‘एमसीसी राष्ट्र हितविपरित’

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महासचिव मोहनविक्रम सिंहले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मार्फत अनुदान सहयोग लिनु नेपालको असंग्लन परराष्ट्र नीतिविपरीत भएको दाबी गरेका छन् । सञ्चार क्लब सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव सिंहले एमसीसी चीन घेर्ने नीतिका साथ आएकाले यो सरकारको असंग्लन परराष्ट्र नीति विपरित भएको बताएका हुन् ।

नेपालले असंग्लन परराष्ट्र नीति अपनाएको अवस्थामा एमसीसी इण्डो प्यासिफिकको एक हिस्सा भएको र अमेरिकाले कहिल्यै पनि यो इण्डो प्यासिफिकभन्दा अलग होइन भनेका कारणले राष्ट्र हितविपरित भएको बताए । ‘अमेरिकाले कहिल्यै पनि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) इन्डो प्यासेफिक योजनाभन्दा अलग छ भनेको छैन,’ उनले भने, ‘यो त्यसैको एक हिस्सा हो । त्यसैले यो राष्ट्र हित विपरित छ ।’

वर्तमान सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको महासचिव सिंहले आरोप लगाए । ‘यो सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको छ,’ उनले भने, ‘आर्थिक लाभका लागि देश नै बन्धकी राख्न पाइँदैन ।’ वर्तमान सरकार कम्युनिष्टको नभइ यो सरकार वामपन्थीको सरकार भएको महासचिव सिंहले बताए । ‘हामीले यो सरकार वामपन्थी सरकार भनेका छौं । जनपक्षीय सवालमा सहयोग र समर्थन गरेका छौं,’ उनले भने, ‘तर, यिनीहरूले आफ्नै घोषणापत्रमा उल्लेख गरेको समाजवाद उन्मुख कार्यक्रम पनि लागू गरेका छैनन् ।’ संघीयताले देशलाई टुक्रा–टुक्रा पार्ने भएकाले अहिले संघीयता आवश्यक नभएको भन्दै उनले त्यसकाविरुद्ध संघर्ष गर्न देशभर जागरण अभियान चलाइएको बताए ।

प्रकाशित मितिः   ८ माघ २०७६, बुधबार ०८:१०