सभामुख चयनमा सकस कामयै

काडमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको सभामुख रिक्त छ । लामो समयदेखि नेकपाले सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठकसमेत पटक–पटक स्थगित हुँदै आएको छ । पुस ४ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक तीन पटक स्थगित भइसकेको छ ।

अहिले पनि नेकपाले सभामुखको चयन गर्न नसकेको कारणले प्रतिनिधिसभाको बैठक चौथोपटक स्थगित हुन सक्ने स्रोतको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा बाँझिएको कारणले नेकपाले सभामुख चयन गर्ने सकेको छैन । सभामुख चयनको विषयमा बालुवाटारमा ओली र अध्यक्ष दाहालबीच पटक–पटक वार्ता बसिसकेको छ । तर, दुवै नेताहरू आ–आफ्ना पक्षको अडान बलियो बनाएपछि सभामुख चयन गर्न सकेको छैन । सभामुखको चयन प्रक्रियाको विषयलाई लिएर ओली र दाहालबीचको सम्बन्ध चिसिएको हल्ला बाहिर आइरहेकै बेलामा बिहीवार र शुक्रवार दुई अध्यक्षले छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ ल्याउन चाहेका थिए । तर, तत्कालीन माओवादीको भागमा परेको भन्दै दाहालले अडान छाडेका छैनन् । दाहालले सभामुख स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई ल्याउन चाहेका छन् । बालुवाटार स्रोतका अनुसार सभामुखको अडानबाट प्रधानमन्त्री ओली लचिलो भएको बुझिएको छ । यद्यपि उप–सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएपछि ओली र दाहालबीच सभामुख उम्मेदवार चयनको विषय थप पेचिलो बनेको छ ।

सभामुख उम्मेदवार चयन पार्टीभित्र आन्तरिक छलफलको क्रममा रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘पार्टीले सभामुख चयन गर्न अलिक ढिला गरेको हो । तर, केही दिनमा पार्टीले सभामुखको उम्मेदवार तोक्छ ।’ संवैधानिक व्यवस्थाअनुसार सभामुख र उप–सभामुख एउटै पार्टीको हुन नमिल्ने व्यवस्था छ । उप–सभामुखले राजीनामा दिएपछि मात्रै नेकपाले सभामुखको चयन गर्न मिल्नेछ । तर, उप–सभामुख तुम्बाहाङ्फे भने पार्टीले सभामुख चयन गरेपछि मात्रै राजीनामा दिने अडानमा छिन् । उप–सभामुख तुम्बाहाङ्फेको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ रहेकाले उनको अडान बलियो भएको समाचारहरू समेत बाहिर आइसकेका छन् । सभामुख चयनको विषय पेचिलो बन्दै गएपछि सभामुखमा तेस्रो व्यक्तिको समेत चर्चा चुलिएको थियो । तर, ओली र दाहालले आ–आफ्नो अडानको बीचमा नेकपाभित्र सभामुख चयन हुन सकिरहेको छैन ।

उप–सभामुख शिवमाया तुम्बाहाङ्फेलाई राष्ट्रपति भण्डारीले साथ दिएपछि प्रधानमन्त्री ओली थप संकटमा परेका छन् । प्रधानमन्त्री ओलीले नेम्वाङको विकल्पमा तुम्बाहाङ्फेको नाम अगाडि सारेको समेत स्रोतको दाबी छ । तर, पार्टी एकतापछि तत्कालीन माओवादी केन्द्रको भागमा परेको सभामुख पद तत्कालीन माओवादी निकट नेताहरूले छाड्न नहुने अडान अध्यक्ष दाहाललाई दिइरहेका छन् । त्यसलै पनि प्रचण्डले पनि आफ्नो अडानबाट पछि हट्न मनस्थितिमा छैनन् । अध्यक्ष दाहालसँग प्रधानमन्त्री ओली प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरूबीचको छलफल गरेपछि रुष्ट छन् । नेकपाभित्र सभामुख चयन र अमेरिकी परियोजना एमसीसीको विषयले समेत रडाको मच्चिरहेको छ ।

प्रकाशित मितिः   ५ माघ २०७६, आईतवार १०:१६