एकै नजरमा माया बस्यो

14012294_1754570578089410_1338471772_nप्रेम र मायाको उत्तरको पछाडि दौडियौं भने सायद यसको जवाफ भेट्न सकिदैंन होला । विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ–आफ्नो तरिकाले दिएका छन् । जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ । मानिसहरूले भनेझैं प्रेम निःस्वार्थ छ भनौं भने प्रेममा स्वार्थ पनि भेटिन्छ । प्रेममा छलकपट हुँदैन भनौं भने छलकपट गर्नेको पनि लामै लाइन देखिन्छ । तर, यहाँ भने घनश्याम खड्काले कसैलाई देख्ने बित्तिकै हदैसम्मको माया गर्न पुगे । प्रेम जब मान्छेले गर्छ तब ऊ त्यो प्रेम पाउनको लागि पछि पर्छ त्यसरी नै खड्का पनि संगीताको प्रेम पाउन उनको पछि नै लागेका थिए । धेरै नबोल्ने अनि लजालु स्वभावका खड्कालाई प्रेमले धेरै कुरा सिकायो । उनलाई प्रेमले बोल्न सिकायो । उनले जुन प्रेमको लागि पछि लागेका थिए आखिर त्यो प्रेम अनि माया पाएर नै छोडे ।
पिता मोतीराम खड्का र माता देवीसरा खड्काको कोखबाट २०४४ सालमा सुर्खेतको हरिहरपुर गाविसमा जन्मिएका घनश्याम खड्काको बाल्यकाल सुखद्सँग नै बित्यो । उनले कक्षा १० सम्मको पढाइ विजयश्वरी माविमा नै पूरा गरेका थिए । एसएलसी परीक्षा दिनको लागि त्यतिबेला वीरेन्द्रनगर आउनुपथ्र्याे । उनले एसएलसी परीक्षा जन उच्च माविबाट दिए । उनले भने, ‘कक्षा १० सम्म हरिहरपुरमा नै पढे एसएलसी परीक्षा दिनको लागि भने केन्द्र जन उच्च माविमा परेको हुँदा त्यहीबाट दिएको हो ।’
उनी बाल्यकालमा साह्रै लजालु स्वभावका थिए । विद्यालय पढ्न जाने तर, कसैसँग पनि नबोलेर घर आउने गर्थे । आफूले नजानेको कुरा सरसँग सोध्न पनि सक्थेनन् । तर, पनि सधैं आफ्नो कक्षामा प्रथम नै आउने गर्थे । पढाइमा बाल्यकालदेखि तेज थिए । कक्षा एकदेखि नै उनी प्रथम हुँदै आए । एसएलसी पास भएपछि भने उनी उच्च शिक्षा पढ्नको लागि उनी वीरेन्द्रनगर आए ।
उनले सुर्खेत शिक्षा क्याम्पसमा अङ्ग्रेजी विषय लिएर पढ्न सुरु गरे । सानैदेखि पढाइमा तेज भएकाले उनले कक्षा १२ मा पढ्दादेखि नै आफ्नै गाउँको विद्यालयमा पढाउन सुरु गरेका थिए । हुन त उनको बाल्यकालदेखिको रुचिको विषय भनेको प्राविधिक विषय थियो । त्यतिबेला प्राविधिक विषय लिएर पढ्नलाई शुल्क महङ्गो लाग्थ्यो । घनश्यामको घरको आर्थिक अवस्था कमजोर भएकाले उनले प्राविधिक विषय पढ्न पाएनन् । उनले अङ्ग्रेजी विषय लिएर पढे । उनले
भने, ‘मेरो रुचिको विषय प्राविधिक पढ्ने थियो, घरको आर्थिक अवस्थाले गर्दा मैले अङ्ग्रेजी विषय लिएर पढे ।’
रुचिको विषय प्राविधिक भए पनि उनले मन लगाएर नै अङ्ग्रेजी विषय लिएर पढे । उनले सानो उमेरमा नै आफ्नो खट्टामा उभिएका थिए । मेहेनती भएपछि हरेक काममा सफल हुने उनको भनाइ छ । उनी बाल्यकालदेखि नै परिश्रमी थिए । उनको त्यो मेहेनत र परिश्रमीले गर्दा नै उनी पढाइमा सफल बन्दै गए ।
वीरेन्द्रनगरमा बसेर पढाइ सँगसँगै उनले ट्युसन पनि पढाउन थालेका थिए । साथीहरूसँग विस्तारै घुलमिल हुन थालेका खड्का बाल्यकालमा धेरै नबोने पनि भने अलि–अलि बोल्न थालेका थिए । साथीहरूसँग बोल्ने र घुम्न जाने पनि गरेका थिए । साथीहरूसँग घुम्न जाने क्रममा उनको नजरमा संगीता परिन् । खड्का साथीहरूसँग चिसापानी घुम्न जाँदा संगीतालाई पहिलो पटक देखेका थिए । संगीतालाई देखेको पहिलो नजरमा नै खड्काले मन पराइसकेका थिए । संगीतालाई मन पराएको कुरा उनले आफ्नो साथीलाई भनेका थिए ।
पिता निलकण्ठ भट्टराई र माता हरिमाया भट्टराईको कोखबाट २०४५ सालमा सुर्खेतमा जन्मिएकी संगीता बाल्यकालमा अति चञ्चले स्वभावकी थिइन् । साथीमार्फत् नै खड्काले संगीतालाई मन पराएको कुरा भन्न लगाएका थिए । कोही–कोही हुन्छन् जो जसका लागि बनेका हुन्छन् उनीहरू एक भएर छोड्छन् । खड्का र संगीता पनि एकअर्काेका लागि बनेका
थिए । त्यसैले संगीता भट्टराईकी छोरी क्षेत्रीसँग विवाह गर्नमा त्यतिबेला बाबुआमाले मान्दैनथे । खड्कालाई पनि एक्कासी विवाहको कुरा गर्न अप्ठ्यारो नै थियो । संगीतालाई मन पराएको कुरा त साथीमार्फत् भन्न लगाएका खड्का विवाहको कुरा कसरी गर्थे र ।
उनले भने, ‘मैले उनलाई मन पराएको कुरा पनि साथीमार्फत् नै भन्न लगाएको थिएँ ।’ संगीताले पनि खड्काले मन पराएको कुरा आफ्नो साथीमार्फत् थाहा पाएकी थिइन् । उनीहरूको चिनजान भएको एक वर्षपछि बल्ल विवाहको कुरा चलेको थियो । दुवैले एकले अर्काेको बानी व्यवहार सबै बुझेर मात्र विवाहको कुरा चलाएका थिए । बाहुनको छोरी क्षेत्रीको छोरासँग विवाह गरिदिन त्यतिबेला मात्र होइन अहिले पनि जातको कुरा निस्कने गर्छ । तर, संगीताका बाबुआमाले उनीहरूको प्रेमलाई जातका कारण बाधा बनाएनन् ।
उनीहरूको २०६६ असार १२ गते मागी विवाह नै भयो । संगीताले खड्कालाई घरमा नै माग्न बोलाएपछि उनीहरूको मागी विवाह भयो । विवाह गर्दा खड्काले आफ्नो पढाइ सँगसँगै राम्रो ट्युसन पढाउने शिक्षक पनि भइसकेका थिए । खड्का एउटा राम्रो शिक्षक मात्र होइन एउटा राम्रो गीतकार पनि हुन् । उनी बाल्यकालदेखि नै गीतहरू लेख्ने, साहित्यमा रुचि राख्ने गर्थे । तर, उनको लजालु स्वभावले उनको त्यो प्रतिभालाई बाहिर आउन दिएको थिएन । उनले भने, ‘म लजालु स्वभावको भएकाले म भित्रको त्यो कला बाहिर आउन पाएको थिएन ।’ उनले अङ्ग्रेजी किताब पनि प्रकाशन गरिसकेका छन् । किताब मात्र होइन अब छिट्टै उनको उपन्यास पनि बजारमा आउने उनको भनाइ छ । हालसम्म उनले तीन वटा गीतको शब्द लेखिसकेका छन् जुन चर्चामा पनि आएका छन् ।
उनले लेखेका शब्दका ‘हातमा बाला सोल्टीना…’, ‘बझेरीको दियो…’ र ‘ऐ ब्यूटीफूल…’ बोलको गीत बजारमा चर्चा पाइसकेका छन् । उनले आफैले लेखेको शब्दको गीत ‘ऐ ब्यूटीफूल…’ मा मोडलिङ समेत गरेका छन् । उनको आगामी योजना भनेको उनको मुख्य पेसा शिक्षक नै हो र अर्काे आफ्नो क्षेत्रको टिपिकल गीत र संस्कृतिलाई उजागर गर्ने र गीतकारलाई निरन्तरता दिने नै रहेको छ । उनी अहिले पार्टनरसीपमा अल्फा मल्टीपल एकेडेमी खोलेका छन् । यति मात्र होइन रोयल्टी सङ्कलन समाजको सदस्य, लोक दोहोरी गीत प्रतिष्ठानका मानार्थ सदस्य, समाजसेवी पनि हुन् ।
विवाहपछि संगीतालाई छोरी र बुहारी हुनुको अन्तरको अनुभव पनि धेरै भयो । उनले भने, ‘छोरी हुँदा जसरी घुम्न, आफ्नो सुखीले काम गर्न पाइथ्यो त्यो सबै बुहारी भइसकेपछि सोच विचार गरेर मात्र काम गर्नुपर्छ ।’ उनलाई सुरु–सुरुमा त गाह्रो नै भयो । तर, पनि उनले आफूलाई परिवर्तन गर्दै घरव्यवहारलाई राम्रोसँग सम्हालिन् । उनी भन्छिन्, ‘छोरी हुनु र बुहारी हुनुमा धेरै फरक छ छोरी हुँदा स्वतन्त्र भइन्छ तर, बुहारी हुँदा जिम्मेवारी थपिन्छ ।’ उनले पनि आफूमा आइपरेको जिम्मेवारी सहजै पूरा गर्दै अगाडि बढिन् ।
विवाह पछिका दिनमा खड्का शिक्षण पेसामा नै बढी व्यस्त हुन थाले । घरको व्यवहार संगीताले सम्हाल्थिन् बाहिरको खड्काले सम्हाल्थे । कहिलेकाहीं संगीतालाई लाग्ने पनि गथ्र्यो कि श्रीमान्ले घरमा पनि समय दिएको भए हुन्थ्यो भन्ने । तर, खड्का बिहान ४ बजेदेखि साँझसम्म नै पढाउनमा नै व्यस्त हुने गर्थे । जब उनीहरूको एक छोरी र एक छोरा भए अनि संगीताको मन भुलाउने साथी पनि छोरा छोरी नै भए । उनी छोरा छोरीसँगै दिन बिताउने र घर व्यवहार सम्हाल्दै दिन कटाउँथिन् ।
विवाहपछि उनीहरूसँगै घुम्न जान पाएका थिएनन् । पहिला काममा व्यस्त भएर अहिले भने छोरा–छोरीको हेरचाहले गर्दा । उनीहरूको विवाह भएको सात वर्षमा खड्काले गोठीकाँडा घुमाउन लगेको नै पहिलो चोटि थियो । संगीता धेरै सुखी पनि थिइन् । उनी भन्छिन्, ‘उहाँले मलाई पहिलो चोटि विवाह गरेको सात वर्षमा बल्ल गोठीकाँडामा लैजानु भएको थियो ।’
संगीता खड्काको व्यस्ततालाई राम्रोसँग बुझ्छिन् । उनीहरू एकअर्काेमा विश्वास गर्ने भएकाले नै होला झगडा पनि हुँदैन । दुवैले एकअर्काेले काम गर्दा सल्लाह गरेर नै काम गर्ने गर्छन् । उनीहरू भन्छन्, ‘कहिले काहीं सामान्य झगडा भए पनि झगडाले ठूलो रूप भने लिएको छैन ।’ खड्का आफ्नो काममा जति व्यस्त भए पनि संगीतालाई सुखी पार्नको लागि बेला–बेलामा गिफ्ट पनि दिने गर्छन् ।
उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि श्रीमान्–श्रीमती बीचमा विश्वासको डोरी कसिलो बनाउनुपर्छ । नजिक हुँदा दाम्पत्य जीवनले दिगोपना पाउने उनीहरूको भनाइ छ । एकले अर्काेमा विश्वास गर्न सक्नुपर्छ र विश्वास गर्ने वातावरण एकले अर्काेमा बनाउन पनि जरुरी रहेको उनीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘जीवन भनेको सङ्घर्ष हो, सङ्घर्ष विना जीवन सफल हुन सक्दैन ।’ जीवनमा उतारचढाव धेरै आउँछन् तीनलाई सहजै रूपमा सामना गर्न सक्नुनै जीवन हो ।
उनीहरूका अनुसार प्रेम विवाहको एउटा मूर्त रूपमा हो । जसरी विवाह अघि प्रेम आवश्यक छ त्यसरी नै विवाह पछि पनि प्रेम आवश्यक हुन्छ । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको एकअर्काेको जीवनमा आइपर्ने हरेक दुःख–सुखलाई सहजै मिलेर सामना गर्ने, एकको दुःख अर्काेले बुझ्न सक्नु नै जीवनसाथी हो ।’ एकअर्काेको दुःख–सुख बिसाउने चौतारी नै जीवनसाथी हो ।
उनीहरू विवाह गर्दा पहिला एकले अर्काेलाई राम्रोसँग बुझेर, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्नको लागि नवदम्पत्ती जोडीहरूलाई आग्रह गर्छन् । आफ्नो प्रेमलाई मात्र ठूलो ठानेर होइन दुवैको घरपरिवारलाई पनि महŒव दिन सके दाम्पत्य जीवन दिगो हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   ३१ श्रावण २०७३, सोमबार १०:४४