एमसीसीको पक्षमा कांग्रेस

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारूढ दल नेकपाभित्र ठूलै विवाद भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने यसलाई संसद्बाट पारित गर्ने निर्णय लिएको छ । कांग्रेस संसदीय दलको बैठकले एमसीसी राष्ट्रको हितमा रहेकाले संसद्बाट पारित गर्नुपर्ने निर्णय लिएको हो ।

बैठकमा पार्टी सभापति एवम् दलका नेता शेरबहादुर देउवाले एमसीसीको पक्षमा ब्रिफिङ्ग गरेका थिए । एमसीसी राष्ट्रिय हितमा रहेकाले संसद्बाट पारित गर्नुपर्ने उनको भनाइ थियो । ‘एमसीसी राष्ट्रिय हितमा छ । यसलाई संसद्बाट पास गर्नुपर्छ,’ दलको बैठकमा देउवाले राखेको भनाइ उद्धृत गर्दै कांग्रेस सांसद डिला संग्रौलाले भनिन्, ‘कांग्रेसले यसलाई संसद्बाट पारित गर्ने निर्णय लिएको छ ।’ देउवाले एमसीसी पास गर्नेपर्ने बताएपछि नेता मिनेन्द्र रिजालले यसको पृष्ठभूमि र यसले नेपाललाई पु¥याउने फाइदाबारे लामो व्याख्या गरेका थिए । एमसीसीबारे सत्तारूढ दल नेकपाभित्र विवाद रहेकाले यसको अनुमोदन हुन सकेको छैन । एमसीसी कार्यान्वयन हुन सरकार र एमसीसीबीच भएको सम्झौता संसद्बाट पारित हुनुपर्ने शर्त छ । सम्झौता–पत्र अनुमोदनका लागि सरकारले मन्त्रिपरिषद्को स्वीकृतीपछि ३१ असारमा संसद्मा प्रस्ताव दर्ता गराएको थियो ।

प्रकाशित मितिः   ५ माघ २०७६, आईतवार १०:१२