नेकपामा ‘तँ’ भन्न नपाइने, हरेक महिना वनभोज गर्नुपर्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरूलाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता पनि समावेश छ ।

सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने नेकपाको आचारसंहितामा उल्लेख छ । परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने भन्दै नेकपाको आचारसंहितामा भनिएको छ, ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रूपमा बन्द गर्नुपर्छ ।’ समाजवादी संस्कृतिको आधारनै सामूहिक जीवन प्रणाली भएको भन्दै नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ । यस्ता कार्यक्रममा मद्यपान, धुम्रपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने भन्दै नेकपाले भनेको छ, मनोरञ्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्दछ ।’

नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निष्कासन गर्ने र जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने बताएको छ । झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने निर्णयहरू पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरूको समाधानका लागि महत्वपूर्ण छन्’ अध्यक्षद्वयले भनेका छन् । पार्टीले जारी गरेको आचारसंहिता पालना नगर्ने र पटक–पटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने समेत अध्यक्षद्वयको सर्कुलरमा उल्लेख छ ।

प्रकाशित मितिः   ७ माघ २०७६, मंगलवार ०९:१३