । रगतसँग साटिएको हो ६ नम्बर प्रदेश । अन्य प्रदेशभन्दा यो प्रदेशको स्थापना र इतिहास भिन्न र फरक
छ । त्यसकारण पनि यो प्रदेशलाई फरक ढङ्गबाट बुझ्न आवश्यक छ । यो प्रदेशको महŒवपूर्ण अङ्ग कर्णाली हो । जो जिगतदेखि नै उत्पीडन र हेपिएको छ । विकासको भोको छ कर्णाली । त्यसको समृद्धि हुनु नै समग्र प्रदेशको समृद्धि हुनु हो । त्यसकारण प्रदेश स्थापना भएको एक वर्ष पूरा भएको
छ । यो सुखद् क्षणमा अब सबैले प्रदेशको समृद्धि र विकासको नयाँ सपना देख्न जरुरी छ । विषेश गरी राजनीतिक दलहरूले यसको अगुवाइ गर्दै प्रदेशको विकास र समृद्धिको खाका ल्याउन जरुरी छ ।
राजनीति नै नीतिको नेतृत्वकर्ता हो । त्यसैले अब नेताहरूले यसतर्फ ध्यान दिन जरुरी छ । हिजो जसरी प्रदेश प्राप्तीका लागि एकताबद्ध भएर अभियान सञ्चालन भएको थियो, अब त्यसैगरी यसको विकासको खाका कोर्ने काममा पनि एकता र एकमत आवश्यक छ । सहमति र सहकार्य बिना कुनै सफलतामा पुग्न सकिदैन । अब दल, नागरिक समाज, सरकारी निकाय र गैरसरकारी निकायले यो रगतसँग साटिएको ६ नम्बर प्रदेशको विकास र समृद्धिको लागि हातेमालो गर्नुपर्ने बेला भएको छ । यो प्रदेश आफैमा प्राकृतिक सम्पदाको धनी छ । यहाँ जनशक्तिको पनि अभाव छैन । मात्र अब इच्छा शक्ति चाहिएको छ । त्यसका लागि अब दलहरूले साझा खाका बनाएर प्रदेश समृद्ध बनाउनका लागि अभियान थाल्नुपर्ने बेला आएको छ । यसले मात्र प्रदेश सम्पन्न र सबल बन्न सक्छ । जब यो प्रदेश आफै सक्षम हुनेछ, तब मात्र विकास र निर्माणले पनि काँचुली फेर्नछ ।
साझा बिसौनी संवाददाता ।