प्रहरी लगाएर भत्काउँदा पनि महिलाहरू छाउगोठमै

भन्छन्, ‘महिनावारी भएकी महिला घरमा बसे देउता कहाँ बस्ने ?’

सीता वली,
सुर्खत : प्रहरी लगाएर छाउगोठ भत्काउने अभियान सुर्खेतमा प्रभावकारी हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा प्रहरी र स्थानीय जनप्रतिनिधिहरू सहभागी टोलीले गाउँ–गाउँ पुगेर छाउगोठ भत्काए पनि महिनावारी र सुत्केरी भएका महिलाहरू घर बाहिर बस्न भने छोडेका छैनन् । पश्चिम सुर्खेतमा छाउगोठ भत्काउने अभियान चलिरहँदा कस्तोसम्म भइरहेको छ भने सरकारी टोली छाउगोठ भत्काउँदै अघि–अघि हिँडिरहेको छ भने नागरिकहरूले पछि–पछि भत्काइएका छाउगोठ मर्मत सुधार गरेर त्यसमै बसिरहेका छन् । गोठ नै भत्काएर सम्झाउँदा पनि नागरिकहरू घरभित्र बस्न नमानेपछि प्रशासनका कर्मचारी समेत हैरान भएका छन् । प्रहरी प्रशासनले छाउगोठ भत्काए पनि नागरिकहरूको मनमा बसेको डर भत्किन सकेको छैन । जसले गर्दा छिट्फुट रूपमा केही महिलाहरू घरभित्र बस्न थालेपछि अधिकांश महिलाहरू भने घरबाहिरै बसिरहेको पाइएको छ । देउताले आँगनमा टेक्न दिदैन भन्दै महिनावारी भएका महिलाहरू भत्काइएका छाउगोठ पुनर्निर्माण गरी बस्दै आएका हुन् ।

महिनावारी भएकी महिला घरमा बसे देउता कहाँ बस्ने भन्दै उनीहरू भत्काइएका छाउगोठहरू पुनर्निर्माण गरी बस्ने गरेको चौकुने गाउँपालिका वडा नं. ५ सुर्खेतकी स्वास्थ्य स्वयम्सेविका देवकी चलाउनेले बताइन् । उनले आफूहरू छाउगोठ भत्काउने अभियानमा हिँडेकै बेलामा महिलाहरूले भत्काइएका गोठहरू पुनर्निर्माण गरी बस्ने गरेको बताइन् । ‘कोही भत्काइएका गोठ मर्मत गरेर बसेका छन्, कोही भने पाल टाँडेर बाहिरै बसिरहेका छन्’ चलाउनेले साझा बिसौनीसँग भनिन्, ‘कतिपय दिदी–बहिनीहरू गाईगोरुको गोठमा समेत बस्ने गरेका छन् ।’ छाउपडी प्रथाका कट्टर समर्थकहरूले छाउगोठ भत्काउन पुगेको टोलीसँग झगडा नै गर्ने गरेका छन् । चलाउनेले भनिन् ‘हामीहरू अभियानमा हिँडेको बेलामा धेरै दिदी–बहिनीहरूसँग हात हालाहालको स्थिति पनि सिर्जना भएको छ ।’

महिलाहरू चिसोको कारणले बिरामी परे पनि देउता रिसाएको कारण बिरामी परेको भन्दै घरभित्र पस्न नमानेको उनले जानकारी दिइन् । ‘कोही महिलाहरू देउता आएको भन्दै काम्दै हिँड्नु भएको छ’ उनले थपिन् ‘मानसिक रूपमा नै स्थानीयहरू छाउगोठ भत्काउने तयारीमा हुनुहुन्न ।’ सरकारले भौतिक संरचना भत्काउने मात्रै नभइ मनैदेखि छाउ मानसिकता भत्काउने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव चलाउनेको छ । गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका चौकुने निवासी हरिप्रसाद अधिकारीले अभियान सफल बनाउनको लागि संरचना मात्रै नभइ मानसिकताबाटै छाउगोठ भत्काउने गरी कार्यक्रम ल्याउनुपर्ने बताए । ‘इतिहासदेखि छाउप्रथा कसरी मान्न थालियो भन्ने घटनाक्रमलाई जोडेर टोल–टोलमा जानकारी दिनुपर्छ’, उनले भने ‘सदियौंदेखि जकडिएर बसेको प्रथा संरचना भत्काउँदैमा कसरी उन्मूलन हुन्छ ?’ सरकारले सञ्चालन गरेको अभियान एकदमै राम्रो भएको र सँगसँगै गैरसरकारी निकायहरूसँग समन्वय गरी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनले बताए । सडक नाटक, भिडियो डकुमेन्ट्री, विभिन्न पोष्टर पम्प्लेटहरू विद्यालय लगायतका सार्वजनिक स्थलहरूमा व्यापक प्रचार गरियो भने अभियान प्रभावकारी हुने अधिकारीको सुझाव छ । ‘यो अभियान जसरी पनि प्रभावकारी बनाउनै पर्छ’ उनले थपे ‘तर भौतिक संरचना मात्रै भत्काउँदै हिँडेर अभियान कदापी सफल हुँदैन ।’

उता जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले घर बाहिर बस्दा असुरक्षित हुने र घरमा मात्रै सुरक्षित हुने भएकाले छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार सुर्खेत जिल्लाका बराहताल, पञ्चपुरी र चौकुने गरी तीन स्थानीय तहमा हालसम्म सात सय बढी छाउगोठहरू भत्काइएको छ । अझै पनि केही छाउगोठहरू भत्काउन बाँकी नै रहेको खड्काले बताए । उनले महिनावारी वा सुत्केरी भएका महिलाहरूलाई जसरी पनि घरभित्र ल्याउनु अभियानको मुख्य उद्देश्य भएको भन्दै यसमा साथ दिन सबैलाई आग्रह गरे ।

प्रकाशित मितिः   २९ पुष २०७६, मंगलवार ०९:०८