अपाङ्गतामैत्री संरचना नहुँदा सास्ती

सीता वली,
सुर्खेत: कालिकोटका किशोर शाही शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । स्पाइनल कर्ड ईन्जुरीका कारण उनको मेरुदण्डमा समस्या छ । त्यसैले ह्वीलचियरको साहारामा हिँड्छन् । यसैपनि सुविधायुक्त छैनन् कर्णालीका सडक । एक त साँघुरा, त्यसमाथि जताततै खाल्डाखुल्टी । सवारी साधनको उस्तै चाप । न ट्राफिक व्यवस्थापन राम्रो छ न फुटपाथ गतिला छन् । अन्यलाई त सास्ती हुने सडकमा अपाङ्गता भएका व्यक्तिहरूलाई हिँड्डुल गर्न सजिलो पक्कै छैन । तर यही असजिलोका बीच किशोर हरेक दिन ह्वीलचियरका पाङ्ग्रा हत्केलाले ठेल्दै हिँडिरहेका भेटिन्छन् ।

अपाङ्गता भएकाहरूको क्षेत्रमा क्रियाशील उनी काम विशेषले हिँडिरहनुपर्छ । घरबाट निस्किएदेखि नै उनले अनेक समस्या झेल्दै हिँड्छन् । सडक अपाङ्गतामैत्री छैनन् । सार्वजनिक निकायहरू अपाङ्गतामैत्री छैनन् । जहाँ गए पनि कुनै न कुनै समस्या झेल्नुपर्छ । नेपाल पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका शाहीले कर्णाली प्रदेशका कुनै पनि संरचना अपाङ्गतामैत्री नभएको बताए । उनले आधा घण्टाको बाटो दुई घण्टा लगाएर हिँड्न बाध्य भएको गुनासो गरे । ‘म ह्वीलचियरमा हिँड्छु’ उनले भने ‘बाटोका खाल्डाखुल्डीका कारण निकै सास्ती व्यहोर्नु परेको छ ।’

सडक मात्रै होइन यहाँका सरकारी कार्यालयहरू पनि अपाङ्गतामैत्री छैनन् । कर्णाली प्रदेशका मन्त्रालय तथा कुनै पनि सार्वजनिक कार्यालयहरू अपाङ्गमैत्री नहुँदा दैनिक कामकाजमा समेत सास्ती भएको उनले बताए । ‘एउटा बैंकमा खाता खोल्नुपर्दा बिसौं दिन लाग्छ’ शाहीले थपे ‘दुई तला माथि बंैक हुन्छ तर संरचना हाम्रो अनुकूल हुँदैन ।’ बैंकका कर्मचारीहरू तल नआउने र आफूमाथि जान नसक्ने भएको कारण बंैकमा एउटा खाता खोल्न बिसौं दिन लाग्ने अनुभव उनले बताए । रारा छायाँनाथ नगरपालिका–६ मुगुकी कमला कुलाले समेत कर्णालीका कुनै पनि संरचना अपाङ्गतामैत्री नभएको बताइन् । उनले भौगोलिक रूपमा कर्णाली प्रदेश विकट भएको भए पनि नेतृत्वमा बसेकाहरूमा झनै विकट मानसिकता भएको आरोप लगाइन् । ‘सडकमा हिँड्न जति असहज छ, त्यो भन्दा बढी असहज सार्वजनिक कार्यालयहरूमा छ’ उनले भनिन् । सडक पार गर्ने क्रममा अपाङ्गमैत्री जेब्राक्रस समेत नहुँदा निकै अप्ठ्यारो भएको अनुभव कमलाको छ ।

शारदा नगरपालिका–९ सल्यानकी पवित्रा वि.क.ले समेत सबै खालका अपाङ्गता भएकाहरूका लागि कर्णालीको सडक संरचना सास्तीपूर्ण भएको बताइन् । उनले नीति निर्माणका क्रममा नेतृत्वहरूको ध्यान अपाङ्गता भएकाहरूतर्फ नजाने भन्दै अपाङ्गता जसको जीवनमा पनि आइपर्ने बताइन् । ‘आज नीति निर्माण गर्नेहरू भोलि अपाङ्गता हुनुपर्ने पनि हुनसक्छ’ उनले भनिन्
‘आज साङ्ग हुँदा अरुको समस्या नबुझे भोलि आफ्नो समस्या बुझ्ने कोही हुँदैनन् ।’ मन्त्रालय, सडक, शौचालय, बैंक, विद्यालयलगायतका कुनै पनि सार्वजनिकस्थल तथा कार्यालयहरू अपाङ्गमैत्री नभएको उनले बताइन् ।

अपाङ्गमैत्री संरचना नहुँदा किशोर, कमला र पवित्राजस्तै विभिन्न कारणले अपाङ्गता भएका नागरिकहरूले निकै सास्ती व्यहोर्नु परेको छ । सरकारले विकास र समृद्धिका अनेक सपना बाँड्ने गरे पनि अपाङ्गता भएका नागरिकहरूको जीवनयापन सहज बनाउनेतर्फ नसोचेको गुनासो अपाङ्गता भएकाहरूको छ । अपाङ्गता भएका व्यक्तिहरूको लागि छुट्टै केही गर्नु नपर्ने भन्दै किशोर शाहीले नयाँ बन्ने संरचना अपाङ्गमैत्री निर्माणमा जोड दिनुपर्ने बताए । सडकको जेब्राक्रस समेत सिँढी भएको भन्दै आफूहरूलाई सडक पार गर्न निकै सास्ती हुने गरेको उनले जनाए । साथै उनले कर्णाली प्रदेश सरकारले हरेक कार्यक्रम तथा नीति निर्माण गर्दा अपाङ्गमैत्री निर्माण गर्नुपर्ने बताए ।

यता सरकारले भने अपाङ्गता भएकाहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर वि.के.ले आफूहरूले मन्त्रालयको तर्फबाट अपाङ्गमैत्री भवन निर्माण तथा सडक निर्माणको लागि पहल गर्दै आएको बताए । ‘अपाङ्गमैत्री संरचना निर्माणका लागि प्रदेश तथा संघमा समेत थुप्रै नीति बनेका छन्’ उनले भने ‘तर कार्यान्वयन भने अझै हुन सकेको छैन ।’ नीति निर्माण गर्ने तहमा सामाजिक विकास मन्त्रालयले पहल गरेको भन्दै उनले कार्यान्वयन गर्ने निकायले त्यसतर्फ ध्यान नदिएको बताए ।

प्रकाशित मितिः   ७ माघ २०७६, मंगलवार ०९:३६