सडकमा बाँचेकाहरू

सीता वली,
सुर्खेत : दुई सन्तान जन्मिसकेपछि जाजरकोटकी धनसरा बुढाथोकीका श्रीमान्ले दोस्रो विवाह गरे । उनले दोस्रो विवाह मात्रै गरेनन् धनसरालाई घरनिकाला समेत गरे । नाबालक छोराछोरी साथमै लिएर उनी माइतीमा पुगिन् । केही समय माइतीमै बिताइन् । तर उनका लागि माइती भन्नु आमाबुवा छउञ्जेल मात्रै रहेछ । जब आमाबुवाको निधन भयो भाइबुहारीले पनि धनसरालाई घरबाट निकाले । न घर थियो न माइती । धनसरा सडकमा आइन् । सडकनै उनको घर भयो । सडकनै जीवन ।

केही समय उनी नेपालगन्जको सडकमा भौतारिइन् । उनको साथमै थिए, एक छोरा र एक छोरी । एकातिर आफ्नै पेट पाल्नु थियो भने सँगसँगै छोराछोरीको भोक पनि मेटाउनुपर्ने जिम्मेवारी । अरु उपाय केही थिएन । होटेलबाट फालिएको दालभातको साहारा लिन थालिन् । त्यही पनि कसैले दिन्थे त कसैले बंगुरलाई चाहिने भन्दै दिन इन्कार गर्थे । उनले मागेरै खाइन्, मागेरै छोरा–छोरीलाई खुवाइन् । जस्तो दिन्छन् त्यस्तै खानुपथ्र्यो । भोकको उपचार खानुबाहेक अर्को केही थिएन ।

सडकको बास हुँदाहुँदै छोरा कहाँ बेपत्ता भयो उनलाई थाहा छैन । छोरीलाई खोलाले बगाएको सम्झना गर्छिन्् । न छोरा भेटिए, न छोरी रहिन् । पीडामाथि पीडाले धनसरालाई थिचिरह्यो । उनी भने भोको पेट लिएर माग्न हिँडिरहिन् । मागेर पेट भरिन्, सडकमै सुतिन् । सडक पनि सुरक्षित कहाँ छ र ? धनसरा कैयौं पटक बलात्कारको सिकार पनि भइन् । ‘जंगलमा एक्लै बस्नुपथ्र्यो’ उनले भनिन् ‘जंगलमा बस्दा धेरैले शरीर छोए ।’ मागेर पेट पाल्न पनि सजिलो थिएन । सडकमा कतिले कुटेको बताउँदै धनसराले धेरै रात भोकै सुत्नुपरेको सुनाइन् । अनेक यातना भोगेर सडक जीवन बाँचेकी धनसरा यतिबेला भने सुर्खेतमा रहेको मानव सेवा आश्रममा छिन् । आश्रममा आएपछि भने उनलाई नयाँ जीवन पाएजस्तै लाग्न थालेको छ । ‘यहाँ त मिठो खाना पाइन्छ’ धनसराले थपिन् ‘कपडा पनि राम्रै लगाउन दिएका छन् ।’ सडकमा जस्तो फालेको खान नपरेको उनले बताइन् ।

धनसराजस्तै सडक जीवन बाँचेर अहिले आश्रममा आइपुगेका छन् दाङको गोरुसिङ्गे घर बताउने पूण्यप्रसाद न्यौपाने । उनलाई पनि सडक भन्दा आश्रमनै प्यारो लागेको छ । पानी पर्दा चिसो कपडामा सुत्नुपथ्र्यो’ उनले विगत सम्झिए, ‘तर आश्रममा न्यानो कपडामा सुत्न पाइन्छ ।’ पूण्यप्रसादको कथा पनि कम कहालीलाग्दो छैन । आमाबुवाको मृत्यु भएपछि सम्पत्ति दिदी–भिनाजुले बेचिदिए । घरसम्पत्ति केही नबचेपछि न्यौपाने सडकमा आए । सडक जीवन जिउन सजिलो थिएन । अरुले फालेको वस्तु खाएर भोक मेटाएकोदेखि चिसो पेटीमा सुतेर रात बिताएको सम्झना उनलाई अहिले पनि आउँछ । यत्तिकै सडकमा सुतिरहँदा कैयौंले आएर लात्तीले हान्थे । उनी केही गर्न सक्दैनथे । अहिले मानवसेवा आश्रममा आए पनि पाएको मायाले भने उनी दङ्ग छन् । धनसरा र पूण्यजस्तै कर्णाली प्रदेश मानवसेवा आश्रममा ५० जनाले आश्रय लिइरहेका छन् । जसमा १८ जना महिला र ३२ जना पुरुष रहेको आश्रमकी जिल्ला संयोजक सञ्चिता गौतमले बताइन् । तीन जना बालबालिका समेत आश्रममा रहेको उनले जानकारी दिइन् । यहाँ रहेकाहरू धेरैजसो मानसिकसमस्याबाट पीडित छन् । केही भने अपाङ्गता भएकाहरू रहेको गौतमले बताइन् । उनले ३६ जनालाई पारिवारीक पुनर्मिलन समेत गराएको बताइन् । ‘हामीहरूले सडकबाट ल्याएर सरसफाइसँगै मानसिक रोगको उपचार समेत गर्ने गरेका छौं’, उनले भनिन्, ‘उद्धार, पालपोषण, उपचार तथा पारिवारिक पुनर्मिलन हाम्रो प्रमुख काम हो ।’ त्यसो त आश्रमले सडकबाट उद्धार गरेर परिवारको जिम्मा लगाएका कतिपयहरू फेरि सडकमै आइपुगेका पनि छन् । घरपरिवारको बेवास्ताका कारण मानसिक रोगबाट पीडित व्यक्तिहरू सडकमा आउने गरेका हुन् ।

वीरेन्द्रनगर–११ सिमलकुनाका हिक्मत खड्काको पनि कुनै समय सडककै बास थियो । राम्रोसँग बोल्न र हिँड्न नसक्ने उनको परिवारमा बुवा–आमा र दाजुभाइ छन् । उनी आश्रममा आएको यो तेस्रो पटक हो । पटक–पटक परिवारसँग पुनर्मिलन गराउँदा पनि हिक्मत सडकमै आउनु परिवारको बेवास्ता भएको आश्रमले जनाएको छ । उनीजस्तै धेरै पटक पारिवारिक पुनर्मिलन गराइसकेपश्चात् सडकमा आउनेहरूको दर बढ्दै गएको आश्रमले जानकारी दिएको छ । यता प्रदेश सरकारले भने सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउँदैछ । आज (शनिवार) कर्णालीलाई सडक मानवमुक्त घोषणा गरिदैंछ ।


‘अशक्त भएपछि सडकमा’

 सिर्जना वली (संयोजक, मानवसेवा आश्रम कर्णाली)

घर छोडेर मानिसहरू सडकमा आउनुपर्ने खास कारण के हो ?

 सबैभन्दा पहिलो कुरा त व्यक्तिको स्वभावले नै उसलाई सडकमा ल्याईपु¥याउँछ । परिवारसँग मिलेर बस्न नसक्ने स्वभाव लगायतका थुप्रै स्वभावले व्यक्ति सडकमा आउँछ । दोस्रो कुरा परिवारको लापरबाही । जब एउटा परिवारको सदस्य कहाँ छ र कस्तो अवस्थामा छ भन्ने कुरा परिवारको अरु सदस्यले वास्ता गर्दैनन् अनि मानिस सडकमा आइपुग्छ । मानसिक रोगी, दीर्घ रोगी, ज्येष्ठ नागरिक र अशक्तहरूलाई अझै भनौ आर्थिक उपार्जन गर्न नसक्नेहरूलाई बेवास्ता गर्ने प्रवृत्तिले सडक मानव बढी जन्माउँछ ।

विशेष गरी कुन वर्गका मानिसहरू सडकमा आएको पाउनुभएको छ ?

 सडकमा आउनेको कुनै वर्ग छैन । धनी, गरीब, पढे–लेखेका, आरामदायी जीवन बिताएका, जागिरे जीवनबाट अवकाश भएका सबैखाले व्यक्तिहरू सडकमा आएको हामीले पाएका छौं । जब अशक्त हुन्छ अनि मानिस सडकमा आइपुग्छ ।

कर्णाली प्रदेशलाई सहयोगापेक्षी मानवमुक्त बनाउन सम्भव छ ?

 सबैभन्दा बढी सम्भावना कर्णाली प्रदेशमानै छ । कर्णाली प्रदेश तीव्र रूपमा सहरीकरण नभइसकेको अवस्थालाई हेर्दा सबैभन्दा सम्भावना कर्णाली प्रदेशमा देखिएको छ । अन्य प्रदेशमा यो अभियान रोग लागेपछिको उपचार हो भने यो प्रदेशमा रोग लाग्नुभन्दा अगाडिको उपचार हो । सरोकारवाला सबै पक्षबाट सहयोग प्राप्त भएकाले सम्भव छ ।

आजसम्म के–के काम भएका छन् ? आगामी दिनमा कसरी अगाडि बढ्दै हुुनुहुन्छ ?

 २०७५ साल माघ १८ गते मानवसेवा आश्रम कर्णाली प्रदेशको स्थापना भएको हो । स्थापना भएदेखि उद्धार, उपचार र पालनपोषणको अलवा विभिन्न सडक नाटकहरू समेत प्रदर्शन गरियो । गत पुस ८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद्को निर्णय गराई कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने गरी निर्णय भयो । गत पुस १० र ११ गते भएको प्रदेश समन्वय परिषद्को बैठकमा समेत यो अभियानको विषयमा सम्बोधन भइ सम्पूर्ण स्थानीय तहहरूलाई यसमा सहयोगको लागि मुख्यमन्त्रीज्यूको निर्देशन समेत भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै जिल्लाहरूमा अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरीएको छ । यो अभियानमा प्रदेश प्रहरी समेत जोडिएको छ । आगामी दिनमा समेत सबै संघ–संस्थाहरूलाई जोडेर यसरी नै सशक्त रूपमा यो अभियान सञ्चालन हुनेछ ।

नागरिकहरूलाई सडकमा आउनै नपर्ने वातावरण बनाउन के गर्नुपर्ला ?

 पहिलो कुरा त परिवारको ठूलो जिम्मेवारी हो । त्यसपछि राज्यनै बढी सचेत हुनु जरुरी छ । सडकमा आइपुग्नुपर्ने वातावरण सिर्जना को बाट भएको छ त्यसलाई कारबाही गर्ने, सडकमा आउनु बाध्यता हो, परिवारमा कोही छैन भने उसलाई उद्धार गर्ने, गाउँ–गाउँमा मानसिक रोगको बारेमा चेतना फैलाउने र पाठ्यक्रममा समेत मानसिक रोगको बारेमा समावेश गर्ने गर्नुपर्दछ । सडकमा लगेर खुवाउने काम बन्द गर्नुपर्छ । सहयोग गर्नुपरे विधिवत रूपमा संस्थालाई गर्न सके सडकमा मानव आउने वातावरण बन्दैन । हरेक व्यक्ति सामाजिकरण हुने र पारिवारिक दायित्वको पाठ सिक्नु जरुरी छ ।