छाउगोठः संस्कारको नाममा बनाइएको पिँजडा

सीता वली,
सुर्खेत : पञ्चपुरी नगरपालिका–८ माझीगाउँकी कल्पना नेपाली पेसाले शिक्षक हुन् । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएकी उनलाई छाउपडी प्रथा अन्धविश्वास मात्र हो भन्ने थाहा छ । तर स्वयम् उनी भने महिनावारी भएको समयमा घरभित्र बस्न पाउँदिनन् । महिनावारीका सात दिन घरभन्दा पर रहेको बाख्राको खोरमाथि बित्छ । ‘मलाई त थाहा छ तर परिवार र समाजका कारण म आफै घरभित्र बस्न पाइरहेकी छैन’ उनले भनिन् ।

उच्च शिक्षासम्म अध्ययन गरेकी कमलाले महिनावारी हुँदा सुरुवातमा त छाउगोठमा जानै मानिनन् । तर घरपरिवारले जबरजस्ती गरेपछि उनको केही चलेन, छाउगोठ जान बाध्य भइन् । ‘घरभन्दा परको त्यो गोठमा चिसो मात्रै होइन सर्पको डरले रातभरी सुत्नै सक्दिनथेँ’ उनले छाउगोठ बस्दाको छटपटी सुनाइन्, ‘जंगली जनावरको पनि उत्तिकै डर लाग्ने । जनावर मात्रै होइन मान्छेको डर झन् भयानक हुन्थ्यो । कतिबेला बलात्कृत हुन्छु भन्ने डरले छाउपडीका मेरा हरेक रात नसुतेरै कट्थे ।’ छाउगोठमा कुनै पनि रात ढुक्कले निदाउन नपाएको उनको अनुभव छ ।
बराहताल गाउँपालिका सुर्खेतमा माइती भएकी कल्पना नेपालीले विवाह गरेपछि छाउगोठमा बस्नुपरेको पीडा सुनाइन् । ‘विवाह भएको ८ वर्ष भयो’ उनले थपिन् ‘आठ वर्ष नै मेरा महिनावारीका रात कष्टकर भए ।’ केही समय किशोरी संवाद केन्द्रमा काम गरेकी कल्पनालाई छाउगोठकै कारण नैतिक धर्मसंकट पनि नपरेको होइन । किशोरी संवादले छाउपडी विरुद्धको अभियान सञ्चालन गर्दा कल्पनालाई किशोरीहरूले प्रश्न गर्थे, ‘म्याडमको घरमा पनि छाउगोठ छ । हामीलाई मात्रै किन छाउ नबस्नु भन्नुहुन्छ ?’ त्यो बेलामा आफूले ढाँटेर जोगिएको कल्पनाले सुनाइन् ।

त्यसो त उनले धेरै पटक परिवारलाई छलेर भित्रै बस्न नखोजेकी पनि होइनन् । तर परिवारले महिनावारीको पालो कहिले हो भन्दै सोध्ने गरेको कल्पनाको भनाइ छ । कतिसम्म भने घरमा कोही बिरामी भएमा पनि आफूलाई ‘छुइछिटो गरेर’ बिरामी पारेको आरोप आउने गरेपछि बाध्यताले छाउगोठ बस्ने गरेको उनले बताइन् । आफू शिक्षित भए पनि परिवार र समाजको डरले छाउगोठ बस्नुपरेको कुरा सुनाउँदा उनी आफै खिन्न थिइन् ।

कल्पना मात्रै होइन सोही स्थानकी १६ वर्षीया मुना दर्लामीको पनि महिनावारी सुरु भएदेखि नै छाउसँगको नाता छ । ‘महिनावारी भएको बेलामा अत्याधिक पेट दुख्थ्यो’ उनले भनिन् ‘सबै परिवार घरभित्र हुँदा आफू एउटा कटेरोमा रात बिताउनुपर्दा एक्लोपनको महसुस हुन्छ ।’ गोठमा एक्लै बस्नुपर्ने डरले महिनावारी शब्द सुनेरै पीडा हुने उनले बताइन् । महिनावारीको समय नजिकिँदै गर्दा उनको मनमा छटपटी सुरु हुन्छ । तर जतिसुकै डर र त्रास भए पनि छाउगोठ जानुको विकल्प आफूसँग नभएको मुनाले बताइन् । आमा–बुवालाई सम्झाउन खोज्दा पनि देउता खुशी नहुने भन्दै बाहिरै बस्न लगाउने गरेको दर्लामीले बताइन् । ‘पेट दुख्नु र चिसो हुनु सामान्य जस्तै लाग्छ’ उनले थपिन् ‘तर मान्छेको डर भने छाउगोठमा बसेको बेलामा असाध्यै लाग्छ ।’ प्रायः छाउगोठमा एक्लै सुत्नुपर्ने भएकोले कुदृष्टि लगाउनेहरूले समेत मौका कुरेर बस्ने उनले बताइन् । सुर्खेतको पश्चिम क्षेत्रमा छाउपडीमा धेरै किशोरीहरू बलात्कृत भएको भन्दै उनले छाउप्रथा निर्मूल पार्नेगरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताइन् । हाल केही समय प्रशासनको डरले घरको एउटा कोठामा बस्ने वातावरण सिर्जना भए पनि पछि गोठभित्रै बस्ने बाध्यता महिलाहरूलाई आइलाग्ने उनको भनाइ छ ।

कल्पना र मुना जस्तै छाउगोठभित्र महिनावारीका रात नसुतेरै कटाउने बाध्यता अधिकांश महिनाहरूको छ । छाउगोठ आफूहरूका लागि संस्कारका नाममा बनाइएको पिँजडा भएको
उनीहरू बताउँछन् । जंगली जनावरको डर त एकातिर छँदैछ कतिबेला बलात्कृत भएर हुनुपर्ने हो वा हत्या नै हुने हो भन्ने पिरले निदाउनै नसकिने छाउगोठमा बस्नेहरू बताउँछन् । तर घरपरिवारको असहयोग र देउताको डरले कतिपय शिक्षित महिलाहरू नै छाउगोठमा बस्न बाध्य छन् । पछिल्लो समय सुर्खेतमा पनि छाउगोठ भत्काउने अभियान सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रहरी र स्थानीय जनप्रतिनिधिहरू सम्मिलित टोली गाउँ–गाउँ पुगेर छाउगोठ भत्काइरहेको छ । तर सरकारी टोलीले छाउगोठ भत्काए पनि पुनः गोठ मर्मत गरेर तथा त्रिपाल टाँगेर महिलाहरू घरबाहिरै बसिरहेका छन् ।

प्रकाशित मितिः   ३ माघ २०७६, शुक्रबार ०८:०४