साउन २२ को सम्झना : जब सुर्खेतबासी सडकमा उत्रिए

aandolanबिसौनी संवाददाता
सुर्खेत, २१ साउन ।
आज साउन २२ अर्थात् ‘अखण्ड मध्यपश्चिम’ को माग गर्दै सुर्खेतसहित भेरी र कर्णालीका जनता सडकमा उत्रिएको पहिलो दिन । सुदूरपश्चिमसँग गाभिएको मध्यपश्चिमका १० जिल्लालाई छुट्याएर छुट्टै प्रदेश बनाउनका लागि आजकै दिन सुर्खेतबाट आन्दोलनको सुरुवात भएको थियो । दुई सातासम्म चलेको उक्त आन्दोलनले ६ वटा प्रदेश निर्माण गर्ने सहमति गरेका मुलुकका शीर्ष राजनीतिक दलहरूलाई सात वटा प्रदेश बनाउन बाध्य पारेको थियो । उक्त आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।
यहाँका केही प्राध्यापक तथा विद्यार्थीहरूको सक्रियतामा नागरिकस्तरबाट अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन सङ्घर्ष समिति गठन गरी आन्दोलन गत साउन २२ गते आन्दोलनको सुरु भएको थियो । समितिले पहिलो दिन वीरेन्द्रनगरमा शान्तिपूर्ण ¥याली निकाल्यो । त्यस दिन ¥यालीमा करिब ५० जनाको मात्र सहभागिता रहेको थियो । त्यसको भोलिपल्टदेखि भने सयौं हुँदै हजारौं नागरिकमा सडकमा उत्रिएका थिए । सोही आन्दोलनमा तीन जनाले ज्यान गुमाए भए थुप्रै घाइते भए । आन्दोलनकारीले सरकारी कार्यालयदेखि राजनीतिक दलका कार्यालयमा समेत तोडफोड गरेका
थिए । उक्त आन्दोलन सङ्घर्ष समितिका अध्यक्ष रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपप्राध्यापक तेजविक्रम बस्नेत उक्त दिनको सम्झना गर्दै भन्छन्, ‘पहिलेदेखि नै पिछडिएको मध्यपश्चिमलाई मुलुक सङ्घीयतामा जाँदा पनि परनिर्भर बनाउने गरी जसरी सुदूरपश्चिममा लगेर गाभिएको थियो त्यसले यहाँका नागरिक आक्रोशित भएका थिए । हामीले आन्दोलनको सुरु गरेपछि आक्रोशित जनता आफै सडकमा उर्लिए र आन्दोलनले सार्थकता पनि पायो ।’ अधिकार सम्पन्न मध्यपश्चिम बनाउनुपर्नेमा टुक्र्याएर झन् पछाडि धकेल्ने षड्यन्त्र विरुद्ध मध्यपश्चिमवासी जागरुक भएर सडकमा उत्रिएको दिनको रूपमा उनले साउन २२ लाई सम्झना गरे । ‘अखण्ड मध्यपश्चिमको माग पूर्ण रूपमा पूरा हुन नसके पनि हामीले छुट्टै प्रदेश प्राप्त गर्न सफल भयौं त्यो नै आन्दोलनको सफलता हो’ उनले भने, ‘अब सुर्खेतलाई यो प्रदेशको राजधानीको रूपमा ग्यारेण्टी गर्न जरुरी छ, त्यो यस क्षेत्रका जनताका माग पनि हो ।’
सुर्खेतबाट सुरु भएको अखण्ड मध्यपश्चिमको आन्दोलन त्यसपछि भने अन्य जिल्लाहरूमा पनि फैलिएको थियो । जुम्ला, जाजरकोट, रुकुम लगायतका जिल्लाहरूमा पनि अखण्ड मध्यपश्चिमको माग गर्दै नागरिकहरू सडकमा उत्रिए । यसले राजनीतिक दलहरूलाई थप दबाब सिर्जना गरेको थियो । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम समेत रहेको सुर्खेतमा भने दिन प्रतिदिन सडकमा उत्रिनेहरूको संख्या बढ्दै गयो । हचुवाको भरमा मध्यपश्चिमलाई टुक्रा–टुक्रा पारिएको भन्दै नागरिकहरूले प्रदर्शन गरे । सुर्खेत जिल्ला बन्द भयो । सुर्खेतलगायत बाँके, जाजरकोट, दैलेख र मुगुका नागरिकहरूले समेत दलहरूबीच प्रदेशको सीमाङ्कनमा भएको सहमतिको व्यापक विरोध जनाए । मध्यपश्चिम टुक्र्याएको विरोधमा दैलेखमा हस्ताक्षर अभियान समेत गरियो । यस्तै जाजरकोटका नागरिकहरूले समेत अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदेशको राजधानी सुर्खेतमा बनाउन माग गरेर प्रदर्शन गरिरहे । मुगुमा पनि विरोध प्रदर्शन गरिएको थियो । प्रदेश नंं. ५ मा मिसाइएको बाँके र बर्दियामा पनि अखण्ड मध्यपश्चिमको माग चर्को रूपमा उठेको थियो ।
नागरिक समाजले सुरु गरेको आन्दोलनमा यस क्षेत्रका राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायत संघ–संस्थाहरूले पनि ऐक्यबद्धता जनाए । व्यवसायीहरू पसल बन्द गरेरै आन्दोलनमा उत्रिए । जसले गर्दा १३ औं दिनमा पुगेर आन्दोलन एउटा निश्कर्षमा पुग्यो । दलहरूले सुदूरपश्चिमका गाभिएका १० जिल्लालाई छुट्टै प्रदेश बनाउने निर्णय गरे । अखण्ड मध्यपश्चिमको माग गरे पनि दलहरूको उक्त निर्णयको स्वागत गर्दै यस क्षेत्रका नागरिकहरूले आन्दोलन स्थगित गरी खुशीयाली मनाए ।
आन्दोलन सुरु भएको पहिलो दिन सम्झदै आन्दोलनका अभियन्ता एवम् मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक प्रचण्ड पोख्रेल भन्छन्, ‘अन्यायपूर्ण ढङ्गले गरिएको सीमाङ्कन विरुद्ध यहाँका
जनता आक्रोशित थिए, हामीले यस क्षेत्रका जनताको साझा मुद्दालाई उठाएर आन्दोलनको सुरुवात ग¥यौं । सुर्खेत लगायत मध्यपश्चिमवासीको भावना पनि त्यही भएकाले सबैले साथ दिनुभयो र हामीले छुट्टै प्रदेश प्राप्त ग¥यौं ।’ उक्त आन्दोलनमार्फत् यहाँका जनताले व्यक्त गरेको अर्को भावना भनेको सुर्खेतलाई राजधानी बनाउनु पनि रहेकाले त्यसको ग्यारेण्टी गर्न समेत उनले माग गरे । त्यसैगरी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेहरूको उपचारमा सरकारले बेवास्ता गरेकाले उनीहरूको उपचार खर्च बेहोर्नुपर्ने पोख्रेल बताउँछन् ।

प्रकाशित मितिः   २२ श्रावण २०७३, शनिबार ०६:२०