ढाकाको कपडा बुनेर आय–आर्जन
सुर्खेत : वीरेन्द्रनगर–९ सुुर्खेतका कमला चौधरीले ढाकाको कपडा बुुन्न थालेको तीन वर्षभन्दा बढी भयो । यही सीप नै उनको आम्दानीको प्रमुख स्रोत बनेको छ । ढाकाको कपडा बुुनेर मासिक १२ हजार रूपैयाँ आम्दानी गरिरहेको चौधरीले बताइन् । कमला आफू मात्र आत्मनिर्भर भएकी छैनन्, गाउँ–गाउँमा पुगेर अन्य महिलाहरूलाई ढाकाका कपडा बुन्ने तालिम समेत दिन्छिन् । तालिम पनि उनको आम्दानीको अर्को स्रोत हो । आम्दानीको स्रोत अरु केही नभएपछि कमलाले ढाकाको कपडा बुुन्ने तालिम लिएर विगत तीन वर्षदेखि यसैलाई पेशा बनाएकी हुन् । सीप सिकेर आफूले केही गरेपछि घरखर्च चलाउन र आफ्नो व्यक्तिगत खर्चका लागि समेत परिवारका सदस्यसँग हात थाप्नुु पर्ने बाध्यता नहुुने कमलाको भनाइ छ ।
यस्तै वीरेन्द्रनगर–१० की मिनाकुमारी थापाले पनि ढाकाको कपडा बुुन्न थालेको नौं महिना भयो । सिलाईकटाईको काम गर्दै आएकी उनलाई अहिले यो पेशा गतिलो आम्दानीको स्रोत बनिरहेको छ । ढाकाको कपडा बुुनेर नै घर खर्च धानिरहेकी छिन् । दुुई छोराछोरीको लालनपालन र पढाई खर्च यसैबाट चलेको छ । घरमै पनि ढाकाको कपडा बुन्ने तान राखेकी छिन् । फुर्सदको समयमा उनी त्यसैमा लागि हाल्छिन् । शनिवार बाहेक दिउँसको समयमा भने ढाका उद्योगमा काम गर्न पुगिन्छन् । ‘आफ्नो कमाई भयो भने अरुसँग सानोतिनो खर्च व्यवस्थापनका लागि पनि हात थाप्नुु पर्दैन’ उनले भनिन्, ‘छोराछोरीलाई पढाउने, सबै खर्च व्यवस्थापन गर्ने यसैबाट धानेको छुु ।’ थापाले काम गर्ने ढाका उद्योेगमा ११ जना महिलाले नियमित रूपमा काम गर्दै आएका छन् ।
विगतमा घरायसी काममा सीमित यहाँका महिलाहरू अहिले बिहान–साँझ घरको काम सकेर दिउँसको समयमा ढाका उद्योगमा व्यस्त हुन्छन् । यसले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भरतर्फ डो¥याएको मात्र छैन, केही गर्न सकिन्छ भन्ने आत्मविश्वास र परिवारको आर्थिक अवस्था सुधार्न सहयोग पनि भएको छ । महिलाहरूले ढाकाका सारी, चोला, टोपि, गलवन्दी, कुर्तासुरुवाल, रुमाल लगायतका कपडा बुन्ने गरेका छन् । घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने भएकाले महिलाहरू यसतर्फ आर्कषित भएका हुुन् । पछिल्लो समय विभिन्न संघ–संस्थाहरूले तालिम दिन थालेपछि महिलाहरू ढाकाका कपडा बुुनाइमा अझै आर्कषित भएका छन् ।
लेकवेशी नगरपालिकाकी कौशिला पुुनले सानोतिनो खर्चका लागि परिवारका सदस्यसँग हात थाप्नुुपर्ने बाध्यता हटेको बताइन् । तीन वर्षदेखि ढाकाको कपडा बुन्दै आएकी उनले पनि अहिले अन्य महिलाहरूलाई तालिम समेत दिन्छिन् । ढाका उद्योगमा काम गर्नुका साथै घरमै पनि तान राखेर कपडा बुुन्ने गरेको उनले बताइन् ।
महिलाहरू ढाकाका कपडा बुुनाईमा आर्कषित भए पनि सोही अनुसारको बजार व्यवस्थापन भने गर्न सकेका छैनन् । आफूहरूले ढाकाका कपडा उत्पादन गरे पनि बजारीकणमा सरकारले सहयोग गरीदिएको भए आफूहरूको आम्दानीमा वृद्धि हुुने वीरेन्द्रनगरका हिमा थापाले बताइन् । ‘अहिलेसम्म हामीले उत्पादन गरेर स्थानीय बजारमा नै हो बिक्री गर्ने । स्थानीय बाहेक बाहिर हाम्रो पहुँच पुुग्दैन’ उनले भनिन्, ‘बजारीकरणमा सरकारले सहयोग गरिदिएको भए हामीले अझै राम्रो आम्दानी गर्न सक्थ्यौँ ।’
साझा बिसौनी ।