हिमपात रोक्न पूजा

 डोल्पा : उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिउँ रोक्न लामा–पूजा गरिएको छ । लगातार तीन दिनसम्म हिउँ परेपछि रोक्नका लागि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । धर्म गुरु गेखो रिन्छेन ग्याल्छेनको नाममा रहेको स्तुपामा लामा–पूजा गरेर हिउँ पर्न रोकिएर घाम लागोस् भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा गरिसकेपछि हिउँ पर्न रोकिएको बैजीले दाबी गरे । धेरै हिउँ परेपछि ठाउँ–ठाउँमा हिमपहिरो खस्ने र त्यसबाट जनधनको ठूलो क्षति हुने भएकाले छिट्टै हिउँ रोकिएर कुनै क्षति नहोस् भनेर सबैले गुरु लामाको स्तुपामा सामूहिक पूजा गरेको बैजीले बताए । लगातार तीनदिनसम्म परेका हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निस्कन समेत कठिन भएको स्थानीयले बताए ।

प्रकाशित मितिः   ६ माघ २०७६, सोमबार १०:०७