उत्कृष्ट परीक्षा केन्द्रलाई पुरस्कृत गरिने

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ चैत ।
भोलि (बिहीवार) बाट सुरु हुन लागेको यसवर्षको एसएलसी परीक्षाको सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालयले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कार्यालयका अनुसार जिल्लाका सबै ३० वटै परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका छन् ।
परीक्षाको तयारी सम्बन्धमा जानकारी दिन मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षालाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि कार्यालयले सबैसँग आग्रह गरेको छ । यस्तै कार्यालयले यसवर्षबाट जिल्लामा उत्कृष्ट परीक्षा केन्द्रलाई पुरस्कृत गर्ने भएको छ । परीक्षाको मर्यादाविपरित क्रियाकलाप भएमा केन्द्राध्यक्षलाई कालोसूचीमा राख्ने तयारी शिक्षा कार्यालयले गरेको छ ।
जिल्ला शिक्षा अधिकारी दीपा हमालले यसवर्षको परीक्षामा मर्यादित र शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न गर्ने परीक्षा केन्द्रलाई कार्यालयले पुरस्कृत गर्ने बताइन् । उनले भनिन्, ‘राम्रो काम गर्नेलाई सम्मान गर्नेछौं, यदि परीक्षामा अमर्यादित क्रियाकलाप गरेको पाइएमा त्यस्ता केन्द्राध्यक्षहरूलाई कालोसूचीमा राखिनेछ । उनीहरूले अर्को पटकबाट जिम्मेवारी पाउने छैनन् ।’ उत्कृष्ट केन्द्रका लागि विभिन्न मापदण्डहरू बनाइएको भन्दै उनले परीक्षालाई भयरहित बनाउन समेत सबैसँग आग्रह गरिन् । कार्यालयका अनुसार यसपाली सुर्खेतबाट नियमिततर्फ ६ हजार नौ सय ९६ र आंशिकतर्फ चार हजार ३१ गरी जम्मा ११ हजार २७ जना विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन् । हाजिर नपुगेका र राजस्व नबुझाएका कारण दुई सय ६८ जनाले परीक्षा दिन नपाउने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई जना विद्यार्थीले कारागारबाटै परीक्षा दिन लागेका छन् । सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेलले परीक्षा सम्पन्न गर्नका लागि जिल्लामा एक हजार दुई सय ८३ जना कर्मचारी खटाइएको जानकारी दिए । 
उनका अनुसार परीक्षाका लागि जिल्लामा २८ लाख १६ हजार दुई सय ५० रूपैयाँ खर्च हुनेछ । पत्रकार सम्मेलनमा कार्यालयले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउनका लागि सहयोग गर्न सबैसँग आग्रह समेत गरेको छ । 
प्रकाशित मितिः   १७ चैत्र २०७२, बुधबार ०७:२३