शिवमायाले भनिन् ‘राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेछ’

काठमाडौं : संसद् बैठकमा उप–सभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङफेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छन् । सोमवार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङफेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन् । ‘मैले बाजी मारें । म सभामुख हुन्छु वा हुन्न दोस्रो पाटो थियो । तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ । परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ । हामी सबै मिलेर राजसंस्था त फालियो । राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’ उनले आफ्नो ‘ब्याकअप’मा कोही व्यक्ति र संस्था नभएको पनि उल्लेख गरेकी छन् ।

‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो । कुनै व्यक्ति र संस्था होइन संविधान थियो । संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन । संस्थाले दिएर के हुन्थ्यो ? व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो,’ उनले भनिन् । उनले अबदेखि काम गर्ने बाटो परिवर्तन गरेको बताइन् । ‘आजदेखि काम गर्ने ट्रयाक परिवर्तन गर्दैछु,’ उनले भनिन् । तर त्यो बाटो के हो भन्नेबारे उनले पत्रकारहरूलाई आफैं खोज्न आग्रह गरिन् । उनले आफूले बोलेको कुरा पु¥याएर राजीनामा दिएको बताइन् । ‘मैले जे बोलें त्यो पु¥याएँ । नेताले भनेको आधारमा होइन,’ उनले भनिन्, ‘कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्न थियो । सत्तापक्षले उम्मेदवार तय गरेर सन्देश आएपछि मार्ग प्रशस्त गरेको थिएँ । त्यो कुरा पूरा गरें ।’

प्रकाशित मितिः   ७ माघ २०७६, मंगलवार ०९:१६