सशस्त्र प्रहरीको साख
विषय प्रवेश
करिब पन्ध्र वर्षअघि एकजना गुरुले मलाई एक दिन गाँउखाने कथा सोध्नुभयो । जुन कथा थियो ‘हतियार बोक्छ सेना होइन, पुलिस जस्तै देखिन्छ तर पुलिस होइन, त्यो के हो ?’ मलाई त्यतिखेर यसको फ्याट्टै जवाफ दिन अप्ठ्यारो भएको थियो । दिमाग निक्कै खियाएपछि मात्र उत्तर मिलाएको थिएँ । त्यो थियो सशस्त्र प्रहरीबल ।
सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो । यसलाई एक अनौठो प्रकृतिको संगठन पनि मानिन्छ । सशस्त्र प्रहरीबल लडाकु बाहिनीको रूपमा गठन गरिएको हो । आफ्नो उत्पत्ति र दिइएको कानुनी कार्यका लागि सशस्त्र एउटा बहुआयामिक संगठन पनि हो । स्थापनाकालदेखि नै मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको कुरा धेरै नेपालीले महसुस गरेका छन् । वर्तमान परिवेशमा यसको साख र आज मनाइने सशस्त्र प्रहरीबल दिवसबाट नेपाली जनताको अपेक्षा समेतलाई यस लेखमा समावेश गर्ने प्रयास गरिएको छ ।
ऐतिहासिक विकासक्रम
सशस्त्र प्रहरीबल आन्तरिक सुरक्षाको सशक्त अङ्ग हो । ‘जो–जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन्’ भन्ने चाल्स डार्विनको भनाइ रहेको छ । त्यसैले पनि सशस्त्र प्रहरी संघर्ष, साहस र धैर्यतासँगको कार्यसम्पादन हो । नेपालमा माओवादी जनयुद्ध चर्किदैं गएपछि नेपाल प्रहरी भन्दा शक्तिशाली फौजका रूपमा २०५७ सालमा सशस्त्र प्रहरी बल गठन गरिएको थियो । माओवादीको सशक्त र सशस्त्र उपस्थितिले राज्यको सुरक्षा प्रणालीलाई चुनौती दिइरहेको बेला यस संगठनको जन्म भएको हो । त्यस परिवेशमा यो संगठन नयाँ रणनैतिक संगठनको रूपमा पनि स्थापना भएको थियो । जनपद प्रहरीले राज्यको सुरक्षा गर्न नसकेको बेला सशस्त्र प्रहरीबल स्थापना भइ जनताको प्रिय संगठनको रूपमा विरासत राखेको थियो । तत्कालीन परिवेशमा नेपाल राज्यको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्नु थियो । अझै नेपाल सरकारको भनाइमा सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु पनि थियो । वर्तमान सन्दर्भमा गणतन्त्र र संघीयतामा यसको भूमिका अझ बढेको छ ।
सशस्त्र प्रहरी बलको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न वि.सं. २०५८ सालमा सशस्त्र प्रहरी ऐन आयो । अहिले पनि सशस्त्र प्रहरीका दशवटा जिम्मेवारी तोकिएको छ । सशस्त्र संघर्ष नियन्त्रण गर्नु, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु, आतंककारी गतिविधि नियन्त्रण गर्नु, दङ्गा नियन्त्रण गर्नु, दैविक प्रकोप नियन्त्रण तथा महामारीबाट पीडितको उद्धारमा सहयोग पु¥याउनु, अपहरित व्यक्तिको उद्धार गर्नु, सीमा सुरक्षा गर्नु, बाह्य अतिक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्नु, सार्वजनिक महत्वका भवन तथा सम्पत्तिको सुरक्षा गर्नु, विशिष्ट व्यक्तिको सुरक्षा गर्नु सशस्त्र प्रहरीका जिम्मेवारीमा पर्छन् । यसको कार्यसम्पादनको कुरा नेपाली जनताको आँखाबाट हेर्दा आन्तरिक सुरक्षाको बलियो खम्बाको रूपमा बुझ्नु नै सान्दर्भिक हुन्छ । राष्ट्रसेवकहरूले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ लाग्नुपर्छ भन्ने नेपाल सरकारका बेलाबेलामा निर्देशनले यसको आन्तरिक मूल्य मान्यताको संकेत गरेको भने महसुस गर्न सकिन्छ ।
विगतमा पृथ्वीनारायण शाहको पालामा होस् या त विदेशी बैरीहरूसँग लड्दै नेपाल राज्यको अस्मिता र सार्वभौमसत्ता कायम गर्नको लागि अभिभारा बोक्ने एकमात्र शक्ति सैनिक शक्तिलाई मानिन्थ्यो । पछिल्लो समयमा अर्धसैनिक संगठनको रूपमा सशस्त्र प्रहरी बल स्थापना हुन नेपाल प्रहरी, नेपाली सेनाको मनोबल पनि उच्च हुनु पनि हो जस्तो लाग्छ । सशस्त्र प्रहरी साँच्चिकै रूपमा छोटो समयावधिमा पनि देश र जनताप्रतिको सेवाभाव र समर्पणका कारण जनमानसमा परिचित रहेको संगठन हो । यसको एउटा कारण बेलाबेलामा आफ्नो प्राणलाई हत्केलामा राखेर प्राकृतिक विपत्ति होस् वा अन्य प्रकारका विपत्ति त्यसमा सशस्त्र प्रहरीबल उद्धारमा खटिरहेका हुन्छन् । बेला–बेला आगलागी, भूकम्प, बाढीपहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिएर जनचेतनामूलक कार्यक्रम समेत गरेका हुन्छन् । वर्तमान सशस्त्र प्रहरी बल पनि सैनिक अङ्ग नै हो । यसलाई मात्र अर्धसैनिक संगठनको रूपमा मानिएको छ । यसलाई अत्याधुनिक र आधुनिक सूचना प्रविधिले सुसज्जित बनाउनु उपयुक्त हुन्छ । विगतमा नेपालीले पश्चिमाहरूको सामु देखाएको वीरता र शाहसको साथमा मात्र गोर्खाली सैनिकसँग परम्परागत र घरेलु प्रकृतिका हतियार मात्रै थिए । खास गरी खुकुरी, खुँडा, भाला, बन्चरो, तरबार, छुरी, कटारी, फर्सा, त्रिशूल, सुइरो, झिर, धनुवाणको प्रयोग भएको इतिहास छ । नेपाली सैनिकबल हतियारको बलमा भन्दा पनि आँट र साहसको बलले नै लडेको इतिहासलाई सम्झेर आधुनिक परिवेशलाई समेत ख्याल गरी आधुनिकीकरणमा पु¥याउनु राम्रो हुन्छ ।
सशस्त्रको थप योगदान
सशस्त्र प्रहरीबलका विभिन्न विभागहरू रहेका छन् । सीमा सुरक्षा विभाग, कार्य विभाग, प्रशासन विभाग, मानव संसाधन विभाग, राष्ट्रिय प्रहरी प्रतिष्ठान आदि मैले थाहा पाएका विभाग हुन् । यसको कार्यविशिष्टीकरण र आन्तरिक व्यवस्थापनको प्रभावकारितामा पनि म धेरै ज्ञात त छैन तर यसको जनविश्वासले यसले राम्रो नै गरेको छ भन्न सकिन्छ । विगतको नेपालको परिवेशलाई केलाउँदा उद्योग धन्दामा बढ्दो चन्दा आतंक, बन्द हड्तालका कारण उद्योगी व्यवसायीहरूले हतियार राख्न पाउनुपर्ने माग राख्न थाले । यसले देशको शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा सरकारले उद्योगी व्यवसायीलाई सुरक्षित राख्न र उद्योग धन्दा सुचारु रूपले सञ्चालन गर्न सशस्त्र प्रहरी बलको परिचालन गर्ने र सुरक्षित वातावरणको निर्माण कार्यमा सशस्त्र प्रहरीबल सफल भएको छ । सशस्त्र प्रहरी बलले औद्योगिक क्षेत्रमा कलकारखानाको निर्माण, विकास र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न, सीमा अपराध नियन्त्रण भन्सार र औद्योगिक सुरक्षा प्रदान गर्न समेत सशस्त्र प्रहरी सफल छ ।
कल्याणकारी कार्यमा पनि यो संगठन त्यत्तिकै उदार देखिन्छ । बेला–बेला सहज र उदारतापूर्वक रक्तदान कार्यक्रम गरी सहयोग गरेको समाचार आउँछ । संख्यात्मक रूपमा अहिले सशस्त्र प्रहरीबलको संख्या नेपालको सन्दर्भमा अलि बढी नै हो । तसर्थ यसको संख्यामा कटौती गरी बरु बद्लिँदो विश्व तथा क्षेत्रीय परिस्थिति अनुसार हतियार, तालिम र सक्षमतामा आधुनिकीकरण गर्नु सान्दर्भिक हुन सक्छ । गैरसैनिक सुरक्षा विज्ञहरूसँग पनि सहकार्य र सहसम्बन्ध त्यत्तिकै आवश्यक लाग्छ । राष्ट्रिय सुरक्षालाई साझा एजेण्डा बनाउँदै नेपाली सेना, नेपाल प्रहरीसँग समेत सहकार्य गरी सक्दो सहयोग लिन सके फाइदा हुन्छ । सशस्त्र प्रहरीबल नेपालका अविस्मरणीय बहुयोगदान नै रहेको देखिन्छ ।
यति मात्र होइन सशस्त्र प्रहरी बल मानवअधिकारको रक्षाको लागि पनि महिला तथा बालबालिकाको हिंसामा शून्य सहनशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, नागरिकको सेवा सुविधा, लागूऔषध निषेध जस्ता कुरामा कडाइका साथ लागेका पृष्ठभूमि रहेको छ । इमान्दार, कर्तव्यनिष्ठ, व्यावसायिक र अनुशासित संगठनको रूपमा पनि यसलाई नेपाली जनताले बुझेका छन् । त्यसैले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताका लागि निजी स्वार्थ र सुख सुविधालाई त्यागी नेपाल र नेपालीले सदैव गौरव गर्न सक्ने राष्ट्रसेवक बन्नुपर्ने मूल्य र मान्यतालाई अझै सशस्त्र प्रहरीबलले शिरोपर गर्नु उपयुक्त हुन्छ ।
नेपालभित्रै पनि विगतका विभिन्न युद्धमा सशस्त्र प्रहरी बल संगठनले देखाएको साहस, वीरता, समर्पणबाट स्थापित भएको गहकिलो इतिहास छ । आज पनि यस संगठनले राष्ट्रिय अमूल्य निधिहरू जस्तै विद्युत, टेलिफोन स्टेसन, ऐतिहासिक गढी दरबार, राष्ट्रिय निकुञ्जहरूको सुरक्षा गरिरहेको सर्वविदितै छ । प्राकृतिक प्रकोपमा यो संगठन सहकार्यमा चौबिसै घण्टा खट्छ । नेपाली सेनासँगको सहकार्यमा पक्कै पनि आगामी दिनमा नेपालको सगरमाथाको शिर झुक्न दिने छैन । यति हुँदा हुँदै पनि यस संगठनभित्र पनि केही सुधारका कुराहरू पनि निश्चय नै होलान । यसको लागि सुधारका उपायहरू अवलम्बन गर्नु उपयुक्त हुन्छ । संगठनभित्रका तमाम बेथितिहरूलाई थितिमा रूपान्तरण गर्ने, क्षमतावान् र अध्यनशील जनशक्तिको व्यवस्थापन गर्ने, नयाँ दृष्टिकोणहरू स्थापित गर्ने, गैरसैनिक अवयवहरूसँग पनि सहकार्य र समन्वय गर्ने, पुरस्कार र दण्ड प्रणालीको कार्यान्वयन, भरपर्दो सूचना प्रणालीको स्थापना गर्ने, सीमा व्यवस्थापनमा पनि नयाँ तवरले प्रस्तुत हुन सकेमा अझै यसको साख उच्च हुन्छ ।
उपसंहार
सशस्त्र प्रहरीले सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति सुरक्षामा महŒवपूर्ण योगदान पु¥याएको छ । यसलाई आधुनिकीकरण गरी यसभित्रका उच्च तहका सशस्त्र प्रहरी अधिकारीहरूले अझै पारदर्शी भएर संगठन चलाएमा र आधुनिकीकरण गरी आधुनिक प्रविधि र तालिमसँग परिचित भइ कार्य गरेमा अझै यसको साख र गरिमा बढ्ने निश्चित देखिन्छ । यसको साथै भविष्यका सुरक्षा चुनौतीहरूलाई समेत यसले सामना गर्न सक्ने हैसियत राख्नुपर्ने हुन्छ ।
(लेखक अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारमा कार्यरत शिक्षक हुन् ।)
प्रकाशित मितिः ९ माघ २०७६, बिहीबार ०६:००
ध्रुवकुमार अधिकारी ।