पाँच महिनामा भित्रियो तीन खर्ब ७६अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अवधिमा तीन खर्ब ७६ अर्ब रूपैयाँको विप्रेषण आप्रवाह भएको छ । मंसिर महिनामा मात्रै करिब ७२ अर्ब रूपैयाँको विप्रषेण आएको थियो । तर फेरि विप्रेषणमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो महिनादेखि लगातार घटेको रेमिट्यान्स पाँचौ महिनामा गत वर्षको तुलनामा केही बढेको हो । अघिल्लो आर्थिक
वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो । वृद्धिदरका हिसाबले भने न्यून छ । आर्थिक वर्ष २०७५÷७६ मा रेमिट्यान्स ३१.९ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको चौथो महिनाअर्थात् कात्तिक मसान्तसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा २.३ प्रतिशतले कमी आएर तीन खर्ब चार अर्ब ९७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । तेस्रो महिनामा पनि ४.९ प्रतिशतले घटेर दुई खर्ब ३० अर्ब २४ करोड रूपैयाँ भित्रिएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले गिरावट आएर एक खर्ब ५३ अर्ब ७३ करोड रूपैयाँमात्रै भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ११.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृती (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ ।

प्रकाशित मितिः   ६ माघ २०७६, सोमबार १०:१०