सुर्खेतबाटै ‘लाइसेन्स’ वितरण सुरु

सुर्खेत : सोमवारदेखि सुर्खेतबाटै सवारी चालक अनुमति–पत्र (लाइसेन्स) वितरण सुरु गरिएको छ । यसअघि नवीकरणको मात्रै सेवा दिँदै आएको यातायात व्यवस्था कार्यालयले सोमवारदेखि अनुमति–पत्र वितरण सुरुवात गरेको हो । सुर्खेतबाटै चालक अनुमति–पत्र वितरण गर्ने व्यवस्था भएपछि अत्यन्तै हर्षित भएको जुनीचाँदे गाउँपालिका–१ का विरे रावतले बताए । उनले बाँकेको नेपालगन्ज यातायात कार्यालयबाट चालक अनुमति–पत्र लिन जाँदा आफूहरूलाई निकै सास्ती बेहोर्नुपरेको भन्दै अबदेखि सुर्खेतबाटै पाइने भएपछि खुशी भएको बताए । ‘म जीप चालक हुँ’ उनले भने ‘बाँके जाँदा खानबस्न निकै समस्या हुन्थ्यो, अबदेखि प्रदेशकै राजधानीबाट चालक अनुमति–पत्र पाउने भएपछि मेरो खुशीको सीमा छैन ।’ वीरेन्द्रनगर नगरपालिका–५ की कृष्णा गुरुङ्गसमेत सुर्खेतबाटै चालक अनुमति–पत्र पाउने भएपछि निकै खुशी देखिन्थिन् । उनले अनुमति–पत्रको लागि प्रदेश नं. ५ जानुपर्ने बाध्यता हटेको बताइन् । बिरे र कृष्णा जस्तै कर्णाली प्रदेशका सबै नागरिक सुर्खेतबाट चालक अनुमति–पत्र पाउने भएपछि निकै खुशी भएका छन् ।

दैनिक दुई सय बढी सवारी साधनहरूको चालक अनुमति–पत्र प्रदान गर्ने गरी सेवा सुचारु गरेको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका निमित्त प्रमुख आनन्द चपाईले जानकारी दिए । उनका अनुसार मोटरसाइकल, जीप, कार, टेप्पो, स्कुटर, पावरटेलर, ट्याक्सी, ट्याक्टर र ट्रक तथा मिनीबस लगायतका सवारी साधनको अनुमति–पत्र वितरण गर्नेगरी सेवा सुचारु गरिएको छ । हेभी मेशिनरी सवारी साधनको भने तत्काल सेवा सुचारु गर्न नसकिएको उनले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवार सेवाको शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै शाहीले चालक अनुमति–पत्रका लागि कर्णालीबासीले अबदेखि प्रदेश नं. ५ मा धाउनु नपर्ने बताए । उनले सेवा सुरु भएपश्चात् कर्णालीमा राजस्व समेत बढ्ने विश्वास गरे । ‘अहिलेसम्म यातायातको राजस्व अन्य प्रदेशमा गएको थियो’ उनले भने ‘अबदेखि नागरिकलाई सुविधा हुने भयो ।’ राजस्व समेत कर्णालीमै रहने उनले बताए । वि.सं. २०७० सालमा यातायात व्यवस्था इकाई कार्यालय सुर्खेतका नाममा स्थापना भएको कार्यालय २०७५ सालमा कर्णाली प्रदेशको मातहतमा आएको थियो । यसअघि जाँचपास, रुट नवीकरण, लाइसेन्स नवीकरणलगायतका सेवा दिँदै आएको कार्यालयले सोमवारदेखि चालक अनुमति–पत्र वितरण गर्न सुरुवात गरेको हो । अनुमति–पत्रको लागि अनलाइन फारम भर्ने र स्मार्ट कार्ड वितरण गरिने कार्यालयले बताएको छ ।

प्रकाशित मितिः   ७ माघ २०७६, मंगलवार ०९:३०