आँगनमै विद्युत उत्पादन, नागरिक भने अँध्यारोमा

उदयराज अधिकारी
दैलेख : दैलेखको नौमूले गाउँपालिकामा सञ्चालित दुई वटा आयोजनाबाट उत्पादन गरिएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । तर आफ्नै आँगनमा उत्पादित विद्युत नौमूलेका नागरिकले भने उपभोग गर्न पाएका छैनन् ।  नौमूले गाउँपालिका–५ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको पदमखोला हाइड्रोपावर आयोजनाबाट उत्पादन भएको एक हजार ६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । ४.५ मेगावाट उत्पादन क्षमताको आयोजनाबाट हिउँदको समयमा खोलामा पानीको वहाब कम हुने भएकाले अहिले एक हजार ६ सय किलोवाट मात्र उत्पादन भएको हो । कम्पनीका फिल्ड व्यवस्थापक अनिलकुमार खनालले डोल्टीपावर जलविद्युत आयोजनाअन्तर्गत सञ्चालित पदमखोला जलविद्युत आयोजना झण्डै ८० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको पदमखोला आयोजनाको विद्युत गृहमा दुई वटा विद्युत उत्पादन गर्ने टर्वाइन राखिएका छन् । अहिले पनि पानीको वहाब कम हुने भएकाले एउटा टर्वाइनबाट १६ किलोवाट विद्युत उत्पादन भइरहेको साइड मेनेजर खनालले बताए ।

यसअघि नै नौमूले गाउँपालिकामा द्वारीखोला जलविद्युत आयोजनाबाट उत्पादन भएको ३.७५ मेगावाट विद्युत केही वर्षअघि केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ । यस्तै नौमूले गाउँपालिका–३ को द्वारीमा माथिल्लो लोहोरेखोला जलविद्युत आयोजनाले पनि हाइड्रोपावर निर्माणको काम अगाडि बढाएको छ । दैलेखको नौमूले गाउँपालिका विद्युत उत्पादनका हिसाबले कर्णाली प्रदेशमा सबैभन्दा बढी विद्युत उत्पादन हुने क्षेत्र हो । हाल नौमूले गाउँपालिकाबाट द्वारीखोला र पदमखेला जलविद्युत आयोजनाबाट ७.८० मेगावाट विद्युत उत्पादन भइ केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।

यता नौमूले गाउँपालिका ‘हाइड्रो हब’ का रूपमा विकसित हुँदै गए पनि यहाँका जनता भने विद्युतविहीन छन् । यसअघि निर्माण सम्पन्न भएको द्वारीखोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाले स्थानीयले आफ्नै ठाउँमा उत्पादन भएको विद्युत उपभोग गर्न नपाएको गुनासो गर्दै आएका छन् । नौमूले गाउँपालिकाका अध्यक्ष भदेबुढा मगरले विद्युत उत्पादन कम्पनीसँग यहाँका जनतालाई विद्युत उपभोग गर्ने वातावरण मिलाउन भन्दा संघीय सरकारको मातहतमा रहेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाले संघीय सरकारसँग विद्युत उपभोग गर्न पाउनुपर्नेमा दवाव दिनुपर्ने बताए । अध्यक्ष मगरले संघीय सरकासँग विद्युत उपभोग गर्ने विषयमा कानुन बनिनसकेकाले कानुन बन्नेपछि यहाँका जनताले आफ्नै आँगनमा उत्पादन भएको विद्युत उपभोग गर्न पाउने जानकारी गराएको बताए ।

प्रकाशित मितिः   ८ माघ २०७६, बुधबार ०८:१४