असहायको पक्षमा

मुलुक नै विकसित हुन सकिरहेको छैन । नागरिकको ठूलो हिस्सा पनि गरिबीसँग जुद्दिरहेको छ । कर्णाली प्रदेशमा त ५२ प्रतिशत नागरिक नै बहुआयामिक गरिबीको रेखामुनि छन् । भोकमरीले वर्षेनी पिरोल्छ । त्यसमाथि रोगब्याधिले पनि थप पीडा दिन्छ । असहाय र अपांगता भएकाहरुको संख्या पनि ठूलो छ । मानसिक रोगले आक्रान्तहरु बढ्दैछन् । जसलाई समाज मात्र होइन परिवारले समेत बेवास्ता गर्ने गर्दछ । त्यही बेवास्ताको सिकार भएकाहरुमध्ये कतिपय सडकमा आउँछन् ।

सडकमा आउनु भनेको घरबारविहीन हुनु हो । अरुसँग मागेर पेट भर्नु हो । सडकपेटीमै सुत्नु र यसैगरी बाँच्नु हो । यसरी बाँच्नेहरुको संख्या सानो छैन । बरु दिनप्रति दिन बढ्दो छ । मानिसहरु सडकमा आउनुका अनेक कारण छन् । कतिपयहरुले गरिबीले च्यापेपछि अन्य कुनै विकल्प नभेटेर सडकमा आउँछन् । अपांगता भएकाहरु जसलाई परिवारको साथ हुँदैन उनीहरु पनि सडकमै भेटिन्छन् । वृद्ध अवस्था पुगेका र सन्ताबाट बहिस्कृत भएकाहरु पनि सडकमा झर्छन् । मानसिक रुपमा पीडितहरुको संख्या पनि त्यसमा जोडिएर आउँछ । यसरी विविध कारणले सडकमा आएकाहरुको जीवन भने निकै कष्टकर र सकसपूर्ण छ । पेट भर्नका लागि अरुसँग हात थाप्नुपर्छ । सडकमा फालिएका फोहोर वस्तु खानुपर्छ । चिसो र गर्मी सबै सहेर सडकमै सुत्नुपर्छ ।

असहाय, बेवारिसे र सडक मानिसको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो । पछिल्लो समयका यसका लागि केही पहल पनि हुन थालेका छन् । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित घोषणा गर्नु यसैको एक उदाहरण हो । स्थानीय तह र विभिन्न सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरेर प्रदेश सरकारले शनिवार कर्णालीलाई सडक मानवरहित घोषणा गरेको छ । जुन निकै महङ्खवपूर्ण कार्य हो । तर यसको प्रभावकारीताका लागि भने अझै धेरै गर्नुपर्ने देखिन्छ ।

सबैभन्दा पहिलो प्रदेशमा यस्ता मानिसहरुको एकीन गर्न जरुरी छ । त्यसपछि स्थानीय तहमार्फत उनीहरुको व्यवस्थापन गर्नुपर्छ । सकेसम्म परिवारमा पुनस्र्थापित गर्नु राम्रो हुन्छ । यदी परिवारविहीन नै भएकाहरुका लागि भने आश्रममा राख्न सकिन्छ । यसका लागि सरकारले व्यवस्थित आश्रमको स्थापना गर्न जरुरी छ । सामाजिक कार्यमा सक्रिय गैरसरकारी संघ–संस्थाहरुसँग पनि समन्वय गर्न सकिन्छ । अर्कोतर्फ सडक मानवमुक्त घोषणा भइसकेपछि सडकमा माग्न बसिरहेकाहरु भेटिनु हुँदैन भन्नेमा पनि उत्तिकै ख्याल गर्न जरुरी छ । घोषणा गरेर जिम्मेवारी पूरा गर्ने प्रवृत्ति विगतका अन्य अभियानहरुमा देखिदै आएको छ । असहायहरुको सहयोगककै लागि सरकारले कदम चालेको हो भने यो घोषणापछि थप संवेदनशिल भएर काम गर्न जरुरी छ ।

प्रकाशित मितिः   ५ माघ २०७६, आईतवार १०:१८