माघ, माघी र थारु समुदाय

                                     मानबहादुर चौधरी ‘पन्ना’

माघ लहैली सुरिक सिकार खै्रैली रे हाँ,
सखिए हो, माघक पिलि गुरी गुरी जार………

यो गीत थारु गाउँबस्ती चारैतिर गुञ्जिरहेको छ । यो थारुहरूको मघौटा गीत हो । थारु समुदायमा विशेष गरेर माघ सम्बन्धी मघौटा, ढमार, डफ, ढुमरु गीत गाइने गरिन्छ । विगत केही वर्ष अगाडि गाउँघरमा मुखाग्र घन्किने यस्ता गीतहरूले आजभोलि सामाजिक सञ्जाल यूट्यूब, मञ्चहरूमा तात्तिएको छ । यसैले यसको महत्व बढ्दै गइरहेको अनुभूत गर्न सकिन्छ ।

कुनै पनि जाति समुदाय कति बलियो, सु–संस्कृत, मौलिकपन, सभ्य, चम्पन र सशक्त छ भन्ने कुरा त्यो जातिको लोक साहित्य, संस्कृति, चाडपर्व, कति छन् भन्ने एक सूचक मानिन्छ । थारु जातिको आफ्नै भाषा, संस्कृति, कला, साहित्य, सामाजिक रहनसहन, भेषभूषा, मूल्य मान्यता, लवाइ–खवाइ, नाचगान, पूजापाठ, देवीदेवता आदि रहेका छन् । थारु समुदायमा मौसम र समय अनुसार चाडपर्व मनाउने फरक–फरक नाचगान गर्ने चलन छ । त्यस्तै थारुहरूको मौलिक पहिचान बोकेको महान राष्ट्रिय पर्व माघ पर्व हो । यस पर्वलाई स्थान विशेष माघ, माघे सक्रान्ति, पूर्वमा तिला संक्राइन्त, रूपन्देही, चितवनतिर खिचडी पर्व आदि नामले चिनिन्छ । माघ पर्व भनेर दाङदेखि पश्चिमी क्षेत्र पश्चिमा थारुहरूले मनाउने माघ पर्व नै हो । हाल यो पर्व पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नयाँ वर्ष उन्मुक्ति दिवस एवम् सद्भावको रूपमा मनाउने साझा पर्व हो ।

वर्तमान समयमा थारु संवत्को पनि चर्चामा आएको छ । नयाँ वर्षको रूपमा मनाउने माघ पर्व यो वर्षको थारु संवत् २६४३ भन्ने उल्लेख गरिएको छ । आज माघ १ गते देशकै विभिन्न स्थान लगायत काठमाडौंको टुँडीखेल लगायत यो पर्वको उत्सवले देश नै माघीमय बनेको छ । आजकै दिनदेखि सूर्य दक्षिणायनबाट उत्तरायन हुँदै दिन लामो र रात छोटो हुने, मौसममा पनि परिवर्तन हुने, न्यानो पनि बढ्दै जाने गर्दछ । माघ वा माघी पर्व के हो त ? भन्ने सवालमा अहिले थारुहरूको बौद्धिक वर्गमा बहसको विषय बनेको छ । सामाजिक सञ्जाल, मिडिया एवम् विभिन्न कार्यक्रममा समेत माघ पर्व कि माघी पर्व भन्ने जुहारी चलेको छ । खासमा थारुहरू माघ पर्व मनाउँछन् । माघी पर्व नेपालीकरण गरिएको ठहर गरिएको छ । जस्तैः बरघर शब्दलाई बडघर लेखिनु भाषाप्रतिको अतिक्रमण भइरहेको चिन्तन उठ्नु स्वभाविक हो । भाषाको नियम जटिलबाट सरलतिर उन्मुख हुन्छ । समयको परिवर्तनसँगै परिवर्तन हुनुमा थारु साहित्यकर्मी, भाषाविद्हरू अल्मलिनु हुँदैन । कमीकमजोरी सुधारिनु पर्छ । वास्तवमा माघ पर्व नै थारुहरूको मौलिक नाम हो भने माघको दोस्रो दिनलाई माघी दिवानी भनिन्छ । त्यसैले यो विषयमा थारु लेखक, अनुसन्धानकर्ता सबै सचेत हुनुपर्छ ।

माघ पर्वको ठूलो सामाजिक महत्व छ । यस पर्वले थारु जातिमा रमाइलो र रमझम मात्र दिएर जाँदैन, बरु यस पर्वले थारु जातिमा आपसी मेलमिलाप, सद्भाव, मानमर्यादा, सेवा सत्कार, आदर सम्मान, नैतिक पाठहरू सिकाएर जाने गर्दछ । खासगरी माघ पर्व पुसको २७ गतेदेखि माघको पहिलो हप्तासम्म विभिन्न रूपमा मनाउने गरिन्छ । जुुन माघ १ गतेलाई प्रमुख रूपमा लिइन्छ । तिथिअनुसार यो दिन मकर सक्रान्ति पर्दछ । यस दिन कुनै पनि बली चढाउने वा काटमार गर्न हुँदैन भन्ने सामाजिक मान्यता भएकोले थारुहरू पुसको २७ गते माछा मार्ने, २८ गते पिठो पिस्ने र अन्तिम दिन जिता मारेर (सुँगुर वा बुङ्गुर काट्ने) अन्य सामग्रीहरूको ठीकठाक पारिसकेका हुन्छन् ।

विशेषतः यो पर्व मनाउनका लागि कम्तीमा एक महिनादेखि तयारी गर्ने प्रचलन रहीआए पनि हाल वर्तमान समयमा यसमा परिवर्तन भएको देखिन्छ । संस्कृति वैज्ञानिक सापेक्षतामा अघि बढ्नु पर्छ । हिजोको माटाको घरको ठाउँमा ढलान घर, गुँदरी, पिर्काको स्थानमा कुर्सी, दाउराको चुलोको स्थानमा ग्यास आदि परिवर्तन भए जस्तै माघ पर्व तयारी र मनाउने कुरामा केही परिवर्तन आएको छ । पहिले जस्तै जाँडरक्सी, काठ दाउराको व्यवस्था, वनबाट पात टिपेर ल्याइ दुना टपरी गाँस्ने, तोरीको तेल पेल्ने, खोलामा माछा मार्ने आदि कुराहरूमा अहिले आएर विस्तारै परिवर्तन भएको देखिन्छ । यसो हुनुमा वर्तमान समयमा थारु समुदाय पनि विभिन्न पेशा व्यवसाय, रोजगार आदिमा संलग्न हुनुले पनि हो ।

चाडपर्वलाई समय सान्दर्भिक बनाउँदै लैजानु नयाँपुस्ताको दायित्व र कर्तव्य हो । आजका थारु युवा पिँढीमा भाषा साहित्य, कला, संस्कृति, रहनसहनप्रति चासो र चिन्तन गरिएको पाइदैन । युवा पुस्तालाई थारु चाडपर्व, संस्कृतिबारे कुरा बुझाउन नसक्नु, युवा पिंढीले आफ्नो संस्कृतिप्रति बेवास्ता गर्नु, राज्य पनि थारुहरूको संस्कृतिप्रति उदासिन हुनुले माघ पर्व लगायत थारुहरूको हरेक संस्कृति संरक्षणमा गम्भीर चुनौती थपिदिएको छ । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।

नयाँ पुस्ता र पुराना पूर्खाहरूको आ–आफ्ना मूल्य मान्यता हुन्छन् । यद्यपि चाडपर्वको मौलिकपनलाई छोड्नु हुँदैन जुन कुराले हाम्रो अस्तित्व, प्रतिष्ठा र पहिचानसँग गाँसिएको हुन्छ । माघको सुरुवातीमा पुसको अन्तिम दिन जिता मर्ना (सुँगुर काट्ने) त्यो दिन माघक टिप्पा चाख्ने निहुँमा अनदिको झोल र सुँगरको मासु खाने र साँझ बरघरको घरमा जम्मा भइ ढुमरु गीत गाउने, डफ बाजा बजाएर ढमार गाउने चलन छ । रातभरी मघौटा, झुमरा, छोक्रा नाचले गाउँमा रौनकता दिन्छ । बिहान भाले बासेको पहिलो प्रहरसँगै माघ १ गते नयाँ वर्ष सुरु भएको मानिन्छ । बिहान घरका साना–ठूला पुरुषहरू सबैजना तामाका सिक्का लिएर सकेसम्म नदीको दोभानमा बाजागाजासहित नुहाउन जाने गरिन्छ । नजिकको कुवा, घाट, खोलामा नुहाउने र नुहाइसकेपछि एउटा लोहोटा, केही सिक्का पैसा, फूल, अक्षता र जल राखी नदी घाटमै पूजापाठ गरी चामलको सेतो टीका लगाएर घर फर्किन्छन् । घरमा निस्राउको सरसामा तयार पारिएको हुन्छ । निस्राउ भन्नाले ३ वटा ढकियाँका छुट्टाछुट्टै नुन, मास, चामल राखिएको हुन्छ । घरका दाजुभाइले दुवै हातले अञ्जुली भरी ३ पटक निकालेर छुट्याइन्छ र पछि आफ्ना दिदी–बहिनीहरूलाई उपहारस्वरूप दिने चलन छ । यसले दाजुभाइ र दिदी–बहिनीबीचको आत्मीयताले सम्बन्ध प्रगाढ जीवन्त बनाउँदछ । माघ १ गते बिहानै घरमा ढोग स्यावा लाग्ने र विभिन्न परिकार अनदिको झोल, ढिक्री, माछामासु, रोटी, तिलको लड्डु, तरुल, सखरखण्ड, अनदिको उसनेको भात, खिचडी आदि खाने गाउँका ठूलाबडा मान्यजनसँग ढोग गर्दै आशिर्वाद लिने गरिन्छ ।

माघको दोस्रो दिन माघी दिवानीमा दाजुभाइले दिदी–बहिनीलाई निस्राउ पु¥याउन जाने, घरमा गधुरिया छान्ने, घरमा कसको बिहे गर्ने, साहुमहाजन कोसँग व्यवहार गर्ने, घर छुट्टिने नछुट्टिने, घरको लेनदेन, आगामी वर्षको योजना बनाउने जस्ता थुप्रै समसामयिक विषयमा छलफल गरि टुङ्गो लगाइन्छ । तल्कालीन समयमा वर्षभरि गरिने यस्ता कुराहरूको सुरुमै व्यवस्थापन गर्ने थारुहरूको यो चलन अहिले पनि उत्तिकै सान्दर्भिक छ । कुनै पनि कार्य अपर्झट निर्णय गर्नुभन्दा पहिले नै योजना बनाउनु बुद्धिमानी कार्य हो । विशेषतः माघको तेश्रो दिनदेखि सातौँ दिनसम्म गाउँघरको सामूहिक कामकाज साझा विषयमा छिनोफानो लगाउने गरिन्छ । गाउँको बरघर छान्ने, कुलोपैनी बनाउने, बेठ बेगारी, देउथान भुइह्यार, गुरुवा छान्ने छारा गर्ने कि नगर्ने जस्ता विषयवस्तुमा गाउँकै भेला (बखेरी) बाट टुङ्गो लगाउनुले थारुहरू सदियौँदेखि प्रजातान्त्रिक अभ्यास गर्दै आएको पुष्टि हुन्छ । हाल वर्तमान संघीय व्यवस्थामा समेत यस्ता लोभ लाग्दा समाज सुधार गर्ने परम्परागत बरघर प्रणालीले कानुनी मान्यता नपाउदा यस प्रचलनको प्राय लोप हुँदै गइरहेको छ । युवा पुस्ताहरू अन्य जातिको प्रभावले चाडवाड संस्कृति मनाउने जस्तो कुराहरू औपचाकितामै सीमित गर्नु , थारुहरूको महान पर्वमा समेत राज्यले गम्भीर नहुनु,थारु कर्मचारीलाई बिदा नदिनुुले पर्व मनाउन पनि समस्या निम्तिरहेको छ । प्रदेश नं ५ ले थारु कर्मचारीलाई दुई दिन बिदा दिनुले सकारात्मक रूपमा लिनु पर्दछ । कर्णाली प्रदेशले पनि अल्पसंख्यक रूपमा रहेका सुर्खेतका थारुहरूप्रति न्यायिक व्यवहार गर्नु जरुरी छ ।

यसरी माघ पर्वको महत्व थारु समुदायमा ज्यादै नै रहेको छ । यो पर्व सांस्कृतिक दृष्टिकोणले समेत उत्तिकै महत्वपूर्ण छ । आ–आफ्ना उमेर समूहको झुण्ड बनाइ नाचगान गर्ने, सबैलाई एक सूत्रमा बाँध्ने, सामाजिक सद्भाव, सहिष्णुता, समझदारीको विकास गराउनुको साथै सक्षम नेतृत्व छान्ने, आफ्नो गाउँघरको पूर्वाधारको योजना बनाउने जस्ता महत्वपूर्ण कार्यले यस पर्वको गरिमा महत्व कम नभएको पुष्टी हुन्छ ।

प्रकाशित मितिः   १ माघ २०७६, बुधबार ०९:२३