गाउँ–गाउँमा प्रहरीको गस्ती
सल्यान : जिल्ला प्रहरी कार्यालय सल्यानले दुरदराज प्रहरी गस्ती अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण भेगसम्म राज्यको पहुँच विस्तार तथा जनतासँग प्रहरीको सम्बन्ध विस्तारका लागि भन्दै प्रहरीले गस्ती अभियान थालेको हो । कुनै घटना तथा कार्यक्रम बाहेक दूरदराजमा प्रहरीको पहुँच पुग्न नसकेको भन्दै जनताको शान्ति सुरक्षा तथा अमनचयम गर्न गस्ती अभियान सञ्चालन गरिएको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । उनले भने ‘सहर बजारमा प्रहरीको पहुँच राम्रो रहेको छ तर दूरदराजमा हाम्रो उपस्थिति निकै कम भयो त्यसकारण अभियान सञ्चालन गरेका छौं ।’
गस्तीका लागि प्रहरीको पहुँच नपुगेका भनिएका जिल्लाका ३८ स्थान छनौट गरिएको छ । प्रहरीले पानचौर, दार्मकोट, वाफुखोला, गुरुदासे, गर्चे, अवलवेशी, घुइयाबारी, जलजला, छरछरे, कालापातल लगायतका ३८ स्थानमा पहुँच रहेको जनाएको छ । २ घण्टादेखि ८ सम्मको पैदल दूरीमा पर्ने स्थानलाई प्रहरीले दूरदराजको स्थान भनेर वर्गीकरण गरेको छ । सक्रियता देखाउन सातामा एकपटक तोकिएका स्थानमा अनिवार्य प्रहरी पुग्नुका साथै स्थानीय र जनप्रतिनिधिहरूसँग छलफल अन्तरक्रिया गर्नैपर्ने प्रहरी प्रमुख खतिवडाले बताए । नजिकैका दुई प्रहरी पोष्टबाट तोकिएको स्थानमा पुगेर स्थानीयसँग छलफल, अन्तरक्रिया गरी फोटो खिचेर आउनु पर्नेछ । प्रहरीको पहुँच नभएको भन्दै अपराध गर्ने व्यक्तिहरू लुक्न सक्ने भएकाले पनि त्यस्ता स्थानमा सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मितिः २९ पुष २०७६, मंगलवार ०८:५६
साझा बिसौनी ।