नेकपा एमाले र जनअपेक्षा

Hari_Adhikari-हरि अधिकारी-
नेकपा एमाले पार्टी नागरिकका जनजीविकाका सवाल सम्बोधन गर्न अब राजनीतिको मार्गदर्शन आवश्यक भएको मान्यता राख्दछ । समय सापेक्ष दलका नीति, विचार र सिद्धान्त परिमार्जन गर्न मुख्य रूपमा जनताका सवाललाई नै आधार मान्नुपर्ने मान्यता एमालेको छ । जनताको बहुदलीय जनवाद भनेकै दुनियाँको सिद्धान्तलाई अनुकूलतामा बदल्ने मान्यता राख्दछ जुन कुरा जनताका विषयविना राजनीतिले सही मार्ग लिन सक्दैन । सिद्धान्त र विचारविना पार्टीका मान्यता अघि बढ्न सक्दैनन् । जनताको बहुदलीय जनवाद एमालेको मार्गदर्शक सिद्धान्त हो । यसले समय सापेक्ष जनताका आवश्यकता परिवर्तन हुन्छन् किनकी आवश्यकताले अपेक्षा सिर्जना गर्दछ । अपेक्षालाई राजनीतिक दलका नीतिले सम्बोधन गर्नसके मात्र देश विकासमा जनताको सहभागिता अभिवृद्धि भइ समावेशी विकासको अवधारणा थालनी हुन्छ । यसले हिमाल, पहाड र तराइ तथा जाति जनजातिका सवाललाई सम्बोधन गर्न योगदान गर्दछ ।
सरकारका कार्यक्रम र नीतिले देश विकासको ढोका खोल्न सक्नुपर्दछ । सपना देख्न सिक्नुपर्दछ । जुन कुरा नेकपा एमालेको २०५१ सालको नौ महिने सरकारले ल्याएको बजेट अनि २०७३ सालमा अर्को नौ महिने एमालेको सरकारले ल्याएको बजेट तथा नीति कार्यक्रमले देखेको सपना र भविश्यको विकासको परिकल्पनाले नेपाल जस्तो १८ प्रतिशत गरिबीसँग जुझीरहेको नेपाललाई समृद्धिको बाटो देखाएको छ । सायद दुनियाँको विकसित देशको लाइनमा उभिन लागेको भारत समेत यस्तो बजेट, नीति र कार्यक्रमबाट अत्यालिएको मात्रै होइन नेपाललाई अझपछि धकेल्ने मनशाय राखेको देखिन्छ । यसले के देखाउँछ भने यो देशमा असल कार्य गरे वापत सजाय पाउनुपर्ने, आम दुनियाँ नेपाली जनतालाई आज केपी वली सरकार ढाल्नुपर्ने कारणको सही उत्तर दिन सकिरहेको छैन । जुन कारण दिए पनि यसको पुष्टि गर्दैन । सरकारले संविधान कार्यान्वयन गरेपछि सबैभन्दा नजिकको छिमेकी भारतलाई रोजगारी, शिक्षा, स्वाथ्य, खाद्य सुरक्षा जस्ता विषय सम्बोधन गर्न जटिलता आउँछ । किनकी नेपालको जारी संविधानमा सुरक्षित गरिएका मौलिक हक आज पनि भारतको संविधानले ग्यारेण्टी गर्न सकिराखेको छैन । संसद, स्थानीय तह, लगायत अन्य संवैधानिक निकायहरूमा गरेको समावेशी सिद्धान्तले भारतका लागि सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ । यसले नेपालमा अस्तव्यस्तता कायम राख्न सके नत संविधान कार्यान्वयन हुन्छ नत देश विकास । यसकारण आजको मुख्य कार्य भनेकै संविधान कार्यान्वयन नै हो । यसका लागि नेकपा एमालेको दृढृता र प्रतिबद्धताबाट छिमेकी मुलुक अत्यालिएको अवस्था छ । नेकपा एमाले आज संसदमा दोस्रो स्थान हासिल गरे पनि देशको नेतृत्व एमालेको विचारले अग्रता कायम गरेको छ । जुन कुरा समावेशीको मुख्य उदाहरण राष्ट्रपति महिला बनाउनु, संविधान जारी पश्चात् एमालेको प्रधानमन्त्री हुन आदि कुराले यसको पुष्टी गर्दछ । पार्टीका नियमित महाधिवेशन, अधिवेशन, विचारको मन्थन, स्थानीय पार्टीको चुस्तदुरुस्ता सङ्गठन प्रणाली जस्ता कुराले एमाले पार्टी अन्य राजनीतिक दल भन्दा समावेशी, समानुपातिक तथा मूल्य मान्यता समेतलाई हेर्दा उत्कृष्ट पार्टीको स्थान हासिल गरेको कुरा दुनियाँका अघि साक्षी छ । यसकारण अब नेकपा एमालेले जारी संविधानको कार्यान्वयन विना नेपालको विकास सम्भव देखिदैंन् । यसलाई कार्यान्वयनका लागि जुनसुकै मूल्य चुकाउन परे पनि चुक्नु हुँदैन ।
खासगरी राज्यको पुनर्संरचनामार्फत् देश विकासको अनुभूति गर्न सकिन्छ । आज तराईको हुलाकी राजमार्ग बनाउन पाँच अरब खर्च भइसकेको छ । सप्तरी जिल्लामा १६ जना सांसद छन् । निरन्तर नौ पटक एक जना मान्छे मन्त्री हुन्छ । सधैं तराईबाट जितेका माननीयहरू महŒवपूर्ण मन्त्रालय सम्हालेर बसेको इतिहास छ तर मधेसमा बसेका जनताहरू उपेक्षामा परेको, विभेदमा पारिएको भन्ने आरोप छ । देशको कूल बजेटको ३७ प्रतिशत बजेट तराइमा विनियोजन गरेको अवस्था हुँदा पनि विकास नभएको देखिन्छ । यसकारण पहिचान गर्न आवश्यक छ । स्वभिमानमा उभिन चुक्ने तराइ मधेशका मधेशी दलका नेताहरू आरोप लगाई सधैंभरी मधेसी जनतालाई गुमराहमा राखेर नेतृत्व दिन चाहन्छन् । तराईका सबै सदरमुकाममा ५० करोड दिने एमाले सरकारको निर्णय के यसअघिका सरकार वा भौतिक पूर्वाधार, योजना आयोग, अर्थ मन्त्रालय सम्हालेका व्यक्तिहरूलाई थाहा थिएन र ? उसो भए तराईमा गठन भएका सबै मधेसी दलका कुनै न कुनै व्यक्ति राज्यको उपल्लो निकायमा पुग्दा किन हुन सकेन विकास ? यसकारण तराई मधेसका जनताले समेत अब त इतिहास जान्नै पर्दछ । असल विचार, सिद्धान्त र पार्टी विना विकास भन्ने कुरा जटिल कुरा रहेछ । राष्ट्रियतामा चुकेका मधेसी दलका नेताहरू केवल प्रयोगवादी सिद्धान्त अवलम्बन मात्रै गर्ने बाटो रोजीराखेका छन् । यसको उदाहरण संविधान विभेदकारी भयो मान्दैनौं भन्ने दलहरू एमाले जस्तो विकासप्रेमी, राष्ट्रियताप्रति प्रतिबद्ध दलका विरुद्ध मत हाल्न हाम फालेर संसदमा आउने कुराले स्पष्ट गर्दछ । मधेसी दलहरू राजनीति दल भन्दा पनि प्रयोगवादी समूह जस्ता देखिएका छन् । यसले तराईको विकासलाई अझ पर धकेल्ने सङ्केत गर्दछ । आजसम्मका कुन सरकारले तराईको दिगो विकासको बारेमा सोचेका छन् । यसबाट समेत पुष्टी गर्दछ, एमाले पार्टी कति विचार र सिद्धान्तमा प्रष्टता भएको दल हो भन्ने । अब तराईका जनताले एमाले पढ्नु पर्दछ, एमाले जान्नुपर्दछ, एमाले बन्नुपर्दछ अनि मात्र तराईको समग्र विकास र समृद्धिको गोरेटो बन्ने देखिन्छ ।
नेपाली कांग्रेस आफूलाई लोकतन्त्रको ठेकेदारको रूपमा उभ्याउने कोशिस गरे पनि उसका कमिटी, महाधिवेशन अधिवेशन कमिटी प्रणालीलाई व्यवस्थित बनाउन सकिराखेको छैन् जुन कुरा जारी नेविसंघको १० वर्ष पछिको अधिवेशनलाई हेर्दा समेत स्पष्ट हुन्छ । २००७, २०१५, २०४७, २०४८, २०५६, २०६३ र २०७० मा प्राप्त मत, विश्वास प्राप्त गरी मुलुकमा नेतृत्व प्रदान गरेको कांग्रेसले करिब ३ दशक निरन्तर सत्ता नेतृत्व गरेको देखिन्छ । तर परिवर्तनको अनुभूत हुने गरी नेतृत्व प्रदान गर्न सकेको इतिहासले पुष्टी गर्दैन । नत विकास नत समृद्धि यसको पछाडिको कारण उसले अंगीकार गरेको सिद्धान्त, विचार र नीति नै प्रधान कुरा हो । यसकारण एमालेले सञ्चालन गरेको १८ महिने सरकारका नीति र कार्यक्रमलाई आज विना पूर्वाग्रही तुलना गर्न सकिएन भने हामीले असल र खराबको भेद थाहा पाउन सकिदैन् । यसकारण अब ढिलो चाँडो नेकपा एमालेले यो देशमा बहुमतको सरकारको नेतृत्व प्रदान गर्नेमा शंका नगर्दा हुन्छ । एमालेको भिजन अनि मात्रै यो देशमा लागू हुन्छ । एमाले पार्टीले भने जस्तो १० वर्षभित्र देशका नागरिकले रोगभोक, बेरोजगारी अशिक्षा र अँध्यारो युगको अन्त्य भएको देख्नेछन् । यसका लागि संविधानले ग्यारेण्टी गरेका स्थानीय तह, प्रदेश र संसदको निर्वाचनमा एमाले पार्टी हामी सबैले रोज्न चुक्न हुन्न ।
अब नागरिकले स्थानीय तहमा सरकारको अभ्यास गर्ने देखिन्छ । एमालेले स्थानीय निकायका लागि विगतदेखि ल्याएको तीन लाखबाट आज ९० लाख पुग्न लाग्यो भोलि पाँच करोड बढी अनुदान, सबै ज्येष्ठ नागरिकले भत्ता मात्रै होइन सरकारले पालनपोषण समेत गर्नेछ । बेरोजगारी समस्यालाई सयौं रोजगारीको अवसर स्थानीय तहमै सिर्जना गरी यो समस्या समाधान गर्न सकिनेछ । पछाडि पारिएका, परेका, उपेक्षित, उत्पीडित, भूमिहीन, गरीब असहाय, भौगोलिक विकटताले छोएको भू–भागमा भएका नागरिक र क्षेत्रले एमालेबाट थुप्रै आशा अपेक्षा गरेका छन् । यसको समाधान गर्ने क्षमता योग्यता, नीति, विचार, व्यक्तिहरू एमालेमा छन् । यसकारण जनताको अपेक्षा र एमालेको नीति एमालेको बहुमतसहितको नेतृत्व सरकार आवश्यक देखिन्छ । एमाले पार्टीले लिएका नीतिले नेतृत्व प्रदान गरे पनि प्रमुखता कायम हुन सकेको छैन् । यसका लागि एमाले पार्टीले पाँच वर्ष यो मुलुकमा नेतृत्व प्रदान गरे कस्तो होला यसको सुक्ष्म अध्ययन गर्न आवश्यक छ ।
आज करोडौंका योजना अलपत्र छन्, १२ वर्षसम्म ४ सय मिटरको पक्की पुल बन्न सक्दैन् । दैनिक १५०० युवा विदेशिएको अवस्था छ यसलाई समाधान गर्न जटिलता भएको छ । करोडौं पैसा माननीयका नाममा रकम खर्चिएको अवस्था छ तर पनि जनताको आधारभूत तहमा खासै परिवर्तन हुन सकिराखेको अवस्था छैन् । यसकारण आज जनताको प्रतिनिधिको नाममा आएको रकम समग्र त्यस क्षेत्रका जनताको भन्दा पनि आफ्ना दलका कार्यकर्ता खर्च जस्तो गरी खर्चिएको अवस्था छ यस्ता बजेट र योजनाप्रति विडम्बना अख्तियारको नजर थालेको छ । यसले के देखाउँछ भने विकास लागि देशको शासन व्यवस्था नीति र विधिबाट सञ्चालन हुन आवश्यक हुन्छ । यसका लागि यथासक्य संविधानको कार्यान्वयन गरी संक्रमणकाललाई हटाउन आवश्यक छ । यसकारण आज एमालेसँग जनताले अपेक्षा गरेका छन् विकास र
समृद्धिका लागि, संविधान कार्यान्वयनसम्म राजनीतिक दलका नेताहरू, दलहरू मिलेर जानुको विकल्प नरहेको देखिन्छ । अनि मात्र जनताका सवाललाई सम्बोधन गर्न सकिन्छ । यसले देशका जनताका अनुहारमा मुस्कान नल्याइ देश विकासको सुरुवात असम्भव हुन्छ ।
राज्य पुनर्संरचनामार्फत् हामी नेपाललाई बदल्न र बनाउन सकिने प्रशस्त आधारहरू तय भएका छन् । हामी भन्नसक्छौं हालको ६ नं. प्रदेश भौगोलिक विकटता, आर्थिक तथा रोगजारी सिर्जनामा कमजोर भए पनि यसभित्र रहेका तमाम सम्भावना जटिबुटी, कृषि, जंगल, जल तथा खानी र विश्वविद्यालय, मेडिकल कलेजमार्फत् तमाम रोजगारी र समृद्धि सिर्जना गरी केही वर्षमा समृद्धिको प्रदेश बनाउन सकिन्छ । यसका लागि सम्भावित राजधानी सुर्खेतको पुनर्संरचना गर्दा हामीले छिमेकी जिल्ला र मिलेको समुदाय तथा स्रोतसाधनको समुचित उपयोगको नीति बनाइ संरचनामा ध्यान दिनुपर्दछ । जनताले एमाले पार्टीको भूमिका बाहिरबाट हेरिरहेको अवस्था छ । यसका लागि जिल्ला पार्टी संस्थागत निर्णयका माध्यमबाट अघि बढनु आवश्यक छ । संरचनागत विकास गर्दा विषयज्ञता, पार्टीका धारणाले दूरगामी प्रभाव पार्ने हुँदा जनताले गरेको अपेक्षा प्राप्त गर्न पार्टीका भूमिका समेत प्रष्ट बाहिर आउनुपर्दछ । जिल्ला, प्रदेश र देशको भविश्य एमालेको भूमिकासँग जोडिएको छ । यसका लागि व्यापक छलफल र बहसका माध्यमबाट निर्णय पुग्न सक्नु नै नेतृत्व प्रदान गरिएको मानिन्छ । यसकारण भविश्य हामीले बनाउने हो, आजैबाट हो र सुर्खेतकैबाट हो ।
(लेखक नेकपा एमाले सुर्खेतका सचिवालय सदस्य हुन् ।)

प्रकाशित मितिः   ३२ श्रावण २०७३, मंगलवार ०७:१३