राष्ट्रिय टोलीको लागि खेलाडी छनौट हुने

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ चैत ।
१४ वर्षमुनीको राष्ट्रिय फुटबल टोलीका लागि सुर्खेतमा पनि खेलाडी छनौट गरिने भएको छ । वीरेन्द्रनगरमा यही चैत २० गते खेलाडी छनौट गरिने सुर्खेत जिल्ला फुटबल संघले जानकारी दिएको छ । 
एशियाली फुटबल महासंघको कार्यक्रम अनुसार आउँदो जेठ ७ गतेदेखि १७ गतेसम्म ताजकिस्तानमा हुने १४ वर्षमुनीको एएफसी रिजनल फेस्टिबल अफ फुटबल प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा समावेश हुने खेलाडी छनौट गर्न लागिएको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । छनौट चरणमा सहभागी हुन १४ वर्षमुनीको इच्छुक खेलाडीले चैत २० गते बिहान ७ बजे आफ्नो जन्मदर्ताको सक्कल प्रमाणपत्रसहित स्थानीय रंगशालामा उपस्थित हुनुपर्ने कार्कीले बताए ।
अघिल्लो वर्ष पनि उमेर समूहबाट सुर्खेतका दुई खेलाडी एन्फा एकेडेमीका लागि छनौट हुन सफल भएको बताउँदै महासचिव कार्कीले यस वर्ष पनि सुर्खेती प्रतिभाले उचित स्थान र अवसर पाउने विश्वास व्यक्त गरेका छन् । 
जिल्लास्तरको छनौट चरण पार गर्ने खेलाडीले नेपालगन्जमा हुने क्षेत्रीय तथा काठमाडौंमा हुने अन्तिम चरणको छनौट पार गर्नुपर्ने महासचिव कार्कीले जानकारी दिएका छन् ।