कथा : निर्धो झरी

ganesh dhakal
                 -गणेश ढकाल-

पर्दाले झ्याल पूरा ढाक्न सकेको छैन । मनको बाटो हुँदै आँखाबाट सुनसान झरी बर्साउने गरी बाहिर दर्किरहेको झरी म यसै पनि देख्न सक्छु । र, पनि यो परिचित झरीसँग साक्षात हुन मन लाग्छ । बसिरहेको कुर्सीबाट दुई तीघ्रालाई दुई हातले जोडले दबाएर उठ्छु । झ्याल नजिक जान्छु, पर्दा उघार्छु । सोच्छु, एकाबिहान यही पर्दा उघारेको भए एक सुन्दर प्रकृति म देख्थें होला । यद्यपि यो पनि एक प्रकृति हो तर एक कालो रातको प्रकृति, जो निकै भयावह जस्तै छ मेरा लागि । यदि दिउँसो हुदो हो त यो पक्कै घामपानी हुँदो हो, जो निकै प्यारो हुँदो हो उसका लागि त्यसैकारण मेरा लागि ।
‘ए झरी ! के तिमी प्रतिस्पर्धा गर्दैछौं म सँग ?’ झरीसँग अन्तरङ्ग कुरा गर्न मन लाग्छ ।
ऊ ‘हो’ भन्ने भावले अझै जोड जोडले दर्किन थाल्छ ।
‘तर… तर तिमी आज हार्नेछौं ।’ म आडम्बर देखाउँछु ।
ऊ अझै जोडले दर्किन्छ ।
यतिखेरसम्म म पनि अलिकती बर्सिसकेको हुन्छु ।
मन थाम्न नसक्दा आफ्नै ज्यान पनि भारी हुँदोरहेछ । उही कुर्सीमा फर्किन्छु । टेबुलमा पानीको बोतल मात्र हुन्छ । एक घुट्की पानी जबर्जस्ती निल्छु । सुस्केरा हाल्छु ‘खुइए…’ । जतिखेर मुखबाट निस्किएको हावाको झोक्काले मेरो अगाडि मैतिर तीर तेस्र्याएर मलाई तर्साइरहेका उसका यादहरूलाई केही पर पु¥याइदिन्छ ।
‘यदी मैले तिम्रो प्रेम प्रस्ताव स्वीकारिन भने ?’ आँखीभौ अलिक माथि उचालेर कुटनीतिक शैलीमा ऊ बोल्छे । ऊ, अर्थात् श्रेया । श्रेया गुरुङ्ग । यो भन्दा पढी उसको परिचय के दिउँ, किन दिउँ ? अलिक विस्तार गरिदिँदा भन्न सकिन्छ ‘श्रेया गुरुङ्ग, एक धोकेबाज प्रेमिका’ ।
उसको अनुहारमा लुकेको स्वीकारोक्ती म सहजै पढ्न सक्छु । म अझै डिप्लोमेसी प्रयोग गर्छु, ‘तिम्ले मेरो प्रस्ताव स्वीकार गर्दिनौं भन्ने म विश्वास गर्दिन भनें भने ?’
उसमा एक स्थिर भाव देखिन्छ, ‘ओहो ! डिप्लोम्याटिक रैछौ । कतै प्रेम पनि डिप्लोम्याटिक त गर्दैनौं ?’ यो प्रेमिल व्यंग्य भएको मलाई ज्ञात हुन्छ । ऊ आफ्नो डिप्लोमेसी असफल भएको स्वीकार्छे । म धाराप्रवाह बोल्न थाल्छु, ‘यदि प्रेम आफै डिप्लोम्याटिक रहेछ भने हुनसक्छ, नत्र…’
‘लभ यु टु’ म टक्क अडिन्छु । ऊ विस्तारै नजर झुक्याउँछे, सजिलै नभेटिने नङ पनि भेट्न खोज्छे, फेरि मलाई हेर्ने साहस नगरिकनै फर्किन्छे । म एकतमास हेरिरहन्छु । ऊ अलिक पर पुगेर जसोतसो फर्केर हेर्छे । अनि मलाई आफ्नो हविगत अवगत हुन्छ । बोल्दाबोल्दै अड्केको म अड्किरहेकै हुन्छु । वरिपरि तीन÷चार वटा प्रेमजोडिहरू हुन्छन् । म त्यहाँ एक्लो हुन्छु । ऊ अलिक पर उभिएकी हुन्छे, उसका नजर भुइँमै जोतिएका हुन्छन् । म त्यहाँ आमन्त्रीत छु भन्ने मलाई बोध हुन्छ । म ओठमा मुस्कान खेलाउँदै, जमिन हेर्दै उसकै समिप पुग्छु । ऊ फिस्स हाँस्छे, म पनि हाँसिदिन्छु । यसपछि के भयो त के भनुँ ? किन भनुँ ? अलिक विस्तार गरिदिँदा भन्न सकिन्छ ‘यो बुलबुले उद्दानमा दिउँसोको करिब तीन बजेको समय हुन्छ, जहाँ भर्खर मात्र कसैले नदेख्ने गरी एउटा फूल फुलेको हुन्छ, प्रेमको’ ।
मलाई राम्रै थाहा हुन्छ उसलाई पाउनुमा कुनै सानो लगाव पक्कै थिएन । तर यति छिटो यति सहज ऊ भैदिन्छे र पर्सीपल्ट नै भेट्ने प्रस्ताव राखिदिन्छे भन्ने सहज अनुमान भने मलाई हुँदैन । तर यो भैदिँदा मलाई केही विस्मयबोध भएको हुन्छ । कारण, यस्तो सहजतामा निर्मित सम्बन्धको पर्खाल त्यति बलियो हुँदैन भन्ने कुरा मैले देखेका केही प्रेम सम्बन्धहरूको नजिरले बोल्ने गर्छ । तर पनि प्रेम जोडीहरूको पहिलो भेट पक्कै केही विशेष हुन्छ किनकी यो यादगार हुन्छ रे । अझ मेरो पहिलो प्रेमको पहिलो भेट यस्तै यादगार भइदेओस् भन्ने मैले पनि चाहेको हुन्छु र प्रस्ताव स्वीकारेको हुन्छु । बीचमा कोही मोटो मान्छे अट्ने स्थान खाली रहनेगरी हामी बसेका हुन्छौं । म दुवै हात पछाडी राखेर शरीरको सम्पूर्ण भार यसै छोडिदिएको हुन्छु । ऊ स्त्री लज्जताको मान राख्दै केही सम्हालिएर बसेकी हुन्छे । आँखा अगाडि उपत्यकाको बाक्लो बस्ती प्रदशित भइरहेको हुन्छ । सूर्य वडो जतनले किरणहरू रुखमा छरिरहेको हुन्छ, रुख भने घाँममिश्रित छाँया दिइरहेको हुन्छ । प्रसंगलाई एक्कासी मोड्दै ऊ सोध्छे, ‘कति माया गर्छौ मलाई?’
म सहजै भनिदिन्छु, ‘यति नै भनेर किटान गरें भने त्यो सीमित हुन जान्छ, तर म तिमीलाई असीमित माया गर्न चाहन्छु ।’
ऊ मुस्काएर कर्के नजर प्रहार गर्छे । म उसलाई नहेरिकनै मुस्काइदिन्छु । ‘अनि तिमी कति गर्छ्यौ नि ?’ म सोध्दिन, किनकी अब ऊसँग यसको पृथक उत्तर छैन भन्ने मलाई राम्रै ज्ञान हुन्छ ।
‘माया गर्नलाई त्यस्तो के देख्यौं म मा ?’ लाग्छ ऊ अन्तर्वार्ता सुरु गर्दैछे ।
‘सायद देखेरै मात्र प्रेम हुनेभए दृष्टिविहीनहरू कहिल्यै प्रेममा पर्थेनन् ।’ अन्तर्वार्ताको परिपाटीमा प्रतिप्रश्न गर्ने अधिकार मलाई हुँदैन र अर्को प्रश्नको पर्खाइमा म बस्छु ।
‘भविश्यमा पनि हाम्रो सम्बन्ध यस्तै रहेन भने ?’ ऊ कठिन प्रश्न सोध्छे, जुन प्रश्न प्रेमीहरू सुन्न चाहँदैनन्, जसको ठेट जवाफ प्रेमीहरूसँग सायदै हुन्छ । यद्यपि उसको प्रश्नमा म कुनै विपरित सङ्केत पाउँदिन ।
‘के यस्तो प्रश्न गर्नु अविश्वासको सङ्केत होइन ? के तिमीलाई म मा विश्वास छैन ? कि तिमी आफैमा विश्वास गर्दिनौं ?“ लाग्छ अन्तरात्मा बोल्दै छ ।
‘दुवैको विश्वास गर्छु,’ गम्भीरतामा ऊ खुशी मिसाएर भन्छे, ‘अब जाम’ । म हात अघि बढाउँछु, उसलाई अब मलाई तानेर उठाउन करै लाग्छ । आफ्नो हातको स्पर्श दिएर ऊ मलाई तान्छे तर म यही विकराल कालो रातको सुनसान कोठामा धकेलिन्छु, जहाँ म एक्लो हुन्छु ।’
फेरि उसैगरी दुई तीघ्रालाई दुई हातले जोडले दबाएर उठ्छु, झ्याल नजिक जान्छु, पर्दा उघार्न खोज्छु जो पहिले नै खुला हुन्छ । बेप्रवाह बर्सिरहेको झरी मलाई चुनौती दिइरहेको हुन्छ । तर अहिले झरीसँग कुनै संवाद गर्न मन लाग्दैन । फेरि उही कुर्सीमा फर्किन्छु । बोतल समात्छु तर पानी खानुभन्दा पहिला सोच्छु, ‘के अहिलेसम्म म उसकै यादमा बेचैन थिएँ त ? कि यसैलाई मानिसहरू ननिदाएरै देखेको सपना भन्छन् ?’ बेक्कार दिमागलाई दुःख दिएझै लाग्छ । पानी खान्छु, तर एक्कासी उसको यादले चिथोर्छ । पहिलो भेटमा उसका बालसुलभ लाग्ने प्रश्नहरू सम्झिन्छु, उसको कर्के नजर सम्झिन्छु, उसको हातको स्पर्श सम्झिन्छु । तर यो भन्दा बढी सम्झेर अब अति मर्माहित हुने दुस्साहस म गर्दिन । निधार टेबलमा अड्याउँछु, दुई हातको छाता ओढ्छु । यस्तैमा मोबाइलले ‘श्रेया कलिङ’ को सङ्केत देखाउँछ ।
करिब बीस सेकेन्ड सुनसान मै बित्छ । छोडेर गइसकेकी ऊ फेरि यसै गइहाल्छेकी भन्ने चिसो मनमा पस्छ र आफै बोल्छु, ‘हेलो ।’ स्वरमा कम्पन हाबी हुन्छ ।
‘कहाँ छौ ?’
‘थाहा पाएर के गर्छ्यौ ?’
‘औपचारिकता निभाउनलाई सोधेकी ।’
‘फोन पनि औपचारिकता निभाउनकै लागि हो भने भो दुःख नगर ।’ म स्वरमा दुःख मिसिन दिन्न ।
‘सुन्दैछु पागल हुँदै छौ रे ?’ उफ ! यसलाई कसरी बुझुँ ? तिखो व्यंग्य ? झिनो सहानुभूति ? वा फेरि उही औपचारिकता ? यसपछिको संवादक्रम यसको निर्णायक होला भन्ने सोच्छु ।
‘सुन्दैछु ? रे ? अर्थात् तिमी पनि मेरो खबर सोध्छ्यौ दुनियाँ सँग ?’
‘अरु के छ ?’ प्रसंगलाई ऊ पूरै मोड्न खोज्छे । सायद ऊ ग्लानीबोध गरिरहेकी हुन्छे ।
‘अब यही एउटा टुक्रिएको मन छ, चाहिन्छ ?’ सोध्दिन । किनकी म बडो जतनले आफ्नो हालत लुकाउन खोजिरहेको हुन्छु ।
‘मानिसहरू कसैलाई नाटकीय रूपमा किन एक्कासी छोडेर जान्छन् ? खोज गरिरहेछु । अनुभवीहरूको अनुभव जान्न पाए मलाई अलिक टेवा पुग्ने थियो ।’ आफ्नो आवाजको तौल देखेर आफैलाई आँट आउँछ ।
‘बुझिनँ, सिधा सिधा भन ।’ यो बोध भएर पनि होइन भन्ने बनाइएको छ भन्ने मलाई राम्रै बोध हुन्छ ।
‘मलाई छोडेर किन गयौ ?’ यो भन्दा सिधा वाक्य अरु म देख्दिन ।
‘सायद तिम्रो माया सीमित हुन पुग्यो, असीमित माया दिने अरु नै कोही पाएँ मैले ।’ यो कुनै चित्तबुझ्दो जवाफ होइन । वास्तवमा यो जवाफ नै होइन । भए पनि मैले सोधेको प्रश्नको जवाफ पक्कै होइन । तर पनि भनिदिएँ, ‘तिमीलाई असीमित माया गर्ने
मान्छेका माया सरासर सीमित हुँदै गएभने तिम्रो के हाल होला ?’ अब मलाई जबर्जस्ती हाँस्न मनलाग्छ । हाँसिदिन्छु एक कृतिम मध्यमस्तरको हाँसो । उसले फोन राखेकी थिइ वा थिइन, थाहा नपाउँदै म आफूलाई टेबलमा निधार अड्याएर हातको छाता ओढिरहेको पाउँछु ।
उफ ! यो सपना हुनुमा मलाई ग्लानीबोध हुन्छ । तर उसको सपना देख्नुमा मलाई कुनै विस्मयबोध हुँदैन । बरु उसलाई सम्झिनका लागि दिनको समय मात्र कम हुनुको परिणती जस्तो लाग्छ । उसले मलाई कसरी छोडी त के भनुँ ? किन भनुँ ? अलिक विस्तार गरिदिँदा भन्न सकिन्छ ‘प्रेमात्राको सातौं महिनाको एक दिन अनेकन निहुँ खोज्दै ऊ प्रेमको फूल फुलेकै ठाउँबाट फक्रिएको फूल चुँड्न खोज्दै थिइ । र मैले कसैगरी त्यो फूल बचाउन सकेको थिइन ।’
‘मलाई उसकै किन जरुरत छ ?’ यो मनसँग आफ्नै मनको प्रश्न हुन्छ, जसले अनेकन प्रश्न जन्माइदिन्छ । ‘मलाई किन उसकै मात्र स्पर्श प्रेमिल लाग्छ ? के त्यस्तै स्पर्श अरु स्त्रीबाट प्राप्त गर्न सकिँदैन?’
‘मलाई किन उसकै कर्के नजरको अभाव महसुस भइरहेछ ? के यो अभाव अर्को कुनै स्त्रीको कर्के नजरले पूरा गर्न सक्दैन ?’
‘अनि किन मलाई उसकै उपस्थिति र दृश्य चाहिन्छ ?’
‘चाहिन्न भनुँ भने म उसकै यादमा किन यति व्यग्र छु ?’
‘चाहिन्छ भनुँ भने मेरो दृष्टिबिहीनले गर्ने प्रेमको दृष्टान्तसँग यो कहाँ मिल्छ ?’
‘के मैले उसको स्पर्शलाई प्रेम गरेको हुँ ?’
‘के मैले उसको कर्के नजर लाई प्रेम गरेको हुँ ?’
‘के मैले उसको सजिव दृश्यलाई प्रेम गरेको हुँ ?’
‘यदि हो भने किन अर्को स्त्रीबाट म अमुर्त मानिने प्रेम पाएर उसको प्रेमको अभाव नटाँरु ?’
प्रश्नहरू अनुत्तरित नै रहन्छन् ।
तर ऊ ? उसले त सरासर प्रतिस्थापन गरिदिइ प्रेमलाई । उसले त पुष्टी गरिदिइ ‘प्रेमले सबचिजको तुलना गर्छ, मनको बाहेक । र त प्रेम प्रतिस्थापन हुनसक्छ । यदि मन तुलना हुने भए प्रेम प्रतिस्थापन हुन सक्थेन । किनकी दुनियाँमा यही मनभन्दा अरु सबचिज तुलना योग्य छन् ।’
अनि म ? म के पुष्टी गरुँ ? ‘प्रेमको प्रतिस्थापन सम्भव छैन । जसरी म गर्न सकिरहेको छैन ।’ यही ? अझै प्रश्नहरूले उत्तर पाउँदैनन् ।
मन मस्तिष्क दुवैमा गहिरो दबाब परेको महसुस हुन्छ । प्रश्नका लहरहरू बन्द गरिदिन्छु । अहिले भने तीघ्रा नदबाइकनै उठ्छु । झ्याल नजिक जान्छु । झरी पूर्ण रूपले मत्थर भइसकेको हुन्छ । खासमा झरीले हारेको हुन्छ । कठै ! निर्धो झरी ! अनि के म निर्धो छैन ? फेरि प्रश्नको लहर सुरु हुन थाल्छ, जुन म तुरुन्तै बन्द गरिदिन्छु । फेरि त्यही कुर्सीमा फर्कन मन लाग्दैन । झरीलाई जितेको उत्सव म केहीछिन आफै बर्सिएर मनाउँछु । अब बाँकी के छ र भनुँ ? किन भनुँ ? अलिक विस्तार गरिदिँदा भन्न सकिन्छ ‘यतिखेर घडीले अढाइ बजाइसकेको हुन्छ । सोच्छु, विचरा निर्धो झरी ! कहाँ गयो होला मसँग हारेर ? म त प्रेमसँग हारेर जसोतसो कोठामा त थुनिएको थिएँ ।’

प्रकाशित मितिः   २२ श्रावण २०७३, शनिबार ०६:१२