प्रविधि विधेयकको विरोध

सुर्खेत : नेपाली कांग्रेस सुर्खेतले सूचना प्रविधि विधेयकविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । आइतवार जिल्ला सभापति कमलराज रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत ज्ञापन–पत्र बुझाइएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार सुर्खेत जिल्ला समितिले पनि ज्ञापन–पत्र बुझाएको सभापति रेग्मीले बताए । उनले ज्ञापन–पत्रमा सरकारले ल्याएको सूचना प्रविधि विधेयकले संविधान अनुसार नागरिकलाई प्राप्त स्वतन्त्रता हनन् हुने भन्दै ज्ञापन–पत्र बुझाएको बताए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नागरिक अधिकार हनन् गर्न लागेको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।
सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरे वापत पाँच वर्ष जेल र १५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन् गरेको सभापति रेग्मी बताए । उनले आलोचना एवम् व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षड्यन्त्रविरुद्ध विधेयक ल्याएको भन्दै त्यसकै विरोध ज्ञापन–पत्र बुझाइएको जानकारी दिए । नेपाली कांग्रेसका सुर्खेतका स्थानीय नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर ज्ञापन–पत्र हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मितिः   ६ माघ २०७६, सोमबार १०:१६