उप–सभामुखमा राजपा र कांग्रेस इच्छुक

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटा निर्विरोध हुने भए पनि उप–सभामुख भने अन्यौलमा छ । सभामुखका उम्मेदवार सापकोटालाई समर्थन गरेका कारण उप–सभामुख राष्ट्रिय जनता पार्टी (नेपाल)ले प्राप्त गर्ने सम्भावना पनि देखिएको छ । नेकपाका उम्मेदवार सापकोटालाई राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले समर्थन गरेकाले उप–सभामुख राजपाको पोल्टामा पर्ने सम्भावना देखिएको हो । सभामुख पुरुष भएपछि संवैधानिक व्यवस्थाअनुसार उप–सभामुख महिला हुनुपर्नेछ, जसअनुसार राजपाका नेतृ अमृता अग्रहरी र चन्दा चौधरीमध्ये एक हुने चर्चा चलेको छ । ‘अहिले हामी राष्ट्रियसभा निर्वाचनमा होम्मिएका छौं, उप–सभामुखका बारेमा कुनै निर्णय भएको छैन,’ राजपा अध्यक्ष राजकिशोर यादवले भने, ‘पहिला नेकपा–राजपाको गठबन्धनलाई विजयी गराऔं, त्यसपछि सभामुखका विषयमा कुराकानी गरौंला ।’

माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाले चुनावी तालमेल गरी उम्मेदवार दिएका छन् । प्रदेश २ मा नेकपालाई २ र राजपालाई २ सीट विभाजन गरी राष्ट्रियसभा निर्वाचनमा होम्मिएका हुन् । ताजा गठबन्धन भएकाले पनि नेकपा र राजपा नेपालका बीचमा उपसभामुखमा गठबन्धन हुनसक्छ । बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीवाट उप–सभामुख हुने सम्भावना देखिएको छैन । भर्खरै मात्र केपी ओली नेतृत्वको सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको समाजवादीलाई नेकपाले उप–सभामुख छाड्दैन ।
सभामुखमा उम्मेदवारी नदिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस उप–सभामुखका लागि इच्छुक देखिएको छ । सभामुख र उप–सभामुख फरक दलको हुनु पर्ने भएकाले नेकपाले उप–सभामुखमा दावी गर्न नपाउने भन्दै कांग्रेसले इच्छा व्यक्त गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलवार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार निवासमा भेटघाट गरी सो इच्छा प्रकट गरेका हुन् ।

प्रकाशित मितिः   ८ माघ २०७६, बुधबार ०८:००