के बन्ने ? नेता, अभिनेता वा अभियान्ता

-दिनेश गौतम-

खुला रूपमा जनताले राजनीति सुरु गरेको वा गर्न पाएको भनेकै प्रजातन्त्रको स्थापना पछि नै हो भनेर हामीले धेरै पटक अध्ययन गरेका छौं । वि.सं. २००७ सालपछि नेपालको राजनैतिक वातावरणमा हुर्किएका राजनैतिक व्यक्तिहरू अधिकांश राणा शासनको विरुद्धमा उत्रिएका व्यक्तिहरू भएता पनि वि.सं. २०३० देखि यताका धेरैजसो राजनैतिक व्यक्तिहरू, खासगरी आजको वर्तमान नेपाली राजनीति हाकिरहेका धेरैजसो व्यक्तिहरू विद्यार्थी राजनीतिकै उपज हुन् । धेरै जसो नेताहरू जो अहिले सार्वजनिक रूपमा राम्रो छवि बनाएका मानिन्छन्, उनीहरू विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन् । जनताहरूले जुन नेतामा अहिले पनि सम्भावना देख्छन् वा राजनीतिबाट निराश हुनुपर्ने यस विषम परिस्थितिमा केही त्यस्ता अनुहार छन् जसले त्यो निराशतालाई कम गर्न केही न केही सहयोग गरेका छन् । नेपाली कांग्रेसका चर्चित युवानेता गगन थापा, प्रदिप पौडेल, धनराज गुरुङ्ग, नेकपा एमालेका रविन्द्र अधिकारी, योगेश भट्टराई , रामकुमारी झाँक्री जस्ता नेताहरू विद्यार्थी राजनीतिका उत्पादन हुन् । यिनीहरूले राजनीतिमा कुन भूमिका खेलिरहेका छन् वा कुन भूमिका खेल्नुपथ्र्यो, त्यो एउटा कुरा हो तर यति मात्र हो कि विद्यार्थी राजनीतिमा नेपालमा नेता उत्पादन गर्ने सबैभन्दा ठूलो र चलेको कारखाना हो ।

मध्यपश्चिम विश्वविद्यालयमा पनि अन्य विश्वविद्यालयमा जस्तै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । चुनावका प्रचार तीव्र गतिमा भइनै रहेको छ भने चुनावको नतिजाको विषयलाई लिएर अनेक टिकाटिप्पणी पनि भइनै रहेका छन् । सम्पूर्ण विद्यार्थी सङ्गठनहरू चुनावको तयारीमा लागि नै रहेका छन् । एक किसिमले स्थानीय नेताहरू पनि आ–आफ्नो पक्ष र पार्टी निकट विद्यार्थी सङ्गठनलाई चुनावमा जिताउन अहोरात्र खटिएकै छन् । जे होस्, विश्वविद्यालयमा अहिले पूर्ण रूपमा राजनैतिक माहोल बनेको छ ।
चुनाव हो कि जीत हुन्छ कि हार । तर जो जित्छ , त्यो व्यक्ति नेता वा अभिनेता भन्दा पनि विद्यार्थीको अभियान्ताको रूपमा देखिन, चिनिन र बुझिन जरुरी हुन्छ । जुन राजनैतिक दलको श्रेयमा आफूले चुनाव जितिएको हुन्छ, उक्त दलको पक्षबाट मात्र विश्वविद्यालयलाई, विद्यार्थीलाई र विश्वविद्यालयसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई हेरिनु, देखिनु वा सोचिनु गलत हुनेछ । राजनैतिक पार्टीसँगको संलग्नतालाई एउटा व्यक्तिले लिएको विचारधाराको मिलाप मात्रै हो भन्ने सोचेर विद्यार्थी हकहित, विश्वविद्यालयको उन्नति प्रगति जस्ता विषयमा चुनावमा विजयी हासिल गर्ने व्यक्तिहरू केन्द्रित हुनुपर्ने देखिन्छ । जुनसुकै व्यक्ति, जुनसुकै शक्ति वा जुनसुकै सङ्गठन विजयी भए पनि उनीहरूले काम गर्नु पर्ने वा उनीहरू बफादार हुनुपर्ने भनेकै विद्यार्थीहरूको साझा सवालहरूमा हो । चुनावको बेला एडमिसन गराउन खोज्ने जस्तो अराजक प्रवृत्ति नदेखाइ शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराइ सम्पूर्ण इच्छाशक्ति विद्यार्थीहरूको हक र हितमा खर्च गर्ने गरी नेतृत्व अगाडि आउन जरुरी रहेको छ । यतिमात्र होइन, मध्यपश्चिम विश्वविद्यालय यस क्षेत्रकै प्रतिनिधित्व गर्ने र नवस्थापित विश्वविद्यालय भएको कारण पनि धेरैले सोचेभन्दा फरक र सरल तबरबाट स्ववियुको चुनाव सकाएर सम्पूर्ण देशसमक्ष उदाहरण पेश गर्न मध्यपश्चिम विश्वविद्यालय सफल हुनुपर्छ ।

नेता

राजनीति गर्नलाई विद्यार्थी हुनु बेकार छ । नेपालको महŒवपूर्ण राजनैतिक परिवर्तनमा विद्यार्थी परिवर्तनको भूमिका अविस्मरणीय त पक्कै छ तर यसो भन्दैमा विद्यार्थी कम नेता ज्यादा हुन खोज्ने प्रवृत्ति पक्कै राम्रो होइन । राजनैतिक विचार त प्रत्येक व्यक्तिसँग हुन्छ, राजनैतिक दलसँगको आबद्धता पनि प्रत्येक व्यक्तिसँग हुन्छ, कमसकेम चुनावको मतदाता त कुनै पनि व्यक्ति जरुर हो तर यसको मतलब यो होइन कि त्यो संलग्नता वा निकटताको आधारमा आफूले गर्नपर्ने दायित्व नै बिर्सेर काम
गरियोस् । विद्यार्थीहरू पूर्ण रूपमा विद्यार्थी नै हुन आवश्यक छ ।
यहाँ नेता (लिडर) भनेको त अरुलाई नेतृत्व गर्नसक्ने जो कोही व्यक्ति हो भन्ने अर्थ लाग्ला तर नेपालमा चलिआएको वा अझ भनौं वद्नाम हुँदै आएको नेताको परिभाषाबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजयी हुने सम्पूर्ण विद्यार्थीहरू बाहिर हुनेछन् । उनीहरू कुनै पनि राजनैतिक दलसँग सम्बन्ध राख्ने नेता नभएर विश्वविद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूको आवाजको प्रतिनिधि पात्र भएर उदाउनेछन् । जुन आस्थाका आधारमा एकत्रित विद्यार्थीको मतबाट विजयी भएको भए पनि पूर्ण रूपमा विद्यार्थी हक हित तथा विश्वविद्यालयको सर्वाेपरी विकासमा तल्लिन हुनेछन् ।

अभिनेता
अभिनेताको खास अर्थ हुन्छ अभिनय गर्नु । हामी यसलाई नाटक गर्नु पनि भन्न सक्छौं । अभिनय यथार्थको विपरित हुन्छ अर्थात् जुन अभिनयमा दर्शाइएको कुरा हुन्छ त्यो कहिल्यै यथार्थ हुँदैन । उल्लेख गर्न खोजिएको कुरा के हो भने विश्वविद्यालयको स्ववियु नेतृत्व अभिनेता नहोस् । बाहिर एउटा कुरा गर्ने, भित्र एउटा कुरा गर्ने, एउटासँग एउटा कुरा गर्ने, अर्काेसँग गएर अर्काे कुरा गर्ने प्रवृक्ति जुन अभिनयको असली विशेषता हो, त्यो स्ववियुको प्रतिनिधिहरूमा नदेखियोस् । यथार्थलाई लुकाउने र सीमित व्यक्तिमा निहित स्वार्थ परिपूर्तिको लागि भित्र तहबाट उद्धत हुने चेष्टा गर्नुसम्म पनि स्ववियु चुनावमा जित्नेहरूको लागि गलत कार्य वा दुर्भाग्य हुनसक्छ । दुर्भाग्य यस अर्थमा हुनसक्छ कि चुनाव त फेरि पनि आउँछ । त्यही सङ्गठनको नाममा फेरि पनि चुनावमा जानुनै पर्छ । फेरि चुनावमा जाँदा एजेण्डा के लाने ? अभिनय गर्दा पछिलाई समस्या हुनसक्छ । त्यसो त एजेण्डाकै कुरा गर्दा अहिले पनि कुनै पनि विद्यार्थी सङ्गठनहरू जो स्ववियु चुनावमा होमिदै छन्, उनीहरूसँग खास एजेण्डा छैनन् । जे होस्, यो चुनाव भन्दा अगाडि वा चुनावपछि पनि उनीहरूमा अभिनय गर्ने प्रवृत्ति कदापि नरहोस् ।

अभियन्ता
अभियान्ता कुनै पनि अभियानको नेतृत्व गर्ने व्यक्ति हो । सकारात्मक परिवर्तनको खातिर समूहलाई नेतृत्वप्रदान गर्दै विद्यार्थी नेता भनेको खासमा अभियन्ता हुनुपर्छ । विद्यार्थी हक र हितको लागि सम्पूर्ण विद्यार्थीहरूको प्रतिनिधिपात्रको रूपमा काम गर्दै सबैको हितमा तल्लीन हुनसकेमा ऊ अभियन्ता बन्नसक्छ । सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति सामाजिक अभियन्ता हुनसक्ने अनि विद्यार्थीको हकहितको लागि काम गर्ने र विद्यार्थीको प्रतिनिधित्व जनाउने व्यक्ति चाँही अभियन्ता हुन नसक्ने ? जरुर सकिन्छ र सक्नु पनि पर्छ । विद्यार्थीहरूको बहुमत अपेक्षाहरू पूरा गर्नको लागि दबाबमूलक भूमिका खेल्न सक्नुका साथै केही गुनासाहरूलाई पनि सम्बोधन गर्न प्रयत्नशील हुनसकेमा स्ववियुबाट आउने प्रतिनिधिहरू अभियन्ता हुन सक्नेछन् । विश्वविद्यालयको सुधारिदै गएको जुन स्थिति अहिले देखिएको छ, यसलाई निरन्तरता दिँदै मध्यपश्चिम विश्वविद्यालयलाई मुलुककै उत्कृष्ट विश्वविद्यालय बनाउन विद्यार्थीहरूको महŒवपूर्ण भूमिका रहनेछ । स्वतन्त्र विद्यार्थी युनियन ताल्चा लगाउने अभियानको नेतृत्व गर्ने सङ्गठन भन्दा पनि ताल्चा खोल्नसक्ने अभियानको नेतृत्व गर्ने सङ्गठन बन्न सकोस् । शुभकामना ।

प्रकाशित मितिः   २४ श्रावण २०७३, सोमबार ०६:३९