विकास परिषद्को बैठक माघ १० गते

सुर्खेत : कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान बमोजिम गठित प्रदेश विकास परिषद्को बैठक पहिलो पटक बस्न लागेको हो । परिषद् अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका बारेमा सदस्यहरूको सुझाव तथा मार्गदर्शन लिइने योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले जानकारी दिए । कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आ.व. २०७६÷७७–२०८०÷०८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन् । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवम् सरोकारवालाहरूको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।

मुख्यमन्त्री शाही अध्यक्ष रहेको प्रदेश विकास परिषद्का पदाधिकारीहरूमा सह–अध्यक्ष आर्थिक मामिला तथा योजना मन्त्री र सदस्यहरूमा प्रदेश सरकारका विभागीय मन्त्रीहरू, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समिति अध्यक्षहरू, प्रदेश योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका अध्यक्षहरू, प्रदेश सरकारद्वारा मनोनित पाँच जना सदस्यहरू, प्रदेश सरकारका सचिवहरू रहने व्यवस्था गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य–सचिव रहेको विकास परिषद्मा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँच जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद् सदस्यहरूमा डा. राधिका बुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसियट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलाई सरकारले मनोनयन गरेको हो ।
बैठकको सबै तयारी पूरा भएको परिषद् सदस्य समेत रहेका योजना आयोगका सदस्य रोकायले जानकारी दिए । उनका अनुसार बैठकमा परिषद्का एक सय २० जना पदाधिकारी तथा ११ जना विज्ञ एवम् आमन्त्रित सदस्यहरूको सहभागिता रहने छ ।

प्रकाशित मितिः   ९ माघ २०७६, बिहीबार ०६:००