अनुमति लिएर काम ठप्प

मुगु : अनुमति लिएको लामो समयसम्म पनि जलविद्युत आयोजना नबन्दा मुगुका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । जिल्ला सदरमुकाम बाहिरका अधिकांश क्षेत्रमा विद्युत पुग्न नसकेको हो । कर्णाली जलविद्युत आयोजना कम्पनीले मुगु–कर्णालीको सिम्लीदेखि भिइ दोभानसम्म करिब ३१ किलोमिटर ओगटिरहेको छ । उक्त क्षेत्रमा अन्य कम्पनी वा व्यक्तिले विद्युत उत्पादनलगायत अन्य कार्य गर्न पाउँदैनन् । कम्पनीले ओगटेको जग्गा छायाँनाथ–रारा नगरपालिका र सोरु गाउँपालिकामा पर्दछ । कम्पनीले २०६३ सालमा सरकारबाट अनुमति लिएको थियो । एक सय ६० मेगावाट विद्युत उत्पादन गर्ने कम्पनीको योजना छ । कम्पनीका सिनियर मेनेजर गणेशप्रसाद खनालले अनुमति लिएवापत सरकारलाई वर्षेनी ५० लाख रूपैयाँ राजस्व बुझाउने गरिएको बताए । उनका अनुसार विद्युत उत्पादनको लागि पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको छ । वातावरणीय प्रभाव मूल्यांकनको काम भने हुन सकेको छैन । यसको जिम्मा हाइड्रो कन्टिेन्जेन्सी इन्जिनियरिङ्गले गरिरहेको खनालले जानकारी दिए । आयोजनाको लागि पाँच अर्ब ३३ करोड रूपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाले विद्युत उत्पादनको लागि कुन स्थान उपयुक्त हुने भन्ने अहिलेसम्म टुङ्गो लगाएको छैन । कच्चेकोट दाक्चा र धैनकोटदेखि तल राताचौर क्षेत्रलाई बढी सम्भावनामा राखेर सर्भे अघि बढाइएको इन्जिनियर खनालले बताए । सोरु गाउँपालिकाले दाक्चामा विद्युत उत्पादनका लागि सर्भे अघि बढाउने तयारी गरे पनि आयोजनाका कारण अलमलमा परेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले काम नगर्ने र नदी ओगटिरहने प्रवृत्तिले समस्या बढाएको बताए । ‘कि त छिटो काम गर्नुप¥यो, कि हामीलाई काम गर्ने बाटो खोल्नुप¥यो,’ उनले भने, ‘फेरि आयोजनाले स्थानीय सरोकारवालासँग कुनै छलफल पनि गरेको छैन ।’ यसका साथै माथिल्लो मुगुको डोल्फूबाट विद्युत निकाल्ने गरी भारतको लान्को इनर्जी कम्पनीले लिएको लाइसेन्स पनि त्यत्तिकै थन्किएको छ । कम्पनीले २०६५ मा तीन सय ३३ मेगावाट विद्युत उत्पादन गर्ने गरी सरकारबाट अनुमति लिएको थियो । त्यस्तै मुगु र बाजुराको सीमाक्षेत्र हयाङ्लुस्थित हुम्ला कर्णालीबाट १९ मेगावाट विद्युत उत्पादनको लागि नेपाल विद्युत प्राधिकरण र लगानी बोर्डले सर्भे अघि बढाएका छन् । यद्यपि काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले सरकारबाट अनुमति लिएर नदी ओगट्ने तर काम नगर्ने प्रवृत्ति देखिएको बताए । ठूला कम्पनीले लाइसेन्स ओगटिरहँदा जिल्लाको ठूलो क्षेत्र विद्युतविहीन बनेको उनको भनाइ छ । गमगढीमा चार सय किलोवाट क्षमताको गमगाढ साना जलविद्युत आयोजना रहेको छ । उक्त आयोजनाले जिल्ला सदरमुकाम गमगढीलाई धानेको छ । गत वर्षदेखि खत्याड गाउँपालिकाले बिराबगरमा पाँच सय किलोवाट विद्युत उत्पादनको लागि निर्माण अघि बढाएको छ । आउँदो वैशाखभित्र विद्युत आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका प्रमुख उब्जन शाहीले बताए ।a

प्रकाशित मितिः   ६ माघ २०७६, सोमबार १०:१२