सभामुखमा सापकोटा निर्विरोध

काठमाडौं : प्रतिनिधिसभाको सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् । यो सँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद् सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलवार बिहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो । पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन । कांग्रेस संसदीय दलको मंगलवार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । संसद्मा प्रष्ट बहुमत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रकाशित मितिः   ८ माघ २०७६, बुधबार ०८:१२