वर्गीय विभेद हटाउन राजनीतिमा

                               दिलमाया बुढामगर

चौरजहारी नगरपालिका–१० रूकुम पश्चिममा बुवा गोरखबहादुर बुढामगर र आमा डिला बुढामगरको कोखबाट जन्मिएकी दिलमाया बुढामगर कुमाख गाउँपालिका सल्यानकी अध्यक्ष हुन् । उनी वि.सं. २०३६ साल मंसिर १० गते जन्मिएकी हुन् । स्नातक सकेकी बुढा राजनीतिमा होमिएको करिब २४ वर्ष भयो । वि.सं. २०५२ सालमा तत्कालीन नेकपा माओवादी पार्टीको संगठनमा आवद्ध भएकी उनी २०५५ सालमा भूमिगत भइन् । सानैदेखि निडर स्वभावकी दिलमाया आजपनि उस्तै स्वभावकी छिन् ।

आमा–बुवाले शिक्षक बन्नुपर्छ भने पनि उनी भने बाल्यकालदेखि नै राजनीतिमा झुकाव राख्थिन् । महिला भएकै कारण कसैको पनि दबाबमा बस्न नहुने बताउने आँटिली दिलमाया बुढामगरले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटिन्ः

बाल्यकालमा राजनीतिमै झुकाव थियो

घरमा हामी आठ भाइ–बहिनी थियौं । पाँच बहिनी र तीन भाइ । म भने घरकी काईली छोरी । बुवा–आमाले मलाई सानैदेखि भविष्यमा शिक्षक बन्ने सल्लाह दिनुहुन्थ्यो । तर मलाई भने नजानिदो ढङ्गले राजनीतिमा झुकाव थियो । बुवा–आमाले भने बमोजिम शिक्षक हुने कुरामा पनि ध्यान नगएको होइन । पढ्ने र ठूलो मान्छे बन्ने भन्ने नै थियो । त्यो बेलामा शिक्षक र निजामती जागिर भनेको गाउँको सबैभन्दा उत्कृष्ट मानिन्थ्यो । त्यसैले धेरैको लक्ष्य पनि शिक्षक र निजामती कर्मचारी हुने नै हुन्थ्यो ।

मेरो बाल्यकालको अवस्थामा महिलाहरूले शिक्षा आर्जन गर्न समेत पाउँदैनथे । मेरो कान्छो दाइ कक्षा ३ मा पढ्नुहुन्थ्यो । उहाँको साथी हुनलाई मलाई पढाइएको हो । नभए छोरीले त्यो बेलामा पढ्न पाउनु मुस्किल थियो । दिदीहरूले पढ्न पाउनुभएको थिएन । विद्यालयमा पढ्दा पढ्दै राजनीतिमा लागेँ । पार्टीको विद्यार्थी संगठनमा आवद्ध भएँ । विस्तारै जनयुद्धमा भूमिगत पनि भइयो । २०५४ सालमा एसएलसी दिएँ । चैत्रमा एसएलसी दिएपछि वैशाखमा म जनयुद्धमा भूमिगत भएकी हुँ । स्वेच्छाले भूमिगत भएपछि २०५५ सालमा जनवादी विवाह भयो । सल्यानका लोगेन्द्रप्रकाश गिरी (चिरपरिचित) सँग विवाह भएको एक वर्षमा नै उहाँ सहिद हुनुभयो । त्यो बेलामा मेरो छोरा तीन महिनाको थियो । उहाँ राज्यपक्षबाट मारिनुभएको हो । तर मैले युद्ध लड्न छोडिनँ ।

मेरो घरपरिवार मप्रति एकदमै सकारात्मक हुनुहुन्थ्यो । आज पनि उहाँहरूकै सहयोगले राजनीतिमा म सफल भएकी छु । मैले आफू एकल हुँदा पनि निरन्तर राजनीतिलाई अगाडि बढाएँ । जनमुक्ति सेनामा रहँदा स्क्वाईटको सदस्य थिएँ । सेनामा काम गर्दा गर्दै बच्चा जन्माउने अवस्था आएपछि संगठनमा आएँ । संगठनमा आउँदा पार्टीको सेक्रेटरी भएर काम गर्ने मौका पाएँ । त्यसपछि इलाका इन्चार्ज भए, केन्द्रीय समिति सदस्य समेत भएर काम गर्ने मौका पाएँ । पदिय जिम्मेवारीले महिला संगठनमा समेत जिल्लाको उपाध्यक्ष र केन्द्रीय सदस्य भएर समेत काम गरेको अनुभव छ ।

पुरुषप्रधान देशमा महिलाहरूलाई नेतृत्व दिने कुरा चानचुने होइन । महिलाहरू जति सक्षम भए पनि र पुरुष कमजोर भए पनि विश्वास पुरुषलाई नै गर्ने प्रचलन छ । पार्टीले मलाई टिकट दिन्थ्यो वा दिन्थेन तर कार्यकर्ताहरूले बहुमत दिए । मलाई सर्वसम्मत् रूपमा प्रमुख पदको टिकट प्राप्त गर्न सक्ने कुमाख गाउँपालिकाका कार्यकर्ताहरूले नै गर्नुभएको हो । साविकको माओवादीका कार्यकर्ताले सर्वसम्मत् नाम पठाएपछि जिल्लामा भने बहस भएकै हो । दुई दिनसम्म महिलाको नाम नै कार्यकर्ताले किन पठाए भन्ने कुरामा बहस भएपछि मैले पनि कार्यकर्ताको निर्णय विपरित जानुहुँदैन भन्ने कुरामा बहस गरेकी थिएँ । टिकट पाएपछि जित्न पनि बहुमतले नै जितियो । निर्वाचनको समयमा मेरो धेरै पैसा पनि खर्च भएन । कार्यकर्ताहरूले नै भोट माग्ने, विभिन्न प्रचार–प्रसारका कार्यक्रम आयोजना गर्थे । मैले फरक ढङ्गले निर्वाचन जितेको हुँ । अहिलेसम्म पार्टी र कार्यकर्ताले गरेको विश्वासलाई डगमगाउन दिएकी छैन ।

राजनीति नै मेरो मुख्य पेसा हो । जीवनको आधा भाग राजनीतिमै बिताएपछि फेरि पसशा परिवर्तन गर्ने कुरा सोच्न सकिन्न । बरु राजनीतिबाटै ठूलो नेतृत्व लिन भने प्रयास गर्नेछु । जीवनमा कसैको प्रेरणा नभइ त केही पनि गर्न सकिँदैन । पहिलो कुरा त म समाजको वर्गीय विभेद हटाउनको लागि राजनीतिमा छिरेकी हँु । मलाई प्रेरणा यही समाजले दिएको हो । छोरा र छोरीमा हुने विभेद, जातीय विभेद लगायतका कुराहरूले नै मलाई राजनीतिमा लाग्न प्रेरणा दिएका हुन् । म अरुभन्दा अलि फरक स्वभावको छु । मलाई सानातिना कुराले छुँदैन पनि । महिला भएकै कारण अरुको दबाबमा बस्नुपर्छ भन्ने पनि छैन । महिला भएकै कारण नेतृत्वमा चुनौति हुन्छ भन्ने पनि होईन । चुनौती पुरुषलाई पनि छ । त्यसको सामना गर्न सक्नुपर्छ । पुरुषप्रधान समाजमा महिलाहरूले जति काम गरे पनि महिला न हो भन्ने बुझाइ त छ । यही समाजबाट उत्पत्ती भएका राजनीतिक नेतृत्वले पनि सोही दृष्टिकोणले महिलालाई हेरेका हुन्छन् । तर मेरो हकमा भने महिला भएकै कारण काममा समस्या छैन । तर स्थानीय तहको प्रमुख भएको हैसियतले समस्या छ । पुरुष भएका कारण सबै समस्या आफै समाधान हुने र महिला भएका कारण समस्या हुने भन्ने होइन । मैले हिजो युद्धमा नेतृत्व गर्दै आएको कारण मलाई नेतृत्व लिन समस्या छैन । जहाँ महिला नेतृत्व हुन्छ त्यहाँ पारदर्शिता हुन्छ । भ्रष्टाचार न्यूनीकरण हुन्छ । त्यसैले हरेक क्षेत्रमा महिलालाई नेतृत्व दिनु जरुरी छ ।

प्रकाशित मितिः   ८ माघ २०७६, बुधबार ०८:०८