बिदाइ कुमार सरको, संस्कार अमरज्योतिको

                              ध्रुवकुमार अधिकारी

विषय प्रवेश ः

संस्कृतिविद् इभान प्लेहिलले भनेझैं ‘हरेक संगठनहरूले संगठनात्मक वातावरणलाई रमाइलो, उत्पादनयोग्य, परिणाममुखी र जीवन्त बनाउनको लागि आफूले विभिन्न प्रकारका मूल्य मान्यताहरूको विकास गरेका हुन्छन् । तिनै विकसित मूल्य मान्यताको कारण संगठनात्मक मानव स्रोत संगठनको प्रशासनसँग परिचित हुन्छ र संगठनात्मक कार्यमा आत्मअभिप्रेरित हुन्छ’ । उनको यो भनाइसँग सहमत हुन सकिन्छ । यसरी अनुभव र परिस्थितिबाट विकसित मूल्य मान्यताहरूलाई संगठनात्मक संस्कार र संस्कृतिमा रूपान्तरण गरिएको हुन्छ, जसले संगठन र संगठनात्मक व्यवहार उपयुक्त बनाउन धरोहरको रूपमा काम गर्न सक्छन् । विद्यालय पनि एउटा मानिसको अर्धचेतन जीवनको गोडमेल गरी निश्चित गन्तव्य पहिल्याउन योग्य बनाउन सहयोग गर्ने अत्यन्तै महŒवपूर्ण संगठन हो । जहाँ शिक्षकहरू आफू दियोजस्तै बलेर आफ्ना शिष्यहरूलाई ज्ञान, सीप र सकारात्मक अभिवृत्तिको प्रकाश छरिरहेका हुन्छन् । लामो समयसम्म माझीको भूमिकामा रहेर दुनियाँलाई संसार, संस्कार, दर्शन, आदर्श, ज्ञान, जीवनको गन्तव्य र खुशीका बाटोहरू देखाइरहेका हुन्छन् । यस लेखमा मैले महसुस गरिरहेको सकारात्मक संगठनात्मक संस्कार र भर्खरै शिक्षण पेसाबाट अवकाश लिनुभएका अमरज्योति माविका शिक्षक कुमारबहादुर ढकालसँग बिताएका चार महिनाको सिकाइ र उहाँसँगको अनुभवलाई आधार बनाएर प्रस्तुत गर्ने प्रयास गरेको छु ।

विद्यालयभित्र शिक्षकको भूमिका

विद्यालयलाई सबै प्रकारका जाति, भाषा, लिङ्ग, धर्म, समुदाय र विविध राजनीति वातावरणबाट आएका योग्य मानिसहरूको संयोजनको रूपमा पनि लिन सकिन्छ । विद्यालय विविध संस्कृति, विभिन्न पेसा व्यवसाय तथा रोजगारका साथै संस्कार बोकेका मानिसहरूका सन्तानसँगको सामूहिक व्यवहारसँग सम्बन्धित हुन्छ । त्यसैले होला शिक्षाविद् जोन डिवेले विद्यालयलाई लघुसमाजको रूपमा व्याख्या गरेका थिए । सुर्खेत जिल्लाको वीरेन्द्रनगरको नेवारेमा भएको अमरज्योति माध्यमिक विद्यालयमा भएका करिब साढे तीन हजार विद्यार्थीहरूको विविधता र करिब एकसय भन्दा बढी शिक्षकहरूको विविधतालाई समेत नियाल्ने हो भने पनि भूगोलको हिसाबले हिमाल, पहाड, तराई तथा उपत्यका, सम्बन्धको हिसाबले गाउँ र सहर, सिकाइ क्षमताको हिसाबले अब्बलदेखि औषत हुँदै कम सिकाइ क्षमता भएका विद्यार्थी, आर्थिक हिसाबले निम्नदेखि उच्च, पारिवारिक वातावरणको हिसाबले पनि विभिन्न पेसा अँगाल्ने बाबु–आमाका छोरा–छोरी रहेका छन् । त्यसैले पनि यो एउटा लघु समाज हो ।

कहिलेबाट सुरु भयो त्यो त मलाई थाहा भएन तर अमरज्योति माध्यमिक विद्यालयमा सेवा निवृत्त शिक्षक तथा कर्मचारीलाई उसको निवास्थानमा सबै शिक्षक तथा कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसहितले सम्मानका साथ पु¥याउने प्रचलन रहेछ । पछिल्लो पटक यस विद्यालयका शिक्षक कुमारबहादुर ढकाल सरले अवकास लिनुभयो । यसै अवसरमा अमरज्योतिका सबै टिचिङ र नन्टिचिङ स्टाफहरू कुमार सरको वीरेन्द्रनगर बजारमा रहेको निवासमा नै पु¥याउन पुग्नुभयो । मेरो लागि यो पहिलो अनुभव थियो । मलाई यो कुरा सकारात्मक लाग्यो । हुन त बिदाइ भन्ने कुरा भावनात्मक रूपमा त्यति सहज विषय त होइन । केही सहकर्मी साथीहरू अलि बढी भावुक हुनुहुन्थ्यो । यी सबै प्रकारका विद्यार्थीको मनोविज्ञानलाई बुझेर शिक्षण गर्ने उहाँको बानीलाई पनि विद्यालयले एक कार्यक्रममा प्रशंसा पनि ग¥यो ।

बिदाइ र घरसम्म सहकर्मीहरू पुग्नुले मनोवैज्ञानिक हिसाबले मेरो अवकाश जीवनमा पनि साथीहरू हुनेछन् भन्ने महसुस हुन्छ जस्तो लाग्छ । हुन त अवकाश हुने व्यक्तिको अनुभव त मैले सुनेको छैन । झट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसबाट थुप्रै कुरा महसुस गर्न सकिन्छ । विद्यालयको लागि पनि यसले एकातिर सामूहिकताको भावना प्रवद्र्धन गर्न सक्छ । यो एउटा शिक्षकले शिक्षकलाई नै गर्ने सम्मान पनि हुन सक्छ । अर्कोतिर यसले शिक्षकलाई पनि एक प्रकारको प्रेरणा र हौसला प्रदान हुन सक्छ । त्यति मात्र नभएर व्यक्तिलाई पनि एउटा स्मरणीय दिन बन्छ । मानिसको जीवनमा पहिलो पटक गरेका सुखद तथा दुःखद् अनुभवहरू सम्झन लायक हुन्छन् । पहिलो पटक विद्यालय गएको दिन, विद्यालय परिवर्तन गरेको दिन, विवाह गरेको दिन, विद्यालय जीवन पार गरी प्रवेशिका वा माध्यमिक शिक्षा परीक्षा पास गरेको दिन, जागिर पाएको दिन, बच्चा जन्मेको दिन, अवकाश भएको दिन मानिसले भुलेर पनि सम्झिन्छ । त्यसैले पनि राम्रो लाग्यो । यसले आत्मियता बढाउँछ । विद्यालय र शिक्षक बीचको सम्बन्ध पनि सुमधुर बनाउँछ । सेवा निवृत्त शिक्षकलाई एक राम्रो सन्दर्भ व्यक्तिको रूपमा समेत विद्यालयले उपयोग गर्न सक्ने हुन्छ । समुदायले पनि शिक्षकको सम्मान गर्ने वातावरण बनाउँछ ।

एक कुशल शिक्षक

मेरो चार महिनाको सामिप्यतामा उमेरले वयस्क भए पनि कुमार सर एक्काइसौँ शताब्दीका सबै शिक्षण कुशल सीपहरूसँग राम्रै परिचित हुनुहुन्थ्यो । उहाँ डिजिटल साक्षरतामा अब्बल हुनुहुन्थ्यो । उहाँलाई विद्यालयले सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको थियो । कुमार सरमा परिवर्तनशील शिक्षण पद्धति पनि थियो । शिक्षण पेसामा लामो समयसम्म सफलतापूर्वक व्यतित गरेको हुनाले शिक्षण पेसाप्रति सकारात्मक प्रभाव रहेको थियो । सिकाइलाई रमाइलो बनाएर शिक्षण फलदायी बनाउनमा पनि सरको कम भूमिका थिएन ।

कुमार सरको बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले निष्पक्ष व्यवहार, सेवाभाव, स्पष्ट वक्ता, सहयोगी भावनाले ओतप्रोत, विनयीशील व्यवहारको धनी, कुसल सम्बन्ध स्थापित गर्न सक्ने शिक्षक, समुदायको भावनाको कदर गर्ने एक असल शिक्षक, विद्यार्थीका लागि एक कुशल मार्गनिर्देशक एवम् पथप्रदर्शक व्यक्तित्व, प्रेरणाका स्रोतको रूपमा चर्चा गरिरहँदा सबै असल शिक्षकको सूचीमा उहाँ निश्चय पनि हुनुहुन्थ्यो । विद्यालयलाई साझा सम्पत्तिको रूपमा लिने र संरक्षणको दायित्वप्रति पनि कुमार सर सचेत हुनुहुन्थ्यो । कक्षाकोठाकै कुरा गर्ने भने पनि एउटा शिक्षकले विद्यार्थीसँग असल, नम्र व्यवहार गर्नुपर्ने हुन्छ । विद्यार्थीको उमेर अनुसार फरक–फरक व्यवहार पनि गर्नुपर्ने हुन्छ । पाठयोजना र उद्देश्य पनि एउटा शिक्षकको एक दिनको कक्षाको लागि त्यत्तिकै महŒवपूर्ण हुन्छ । यसैगरी कक्षाकोठाको वातावरणलाई शान्त र फलदायी बनाउन विद्यार्थीको अन्तरसंवादलाई प्रभावकारी बनाउनु पर्ने हुन्छ । शिक्षकको लगनशीलता र निष्ठाले पनि विद्यार्थीको भविष्य निर्माणमा थप टेवा पुगेको हुन्छ । विषयवस्तुको गहिराइमा पुग्नु अघि विद्यार्थीलाई मौखिक प्रश्नहरू पनि सोध्नुपर्ने हुन्छ । जसले विद्यार्थीले बुझ्नको लागि सतह निर्माण गर्न सक्छ । सकारात्मक सोचका साथ विद्यार्थीहरूलाई प्रतिस्पर्धा गराउनु सान्दर्भिक हुन्छ । कक्षाकोठामा भएका विद्यार्थीहरूलाई उनीहरूको नामसहित आर्थिक, सामाजिक अवस्थासहित ठेगाना पहिचान गरेमा पनि यसले शिक्षण सहज बनाउँछ । कक्षामा विद्यार्थीको भूमिकामा सकेसम्म समान अवसर प्रदान गर्नुपर्ने हुन्छ । विद्यार्थीलाई बोल्न सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने वातावरण बनाउनु पर्ने हुन्छ । कमजोर विद्यार्थीहरूलाई उनीहरूको कमजोरी हटाउन र उनीहरूलाई बलियो बनाउन सहयोग गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूलाई सधैं स्नेही व्यवहार गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूलाई आफ्ना दृष्टिकोण राख्न र विचार व्यक्त गर्न स्वतन्त्रता दिन्छन् त्यस्ता शिक्षक असल मानिन्छन् । यी सबै कुराहरूमा कुमार सर सक्षम मानिनुहुन्थ्यो ।

यति मात्र होइन एउटा असल शिक्षकमा विषयवस्तुको गहिरो ज्ञान तथा सीप, सिकाइ प्रविधिका आधारमा सिकाइमा निपूर्णता, बालमनोविज्ञानका आधारमा शिक्षण क्रियाकलाप अपनाउन सक्नु, आफ्नो पेसा र कार्यमा उत्तरदायित्व बहन गर्न सक्नु, जिज्ञासु स्वभाव, विषयवस्तुमा अनुसन्धान, खोज तथा प्रयोग गर्न सफल हुनु, सिकाइ प्रविधिको अनुकरण गर्न अग्रसर हुनु सकारात्मक कुराहरू हुन् । शिक्षण पेसाको अगुवा शिक्षकको रूपमा लिएको थियो अमरज्योतिले । शिक्षक एउटा आदर्शवान पद हो भन्ने कुरालाई एउटा शिक्षकले राम्रोसँग बुझ्नुपर्ने हुन्छ । शिक्षकले शिक्षणमा त्रिकोणात्मक सम्बन्ध राखेको हुनुपर्छ । जसमा पाठ्यक्रम, विद्यार्थी र पाठ्यपुस्तक लगायतका सामग्रीहरू रहेका हुन्छन् । आजका दिनमा गुणस्तरीय शिक्षाका सम्पूर्ण पक्षको सुधार गर्ने जिम्मा शिक्षकमा रहेको छ । सबैलाई शैक्षिक रूपले सफल बनाउने, सबैको मापनयोग्य सीप वा जीवनोपयोगी सीपको विकास गराउने संगठन विद्यालय नै हो । शिक्षक हो । यो कुरामा कुमार सरको राम्रै दख्खल थियो ।

अमरज्योतिमा धेरै शिक्षकहरूले अभिभावकको भूमिका पनि खेलेको पाइन्छ । विद्यार्थीका कमजोर पक्ष केलाएर होइन, सबल पक्ष देखाएर हौसला प्रदान गरेको पाइन्छ । धेरै शिक्षकहरू आजको माग अनुसार नै डिजिटल साक्षरतासँग पनि परिचित देखिन्छ । केही शिक्षकहरू ब्रिटिस काउन्सिल र सरकारबाट पुरस्कृत भएका छन् । शिक्षकहरूमा कुण्ठित र उदासिन भावना पनि पटक्कै छैन । शिक्षकहरूमा पठन संस्कृतिको राम्रो विकास भएको देखिन्छ । प्रत्येक दिन नयाँ र समसामयिक विषयहरूमा छलफल, बहस र समय सदुपयोगको विषयवस्तु बन्छ । यसरी सकारात्मक विद्यालय रहेको विद्यालयमा कुमार सर जत्तिको सिर्जनशील व्यक्तिको प्रेरणा पनि निश्चय हो र अवश्य पनि आगामी दिनहरूमा विद्यालयप्रति सेवा निवृत्त जीवनमा पनि सिर्जनशील व्यवहारको अपेक्षा गर्छ जस्तो लाग्छ ।

उपसंहार

नदीको सङ्लो पानी जस्तो कुनै पनि प्रकारको आर्थिक अनुशासनहिनता, घुसखोरी, ढिलासुस्ती नगरी मिनेट र सेकेण्डको हिसाब समेत ख्याल गरी विद्यार्थीको भविष्यप्रति सजग हुने आदर्श, नैतिकवान् र सदाचारी पेसा शिक्षण पेसा हो । यो पेसाबाट अवकाश भएपछि पनि कहिल्यै झिरिन् झिरिन् र डरमा बाँच्नु पर्दैन । यसरी विद्यालयप्रति सकारात्मक भावना, योगदान प्रदान गर्नुहुने कुमार सरप्रति अमरज्योति माध्यमिक विद्यालय परिवारले आगामी सेवा निवृत्त जीवनको सुख, शान्ति र सुस्वाथ्यको कामनासहित हार्दिक शुभकामना गर्दछ । अमरज्योतिले यो संस्कारलाई जीवित बनाइरहोस् । मेरो पनि कुमार सरलाई आगामी दिनहरूको शुभकामना ।

(लेखक अमरज्योति नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   २ माघ २०७६, बिहीबार ०८:५९