साठी किलोमिटर सेमिक सर्भे सम्पन्न


दैलेख : सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तीव्रता दिएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको श्रीस्थान र नाभिस्थानमा पेट्रोलियम अन्वेषणको कामलाई तीव्रता दिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षको प्रगति विवरणमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम तीव्र रूपमा अघि बढेको उल्लेख गरेको छ । ‘नेपालमा पेट्रोलियम अन्वेषण कार्यका लागि चीनसँग भएको सम्झौताअनुसार दैलेखमा पेट्रोलियम अन्वेषण कार्य भइरहेको छ’ मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा पेट्रोलियम अन्वेषणका लागि चीनसँग २८ फेब्रुअरी २०१९ मा सम्झौता भएको थियो । सोही सम्झौताअनुसार अन्वेषणको काम भइरहेको वरिष्ठ भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । अन्वेषणका लागि चीनको चाइना जिओलोजिकल सर्वे र नेपालको खानी तथा भूगर्भ विभागबीच तीन वर्षका लागि सम्झौता भएको हो । त्रिपाठीले पहिलो चरणमा कार्तिकदेखि स्थलगत अध्ययन भइरहेको बताए ।

दोस्रो चरणमा अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरिने र तेस्रो चरणमा ड्रिल (जमिनमुनी कुवा खन्ने) स्थान पत्ता लगाउने काम गरिने छ । तर, अहिलेसम्म स्थलगत अध्ययनकै काम निरन्तर छ । ‘अहिले पहिलो चरणमा स्थलगत अध्ययन काम भइरहेको छ’ त्रिपाठीले भने, ‘यसमा हामीले ४ सय वर्गकिलोमिटर क्षेत्रमा विभिन्न किसिमका सर्भे गर्ने र विभिन्न तथ्याङ्क निकाल्ने काम गर्छौं ।’ त्यस्तै स्थलगत अध्ययनबाट प्राप्त तथ्याङ्कको विश्लेषण गर्ने काम अर्को चरणमा गरिने उनले बताए । ‘तथ्याङ्क विश्लेषणबाट सम्भाव्य भण्डारको संकेत गर्छ । त्यसबाट एउटा लक्ष्य तय हुन्छ’ उनले भने, ‘त्यसैअनुसार ड्रिल गर्ने कार्य हुनेछ ।’

ड्रिलिङबाट तेल भेटिने वा नभेटिने थाहा हुन्छ । त्यहाँ तेल भेटियो भने भण्डार रहेछ भन्ने पुष्टि हुन्छ । तेल रहेको पुष्टि भएपछि अर्को चरणमा आर्थिक मूल्याङ्कन गरिने भूगर्भ विभागका अधिकारी बताउँछन् । चार किलोमिटर गहिराइसम्म गरिने ड्रिलको चरणसम्म पुग्न करिब दुई वर्ष लाग्ने छ । ‘ड्रिलको काम अर्को सेप्टेम्बर अक्टुबरतिर हुन्छ’ त्रिपाठीले भने, ‘त्यसपछि कमर्सियल इभ्यालूएसन हुन्छ । त्यति भएपछि हाम्रो यो प्रोजेक्टको काम करिब–करिब पूरा हुन्छ ।’ चाइना जिओलोजिकल र खानी तथा भूगर्भ विभागबीच २८ फेब्रुअरीमा भएको सम्झौताअनुसार आर्थिक मूल्यांकनको काम नै अन्तिम हो । त्यसपछि तेल उत्खनन् तथा उत्पादनको कामका लागि भने अर्को प्रक्रियामा जानु पर्छ ।

खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले यसअघि २०७४ सालमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा पाइएको तेल बोतलमा भरेर परियोजनाको कार्यालयमा ल्याइएको छ । जसले दैलेखमा पेट्रोलियम पदार्थ रहेको आधार देखिएको छ । त्यसअघि पनि राजा राजौटाका पालामा भएका विभिन्न अन्वेषणहरूले सो स्थानमा तेल रहेको पत्ता लागेको परियोजनाका अधिकारीहरू बताउँछन् । ‘विभिन्न ठाउँमा अहिले पनि तेल चुहावट भइरहेको देखिन्छ । सतहमा देखिएको चुहावटले जमिनमुनी कतै न कतै भण्डारण हुन सक्छ भन्ने सम्भावना छ’ अन्वेषणस्थल दैलेखमा रहेका त्रिपाठीले भने । ती दुई स्थानमा बनाइएका मन्दिरमा वर्षौंदेखि ग्यासहरू बलिरहेकोले त्यसको वरीपरी चार सय वर्गमिटर क्षेत्रफल ओगट्ने गरी अन्वेषणको काम अगाडि बढाइएको हो ।’