तीन वर्षपछि भेटियो मूर्ति
जुम्ला : चन्दननाथ मन्दिरबाट हराएको मूर्ति तीन वर्षपछि फेला परेको छ । २०७३ मंसिर १२ गते हराएको चन्दननाथ मन्दिरको मुख्य मानिएको दत्तात्रेयको १८ किलोको चाँदीको मूर्ति जुम्ला चन्दननाथ नगरपालिका–१ दानसाँगुमा फेला परेको हो । चोरी भएको तीन वर्षसम्म पनि नभेटिएको मूल मूर्ति सोमवार दानसाँगुमा भेटिएको डीएसपी लालबहादुर धामीले पुष्टि गरे । उनका अनुसार बिहान साढे नौ बजे तलिचौरका उमेश देवकोटा, लोकेन्द्र हामाल र लोकदर्शन देवकोटा जौको खेतमा पानी हाल्न गएका थिए । उनीहरूले ठूलो मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरे । उनले चन्दननाथको मूर्ति हुनसक्ने भन्दै प्रहरी लगायत सरोकारवालालाई खबर गरेपछि चन्दननाथ मन्दिरको मूर्ति भएको रहस्य खुलेको हो ।
मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्मासहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर अनुसन्धान गरेको थियो । लामो समयको अनुसन्धानबाट नभेटिएको मूर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
प्रकाशित मितिः ७ माघ २०७६, मंगलवार ०९:१०
साझा बिसौनी ।