बढ्दै बेरुजु रकम

सल्यान : जिल्लाका १० वटै पालिकामा अनियमितताले वर्षेनी बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुन विपरित काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ । गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा २३ करोड १० लाख रूपैयाँ बेरुजु थियो, जसमध्ये पेश्की बेरुजु ६ करोड २५ लाख, असुल उपर गर्ने पाँच करोड ६१ लाख र नियमित गर्नुपर्ने ११ करोड २३ लाख रूपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा नीतिगत र आर्थिक अनियमितताले विकास योजनामा बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बुद्धिमान बस्नेतले बताए । कार्यालयका अनुसार बाग्चौरमा तीन करोड ३३ लाख, बनगाड कुपिण्डेमा ३ करोड ४९ लाख, शारदामा दुई करोड ५६ लाख, कपुरकोटमा एक करोड १० लाख र कालीमाटीमा एक करोड ९८ लाख रूपैयाँ बेरुजु देखिएको छ ।

त्यस्तै त्रिवेणीमा एक करोड ७९ लाख, छत्रेश्वरीमा तीन करोड २१ लाख, सिद्धकुमाखमा २ करोड २ लाख, कुमाखमा १ करोड ७ लाख र दार्मामा १ करोड ५४ लाख रूपैयाँ बेरुजु देखिएको कोलेनिकाले जनाएको छ । लेखापरीक्षणका क्रममा कागजपत्र समयमै बुझाउन नसकेका कारण नीतिगतभन्दा आर्थिक बेरुजु बढी देखिएको उनले जानकारी दिए । असुल उपर गर्ने भनिएको १० वटै स्थानीय तहको पाँच करोड ६१ लाख रकम राजस्व खातामा जम्मा हुनुपर्छ । अघिल्लो वर्ष पनि जिल्लाका स्थानीय तहमा १० करोड रूपैयाँको हाराहारीमै रकम बेरुजु देखिएको थियो । स्थानीय तहले गत वर्षको धेरैजसो रकम फछ्र्यौट गर्न नसकेको उनले बताए ।

शारदा नगरपालिकाका लेखापाल वासुदेव गौतमले गत वर्ष असारको अन्तिममा विद्यालय भवन बनाउन थप बजेट आएको र समयमै काम हुन नसक्दा बेरुजु रकम बढी देखिएको बताए । उनका अनुसार केही नीतिगत समस्याका कारण पनि बेरुजु रकम बढ्न गएको हो । ‘केही समस्या अत्यावश्यक कानुन नबन्दा पनि भएका छन्, प्रदेश सरकारले गरेको निर्णयअनुसार भुक्तानी गरिएको भत्तामा पनि बेरुजु देखिएको छ,’ उनले भने, ‘नियमित गर्ने बेरुजुबारे सम्बन्धित निकायमा स्पष्टीकरण पेश गरिसकिएको छ ।’ उनका अनुसार नगरपालिकामा अघिल्लो वर्षको झण्डै दुई करोड बेरुजुमध्ये एक करोड २८ लाख रूपैयाँ फछ्र्यौट भइसकेको छ ।
विकास निर्माणको काममा ठेकेदार र उपभोक्ता समितिले गरेको ढिलाइले बेरुजु रकम बढी देखिएको जनप्रतिनिधिको भनाइ छ ।

प्रकाशित मितिः   २७ पुष २०७६, आईतवार ०८:१८