विकृतिविरुद्धको आन्दोलन

कर्णाली प्रदेशमा अनेक खालका विकृतिहरु छन् । चाहे ती संस्कारका नाममा हुन् या वा अन्धविश्वासका कारण कायमै छन् । छाउपडी प्रथा, बालविवाह, बहुविवाहजस्ता सामाजिक समस्याले आक्रान्त छन् यहाँका नागरिक । गरिबी, अशिक्षा, अन्धविश्वासले जकडिएको समाज परिवर्तनका लागि प्रयासहरु पनि नभएका होइनन् । तर ती प्रभावकारी हुन भने सकेका छैनन् । सामाजिक विकृतिहरुविरुद्ध समय–समयमा अभियान चलाइन्छ । सरकारी तथा गैरसरकारी निकायहरु यसमा सक्रिय हुन्छन् । जस्तो कि कर्णाली प्रदेशलाई आइतवार सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरियो । विगतदेखि नै यस्ता विभिन्न सामाजिक अभियानहरु सञ्चालन गर्ने गरिएका छन् । चाहे खुला दिसामुक्त अभियान होस् या बालविवाहमुक्त घोषणा अभियान् । या पूर्ण खोपयुक्त घोषणा अभियान होस् वा छाउपडीमुक्त बनाउने अभियान । तर यस्ता अभियान पूर्ण रुपमा प्रभावकारी भइरहेका छैनन् । कतिपय अभियानहरू बीचमै अलपत्र परेका छन् भने कतिपय अभियान हतार–हतार हचुवाको भरमा सम्पन्न गरिएका छन् ।

आठ वर्षसम्म बालविवाहविरुद्ध सुर्खेत जिल्लामा ठूलै अभियान सञ्चालन भयो । तामझाम गर्दै जिल्लाका एक दर्जन बढी गाविसहरु बालविवाहमुक्त नै घोषणा भए । जिल्लालाई नै बालविवाहमुक्त घोषणा गर्ने उद्देश्यसहित सुरु भएको उक्त अभियान बीचमै अलपत्र प¥यो । यस्तै जिल्लाको पश्चिम क्षेत्रमा व्याप्त छाउपडी प्रथा अन्त्यका लागि भन्दै अभियान सञ्चालन भयो । गाउँमा रहेका छाउगोठहरु धमाधम भत्काइए । दुई वर्षको अवधिमा तामझामसहित केही गाविसहरुलाई छाउपडीमुक्त पनि घोषणा गरियो । तर दाताले बजेट उपलब्ध गराउन छाडेपछि यो अभियान अलपत्र प¥यो । अभियान चलेको बेला भत्काइएका छाउगोठ पुनर्निर्माण भए । अहिले पुनः छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ । निकै तामझामसहित सञ्चालन गरिएको अर्को अभियान हो खुलादिसामुक्त घोषणा अभियान । केही वर्ष नै लगाएर गाउँ–गाउँमा अभियान सञ्चालन भयो । टोल, गाउँ हुँदै जिल्लालाई खुला दिसामुक्त घोषणा गरियो । उक्त घोषणापछि सुरुवात गरिएको पूर्ण सरसफाइयुक्त घोषणा अभियान भने सुरु भएलगत्तै अलपत्र हुन पुग्यो ।

उल्लेखित अभियानहरुलाई सामाजिक आन्दोलनकै रुपमा सञ्चालन गर्नुपर्ने हो । जसले विकृतिले जकडिएको समाजलाई रुपान्तरण गर्न सकोस् । तर दाताको बजेटको भरमा सञ्चालन हुने यस्ता अभियान दीर्घकालीन हुँदैनन् । राज्यले समेत ध्यान दिएको देखिदैन । त्यसैले जिल्लामा सञ्चालन भएका सामाजिक अभियानहरु बीचमै अलपत्र परेका छन् । आजको समय सुहाउँदो शिक्षा दिएर होस् वा अल्पकालीन र दीर्घकालीन अभियानहरु सञ्चालन गरेर राज्यले नै विकृतिविरुद्धको आन्दोलन तीव्र बनाउन सके मात्र अपेक्षाकृत रुपान्तरण हुनसक्दछ ।

प्रकाशित मितिः   ७ माघ २०७६, मंगलवार ०९:१८