सुर्खेतमा मगर संग्रहालय बनाइँदै


सुर्खेत : सुर्खेतमा मगर समुदायको संस्कृति जोगाउन संग्रहालय निर्माण गरिने भएको छ । माघे संक्रान्तिको अवसर पारेर बुधवार वीरेन्द्रनगरमा मगर सांस्कृतिक संग्रहालयको शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर नगरपालिका–९ मा स्थापना गरिने मगर समुदायको सांस्कृतिक संग्रहालयको शिलान्यास गरेका हुन् । संग्रहालयको शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले मगर भाषा लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘मगर भाषा लोप हुने अवस्था रहेको छ’ उनले भने ‘आफ्नो भाषाको लिपी तयार गरी छोरा–छोरी पढाउनुस् ।’ आफ्नो भाषाप्रति गौरव गर्न मगर समुदायलाई आग्रह गर्दै मुख्यमन्त्री शाहीले मगर संस्कृतिको रक्षा अरू कुनै जाति र समुदायले नगर्ने बताए । ‘मगर समुदायको भाषा र संस्कृति अरूले संरक्षण गरीदिने होइन, तपाईंहरू आफैले गर्ने हो,’ उनले भने ‘आफ्नो भाषाप्रति गौरव गर्नुस् ।’

मुलुकको सामाजिक, राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महŒवपूर्ण रहेको बताउँदै राजनीतिक आन्दोलन समाप्त भएकोले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार उनले व्यक्त गरे । बजेट अभावकै कारण संग्रहालय निर्माणमा अवरोध नहुने आश्वासन समेत शाहीले दिए । ‘भाषा संस्कृति एवम् विभिन्न जातजातिका भेषभूषाको संरक्षण गर्नु अबको चुनौती हो’ शाहीले भने, ‘आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको भेषभूषाको प्रयोग गर्नुपर्छ ।’ मगर संघका संस्थापक अध्यक्ष जहरसिंह थापाले निःशुल्क दान गरेको दुई कठ्ठा जग्गामा तीन करोड ६८ लाख ६८ हजार लागतमा संग्रहालय निर्माण सुरु भएको हो । निर्माण समितिका संयोजक आशुराम सोमैमगरले प्रदेश सरकारले ७५ लाख, प्रतिनिधिसभा सदस्य नवराज रावतले १० लाख र मगर समुदायबाट चन्दा सहयोग गरी एक करोड ५० लाख संकलन भएको बताए । विद्युतीय भ¥याङसहितको पाँचतले भवनमा प्रादेशिक मगर संग्रहालय, पार्टी प्यालेस, पुस्तकालय, मगर संघको प्रशासनिक भवन, संघ अन्तर्गतका भ्रातृ संस्थाका कार्यालय, बुद्ध पूजा कक्ष र सभाहल रहनेछन् । भवन परिसरमा जग्गा दाता जहरसिंह थापाको अर्धकदको प्रतिमासमेत राखिने भएको छ ।

प्रकाशित मितिः   २ माघ २०७६, बिहीबार ०९:०१