‘म रिसाउँदा उनले फकाउँछिन्’

premसपना सबै पूरा हुँदैनन् । कहिले काहीं भने कल्पना नै नगरेको काम पनि आइपर्छ । पिता शर्पानन्द पाण्डे र माता लक्ष्मी पाण्डेको कोखबाट २०४१ सालमा दैलेखको नयाँबजारमा जन्मिएका प्रेमप्रसाद पाण्डेले देखेको सपना पनि पूरा हुन सकेन । उनको बाल्यकालदेखिको रुचिको क्षेत्र खेलकुद थियो । तर, उनी व्यापारी बन्न पुगे । बाल्यकाल सुखमयसँग नै बिताएका पाण्डे धेरै सम्पन्न घरपरिवारका भने
थिएनन् । उनका बुबाआमाले दैलख बजारमा नै होटेल गर्ने भएकाले उनीहरूको दैनिकी घरखर्च पनि त्यसै होटेलबाट नै चल्थ्यो ।
बाल्यकालमा अलि बढी नै चञ्चले स्वभावका पाण्डेले एसएलसीसम्म दैलेखबाट नै पास गरे । एसएलसी पास भएपछि भने उनी उच्च शिक्षाका लागि सुर्खेत आएका थिए । तत्कालीन बहुमुखी क्याम्पस सुर्खेतबाट १२ कक्षा पास गरेपछि भने उनी काठमाडौं गए ।
उनी कक्षा १० पढ्दै थिए, कराँते पनि सिक्दै गए । उनलाई त्यही कराँते सिकेको भएर काठमाडौंसम्म पुगे । दैलेखमा दुई वर्षसम्म उनले कराँतेको गुरु नै भएर पनि काम गरे । उनी भन्छन्, ‘मैले दैलेखमा दुई वर्षसम्म कराँतेको गुरु भएर विद्यार्थीहरूलाई कराँते सिकाउने गर्थें ।’ उनी काठमाडौंमा राष्ट्रिय खेलाडी भएर नै गएका थिए । त्यतिबेला काठमाडौंको दुई विद्यालयमा नै कराँते सिकाउने अवसर पनि पाए । उनले काठमाडौंको भैंसेपाटी र कोटेश्वरको विद्यालयमा विद्यार्थीहरूलाई कराँते सिकाउने गर्थे । काठमाडौंमा कराँते सिकाउँदै थिए । यता उनको दैलेखमा रहेको घरपरिवारलाई तत्कालीन शाही नेपाल सेनाले विस्थापित नै गराइ दियो । उनको घर सेनाले कब्जा नै गरिदिए पछि पाण्डे काठमाडौं छोडेर दैलेख
फर्किए । बस्ने घर नै नभए पनि घरपरिवारसँग सल्लाह गरेर उनीहरू सुर्खेतमा बसाइँ सरेर आए । उनी भन्छन्, ‘घर नै आर्मीले जफत गरेपछि हामी सुर्खेतको भैरवस्थानमा बसाइँ सरेर आयौं ।’
जब आर्मीले उनको घर नै जफत ग¥यो तब उनको खेलकुदले पनि बिश्राम लियो । उनको बाल्यकालदेखिको रुची खेलकुदमा नै भएकाले उनी खेलकुदमा लागेका थिए । तर, सोचे जस्तो सबैको जीवन नहुने रै’छ, उनी भन्छन्, ‘मेरो बाल्यकालदेखिको सपना पूरा हुन नपाउँदै छोड्नुप¥यो ।’ कराँते उनको रुचीको क्षेत्र थियो । तर, समय र परिस्थतिले उनलाई व्यापारी बनाइ दियो । उनी घरको जेठो छोरो भएकाले पनि घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आइपरेको थियो । दैलेखमा हुँदासम्म उनलाई आर्थिक समस्या खासै थिएन । तर, आर्मीले घर नै जफत गरिसकेपछि भने उनीहरूलाई आर्थिक समस्या पर्न थाल्यो । आर्थिक स्रोतकै लागि पनि उनले आफ्नो बाल्यकालदेखिको रुचि कराँतेलाई छोडेर व्यापारतिर लागे । २०६५ सालमा उनले वीरेन्द्रनगरमा नै नमुना फेन्सी पसलको
सुरुवात गरेका थिए । आम्दानीको स्रोत जुटाउनको लागि नै उनले व्यापार गर्न सुरु गरेका थिए । उनले भने, ‘सुर्खेत आएपछि घरको जेठो छोरा भएका
कारण पनि मैले नै आर्थिक स्रोतको लागि व्यापार सुरु गरेको हुँ ।’
कराँतेको खेलाडी हुँदै राष्ट्रियस्तरमा समेत ख्याती कमाइसकेका पाण्डे एक्कासी खेलकुदबाट नै सन्यास लिन पुगे । व्यापारमा दैनिकी बित्न थालेपछि उनले खेलकुदमा ध्यान दिने फुर्सदसम्म पाएनन् । त्यसैले पनि उनले खेलकुदबाट सन्यास नै लिए जस्तो भयो । सबैले देखेको सपना पूरा हुँदैन, त्यस्तै पाण्डेले देखेको सपना पनि पूरा हुन सकेन । जब व्यापार सुरु गरे तब उनलाई व्यापारमा अगाडि बढ्ने र हौसला दिने एउटा असल साथीको आवश्यकता प¥यो ।
उनी सुर्खेत पढ्न आउनुभन्दा अगाडि नै उनले दैलेखमा नै कसैलाई मन पराइसकेका थिए । उनले मन पराएको केटी अरु कोही नभएर सुजता रेग्मी थिइन् । उनीहरू दुवै जना एकअर्काेलाई सानैदेखि मन पराउने गर्थे । पाण्डे पढाइको शिलशिलामा सुर्खेत आए र खेलकुदको शिलशिलामा काठमाडौंसम्म पुगे पनि सुजताले उनलाई बिर्सन सकेकी थिइनन् । दुवैले एकअर्काेलाई मन पराए पनि भन्न भने सकेका थिएनन् । जब पाण्डे काठमाडौंदेखि फर्किएर घर गए त्यसपछि भने पाण्डेले नै सुजतालाई प्रेम प्रस्ताव राखे । उनले भने, ‘म काठमाडौंबाट फर्किएर आएपछि नै उनलाई प्रेम प्रस्ताव राखेको थिएँ ।’ सुजताले पनि पाण्डेलाई मन पराएकै कारण उनले पनि सहजै पाण्डेको प्रेम प्रस्तावलाई स्वीकार गरिन् । उनले भनिन्, ‘म पनि उहाँलाई मन पराउँथे, फेरि उहाँको र मेरो घर जोडिएकै थियो नजिकै एउटै गाउँमा बाल्यकालदेखि नै चिनेको हुनाले मैले सहजै उहाँको प्रेम प्रस्ताव स्वीकार गरें ।’
भनिन्छ नि प्रायः मानिसको पहिलो प्रेम सफल हुँदैन रे तर, यहाँ पाण्डे र सुजताको भने बाल्यकालदेखिको प्रेमले सफलता पायो । प्रेम सफल हुनको लागि एकअर्काेको भावना नजिकबाट बुझेर र सम्बन्धमा विश्वास मजबुत बनाउन सकेमा सबैको प्रेम सफल हुने उनीहरू बताउँछन् । प्रेमलाई समय बिताउने साधन नबनाइ जीवनको गोरेटोमा हिँड्न सिकाउने माध्यमको रूपमा लिन सके कोही पनि प्रेमीहरू यहाँ छुट्न नपर्ने उनीहरूको भनाइ थियो । उनीहरू भन्छन्, ‘कतिपयको प्रेममा घरपरिवार र आफन्त नै बाधक बनि दिन्छन् । तर, घरपरिवार र आफन्त प्रेमलाई जब विवाहमा परिणत गरिन्छ तब आफै हटेर जान्छन्, त्यसको लागि प्रेम गर्ने जोडीहरूमा साहस हुन जरुरी छ ।’ उनीहरूले आफ्नो बाल्यकालदेखिको प्रेमलाई सफल बनाउनको लागि २०६६ सालमा भागी विवाह गरे । त्यति बेला सुजता भर्खर १२ मा पढ्दै थिइन् । दैलेखबाट बाबुआमाले सुजतालाई पढ्नको लागि सुर्खेतमा पठाएका थिए । पढ्न पठाएकी छोरी भागेर विवाह गरी रे भन्ने खबर बाबुआमाले सुन्नुपर्दा सुजताको मात्र होइन हरेक छोरीहरूका बाबुआमा रिसाउनु स्वभाविकै हो । सुजताले भागी विवाह गर्दा केही महिना माइतीको ढोका नै बन्द भयो तर, आफ्ना सन्तानले जति ठूलो गल्ती गरे पनि बाबुआमाले त्यस गल्तीलाई सहजै माफी पनि दिन्छन् । सुजताले गरेको त्यो गल्तीलाई पनि उनका बाबुआमाले छ महिनामा नै माफी दिए ।
पिता मणिराम रेग्मी र माता बर्मादेवी रेग्मीको कोखबाट दैलेखमा जन्मिएकी सुजता बाल्यकालमा धेरै नबोल्ने सोझो स्वभावकी थिइन् । सुजताको त्यही स्वभावले पाण्डेलाई आकर्षित गरेको थियो । विवाहपछि पनि यो जोडी अहिलेसम्म सामान्य रूपमा पनि झगडा गरेका छैनन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती बीचमा झगडा कहिले काहीं हुन स्वभाविकै हो, तर जब एकअर्काे बीचमा समझदारी हुन्छ, दुवैको एकअर्काेमा हरेक कुरा शेयर हुन्छ तब झगडा आफै हराएर जान्छ ।’ यो जोडी जे काम गर्दा पनि एकअर्काेमा पहिला सल्लाह गरेर मात्र काम गर्ने गर्छन् । पाण्डे भन्छन्, ‘मेरो जीवनमा यसरी सफलता ल्याउने र मलाई हरकदममा हौसला दिने सुजता नै हुन्, म उनकै कारण आज व्यापारमा मात्र नभइ रहेक कुरामा सफल भएको छु ।’ उनी अहिले रेडिमेट तथा फेन्सी पसल
व्यवसायी समिति सुर्खेतको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् ।
पाण्डे कहिले काहीं बढी नै रिसाउँछन् तर, त्यो समयमा सुजता भने उनको नजिक नै नबस्ने हुँदा उनीहरूको झगडा नै हुँदैन । उनीहरूका अनुसार दाम्पत्य जीवन सफल बनाउनको लागि श्रीमान्ले श्रीमतीलाई तल्लो दर्जाको व्यवहार गर्नु हुँदैन । श्रीमान् श्रीमती भनेका त एक रथका दुई पाङ्ग्रा हुन् दुवैको जीवनका दुवैको महत्व उत्तिकै रहन्छ त्यसकारण पनि श्रीमतीलाई रहेक श्रीमान्ले श्रीमती त हो भनेर उसलाई हेप्ने काम नगर्दा र आफूले गर्ने हरेक क्रियाकलापमा श्रीमतीलाई पनि साथसाथमा अगाडि लैजाँदा दाम्पत्य जीवनलाई सुखमय र दिगो बनाउन सकिन्छ । पाण्डेलाई सुजताको आफू रिसाएको बेला सुजता नरिसाउने बानी खुबै मनपर्ने गर्छ । त्यस्तै सुजतालाई भने पाण्डेको सबै बानी मनपर्ने गर्छ । उनीहरू भन्छन्, ‘जीवन भनेको सङ्घर्ष हो, जीवनलाई कसरी राम्रो बनाउने भन्ने कुरा आफ्नै हातमा हुन्छ ।’ दुःख सबैको जीवनमा आउँछ त्यसलाई डटेर सामना गर्नसकेमा जीवनमा सफल हुन सकिन्छ । प्रेम र सुजताको जीवनले यसै भन्छ ।
                                                                                                -प्रस्तुती : गीता थापा

प्रकाशित मितिः   २२ श्रावण २०७३, शनिबार ०६:१६