माघी पर्वमा सार्वजनिक विदा
सुर्खेत : आज (बुधवार) माघ १ गते अर्थात माघी पर्व । कर्णाली प्रदेश सरकारले माघी पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले माघी पर्वको अवसरमा विदा दिइएको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको गत कार्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा विदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक विदा हुनेगरी सूचना प्रकाशन गरिएको प्रवक्ता खड्काले जनाए ।
मन्त्रिपरिषद् बैठकले भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे संक्रान्ति, साउन १ गते साउने संक्रान्ति र देउडा पर्व तथा भोट ल्होेसार र बकर इदको अवसरमा विदा दिने निर्णय गरेको थियो । माघी पर्व आज विशेष गरी थारु र मगर समुदायले धुमधामका साथ मनाउँछन् । प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरी गरिने कामको विषयमा छलफल र बाँडफाँड गर्ने गरिन्छ । आजको दिन विभिन्न किसिमका परिकार बनाइ आफ्ना दिदीबहिनीलाई कोसेली दिने चलन रहेको छ । कोसेलीमा चामल, नुन, दाल, ढिक्री, अनदीको भात, माछा, मासु, लत्ताकपडालगायतका सामान रहेको हुन्छ । विवाह भएर गएका दिदीबहिनीलाई घरमा बोलाउने, घरमा आउन नसकेको अवस्थामा बहिनीकै घरमा गएर सो कोसेली सँग–सँगै आफूले सक्ने जति दक्षिणा दिने गरिन्छ ।
प्रकाशित मितिः १ माघ २०७६, बुधबार ०९:२८
साझा बिसौनी ।