सभामुख निर्वाचन माघ १२ गते

उप–सभामुख तुम्बाहाङफेद्वारा राजीनामा

काठमाडौं : प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमवार प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति तोकेका हुन् । त्यसअघि सोमवार नै उप–सभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी थिइन् । संविधानले एउटै दलबाट सभामुख र उप–सभामुख बन्न नमिल्ने व्यवस्था गरेको छ । नेकपाले सभामुख पदमा दाबी गरेपछि सोही दलबाट उप–सभामुख बनेकी तुम्बाहाङफेले राजीनामा गरेकी हुन् ।

नेकपाले आइतवारनै अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपाबाट यसअघि सभामुख बनेका कृष्णबहादुर महरा बलात्कार मुद्दामा हाल थुनामा छन् । महराले बलात्कार प्रकरणमा राजीनामा गरेपछि सभामुख पद रिक्त थियो । प्रतिनिधिसभामा नेकपाको बहुमत रहेकाले सापकोटा निर्वाचित हुने लगभग निश्चित रहेको छ । यद्यपि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पा भुषाललाई सभामुखको उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार माघ ७ गते उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता हुनेछ । त्यसपछि निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने, माघ १२ गते प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मितिः   ७ माघ २०७६, मंगलवार ०९:२७