थारु समुदायमा मा३ीको रौनक

सुर्खेत : सुर्खेतका थारु समुदायले हर्षोल्लासका साथ माघी पर्व मनाएका छन् । माघी थारु समुदायको ठूलो पर्व हो । थारु समुदाय मकर संक्रान्तिको दिनमा पर्ने यो पर्वलाई थारु समुदायले नयाँ वर्षको रूपमा पनि मनाउने गर्दछन् । थारु कल्याणकारिणीसभा सुर्खेतले बुधवार वीरेन्द्रनगरमा माघी विशेष कार्यक्रमको आयोजना गरेको थियो । आफ्नै जातीय भेषभूषामा सजिएर कार्यक्रममा थारु संस्कृतिहरू प्रस्तुत गरिएको थियो । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहेको थारु कल्याणकारिणी सभा सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीले जानकारी दिए ।

आफूभन्दा ठूलासँग आशिर्वाद लिई सानालाई आशिर्वाद दिइने तथा बहिनी र छोरीलाई विशेष दान दिने चलन रहेको चौधरी बताउँछन् । सुर्खेत उपत्यकाको लौवास्ता, कुन्टी, नयाँगाउँ लगायतका स्थानमा थारु समुदायको बसोबास छ । सुर्खेतमा झण्डै आठ हजारको जनसंख्या रहेको थारु कल्याणकारिणी सभाले जनाएको छ । उपत्यकाका थारु समुदायको कला संस्कृतिको जगेर्ना गर्न लाटीकोेइलीमा थारु संग्रहालय समेत निर्माण भइरहेको छ । पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरूको चाड भएको छ, तर थारु समुदायमा माघी विशेष पर्वको रूपमा मनाइन्छ । यसैगरी मगर समुदायले पनि माघे सकरातीको रूपमा यो पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेको छ । माघ १ गतेको माघे संक्रान्तिकै दिन मगर जातिले ‘सकराती’ पर्व मनाउँदै आएका छन् । सकराती पर्वको छुट्टै विशेषता र महत्व रहेको मगर समुदायका अगुवा बताउँछन् ।

मगर समुदायमा माघे सकराती एक हप्ता मनाइन्छ । विशेष दिन सकरातीको दिन मनाइए पनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलमा गएर सकरातीको तयारीमा जुटेका हुन्छन् । सकरातीको तीन÷चार दिनदेखि एक हप्तासम्म पनि माघेसंक्रान्ति मनाउने चलन छ । सँगै चेलिबेटीको उत्सवको दिन हो । सकराती विभिन्न विधि गरेर मनाइन्छ । महत्वपूर्ण पाटो भनेको चेलिबेटीको पर्व हो । त्यसैले यो चाड चेलिबेटीको पूजा गरी, उनीहरूलाई दानदक्षिणा प्रदान गरी मनाइन्छ । चेलीलाई पूज्न माघे सकरातीको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पूर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ ।

प्रकाशित मितिः   २ माघ २०७६, बिहीबार ०९:०३