एक सातादेखि सञ्चार सम्पर्क विच्छेद

मुगु : हिमपातका कारण एक सातादेखि जिल्लाभर सञ्चार सम्पर्क विच्छेद भएको छ । हिमाली बस्तीमा बाक्लो हिउँ परेका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । जसका कारण जनजीवन कष्टकर बनेको छ । पुस १८ को भारी हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध बनेको हो । हिमपातले टावरमा क्षति पु¥याएपछि टेलिफोन, जीएसएम मोबाइल र इन्टरनेट सेवा ठप्प छ ।

नेपाल टेलिकमको सीडिएमए प्रविधिको टेलिफोन र मोबाइलले समेत राम्ररी काम नगरेको स्थानीयको गुनासो छ । टेलिफोन अवरुद्ध भएपछि स्थानीयबासी आफन्तसँग सम्पर्कविहीन बनेका हुन् । सञ्चार सेवा अवरुद्ध भएको एक साता बित्दासमेत मर्मत नहुँदा स्थानीयबासी सास्ती भोग्न बाध्य छन् । सञ्चार समस्याकै कारण गत बुधवार रोवास्थित जिउकाकी ३५ वर्षीया सुत्केरी धनरूपा विकले ज्यान गुमाइन् । सञ्चार सम्पर्क भइदिएको भए जिल्ला अस्पतालबाट एम्बुलेन्स बोलाएर उनको ज्यान बचाउन सकिने परिवारको भनाइ छ ।

इन्टरनेट सेवा बन्द हुँदा सरकारी र गैरसरकारी कार्यालयका कामकाज प्रभावित बनेका छन् । स्थानीय सञ्चार माध्यममा समेत यसको असर परेको छ । ‘इन्टरनेट चलाउन नपाउँदा समाचार सम्प्रेषणमा समस्या भएको छ,’ स्थानीय सञ्चारकर्मी कविराज कार्कीले भने, ‘आजभोलि भन्दा–भन्दै धेरै दिन बितिसक्यो, सञ्चार समस्याकै कारण सानो काममा पनि सास्ती बेहोर्नु परिरहेको छ ।’ एक सातादेखि सदरमुकाम गमगढीसँग ग्रामीण क्षेत्रको सम्पर्क विच्छेद भएको छ । रुघा, कार्कीवाडा, रोवा, पिना, बालै, मुन्दु, ताल्चा, भामवाडा, श्रीनगरलगायत क्षेत्रमा सञ्चार सम्पर्क हुनसकेको छैन । इन्टरनेट नहुँदा आर्थिक कारोबारमा समस्या भएको बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको गुनासो छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकले चेक भुक्तानी गर्न र रकम जम्मा गर्न समस्या भएको जनाएका छन् ।

प्रकाशित मितिः   २९ पुष २०७६, मंगलवार ०८:५४