जघन्य अपराध बढ्दै

aparadhबिसौनी संवाददाता
सुर्खेत, २३ साउन ।
मध्यपश्चिममा अहिले पनि ठूलो संख्यामा जघन्य अपराध हुने गरेको पाइएको छ । सशस्त्र युद्ध समाप्त भएर मुलुक शान्ति प्रक्रियामा आएको एक दशक पुगिसक्दा पनि समाजमा जघन्य अपराधको संख्यामा भने कमी आउन सकेको छैन ।
प्रहरीको तथ्याङ्क हेर्ने हो भने अपराधको अवस्था डरलाग्दो छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखाको तथ्याङ्क अनुसार एक वर्षमा मात्रै तीन सय भन्दा बढी जघन्य अपराध भएका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा मध्यपश्चिम क्षेत्रमा मात्र तीन सय ३४ वटा जघन्य अपराधका घटना भएका छन् । यस शाखाले विभिन्न ६ प्रकृतिका अपराधलाई जघन्य अपराध अन्तर्गत राखेको छ । जसमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागू औषध, अपहरण, अपहरण उद्योग र गौवध शीर्षकमा अपराधको वर्गीकरण गरिएको छ ।
क्षेत्रीय प्रहरी कार्यालयका अनुसार यस क्षेत्रमा सबैभन्दा बढी लागूऔषध र कर्तव्य ज्यान शीर्षकका अपराध हुने गरेका छन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी लागूऔषध सम्बन्धीका एक सय २२ वटा अपराध भएका छन् । त्यसपछि दोस्रोमा कर्तव्य ज्यानका एक सय आठ वटा र तेस्रोमा ज्यान मार्ने उद्योगका ८७ वटा अपराध भएको कार्यालयले जनाएको छ । त्यसैगरी १२ वटा अपहरण, दुई वटा अपहरण उद्योग भएको र तीन वटा गौवध भएको पाइएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यसवर्ष संख्यामा केही कम भए पनि यो संख्या पनि ठूलो भएको क्षेत्रीय प्रहरी प्रमुख डीआइजी माधवप्रसाद नेपालले बताए । ‘तुलनात्मक रूपले अघिल्लो आर्थिक वर्षमा भन्दा यो आर्थिक वर्षमा एक दर्जन अपराध घटेको देखिन्छ’ नेपालले भने, ‘तर जति भएको छ त्यो पनि ठूलो संख्या हो ।’
अघिल्लो आर्थिक वर्षमा यस क्षेत्रमा तीन सय ४९ वटा जघन्य अपराध भएको तथ्याङ्क प्रहरीसँग
छ । ‘आर्थिक वर्ष २०७१÷०७२ मा यस वर्षभन्दा १५ वटाले बढी अर्थात् तीन सय ४९ वटा अपराध भएका थिए’ नेपालले भने । सबैभन्दा बढी लागूऔषधका एक सय ४५, ज्यान मार्ने उद्योगका एक सय एक र कर्तव्य ज्यानका ८४ वटा अपराध अघिल्लो वर्ष भएका थिए । त्यस्तै नौ वटा अपहरण र १० वटा गौवध भएका छन् ।
पछिल्लो तीन वर्षको अवस्था हेर्ने हो भने आर्थिक वर्ष २०७०÷०७१ मा भन्दा २०७१÷०७२ र २०७२÷०७३ मा अपराध बढेको देखिन्छ । २०७०÷०७१ मा दुई सय ८६ वटा अपराध भएका छन् । जसमा लागूऔषधका एक सय तीन, ज्यान मार्ने उद्योगका ९१, कर्तव्य ज्यानका ८२, अपहरण सात वटा, अपहरण उद्योगमा दुई र गौवधका दुई वटा अपराध भएको प्रहरीले जानकारी दिएको छ ।
जघन्य अपराधकै अवस्था कहालीलाग्दो छ, प्रहरीले हेर्नुपर्ने अन्य घटनाहरू पनि थुप्रै छन् । आत्महत्या, सामाजिक अपराध लगायत अन्य अपराधको संख्या पनि अधिक छ । प्रहरीसामु अपराध नियन्त्रण गर्ने जति चुनौती छ त्योभन्दा बढी चुनौती आवश्यकता जनशक्ति नहुँदा बेहोर्नु परिरहेको छ । जनशक्तिकै अभाव झेल्दै आएको प्रहरीसामु चुनौतीका चाङ छन् । प्रहरीसँग आवश्यक स्रोत र साधनको कमी छ । जसले गर्दा अपराध नियन्त्रणमा उल्लेख्य प्रगति हुनसकेको छैन । त्यसैगरी कारागारको अवस्था जीर्ण हुनु, प्रविधिको अभाव, खुला सीमाना, साना हतियारको सहज पहुँच, प्रहरी भवनको कमी लगायतका समस्या यस क्षेत्रका प्रहरीले बेहोर्नु परेको डीआईजी नेपालले बताए । यति हुँदाहुँदै पनि प्रहरीले सक्दो प्रयास गरिरहेको उनले जनाए ।
अपराध नियन्त्रणका लागि क्षेत्रीय प्रहरी कार्यालयले अल्पकालीन र दीर्घकालीन योजना बनाएर लागू गरेको छ । ती योजनाहरूलाई कार्यान्वयन गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने प्रयास निरन्तर जारी राख्ने नेपाल बताउँछन् । उनले प्रहरीभित्रै पनि खराब प्रवृत्ति भएका व्यक्तिहरू हुनुले पनि समस्या परेको बताए ।
गत आर्थिक वर्षमा मात्रै यस क्षेत्रका तीन सय ४० जना प्रहरीलाई विभागीय कारबाही गरिएको छ । अपराध नियन्त्रणका लागि प्रहरीले मात्रै सम्भव नहुने भन्दै डीआईजी नेपाल नागरिकले पनि साथ दिनुपर्ने बताउँछन् । प्रहरी र नागरिक मिलेर अघि बढे समाजमा हुने जघन्य अपराध नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मितिः   २४ श्रावण २०७३, सोमबार ०६:४८