राजीनामा नदिने उप–सभामुखको अडान

काठमाडौं : उप–सभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए पनि उनले पूरानै अडान लिएकी हुन् । शनिवार बसेको नेकपा सचिवालय बैठकबाट राजीनामा गराउने निर्णय सार्वजनिक भएसँगै उनले पदबाट नहट्ने जानकारी दिएका हुन् । तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउने शर्तमा मात्रै उप–सभामुखबाट बाहिरिने अडान लिएकी हुन् । ‘पार्टीले गरेको निर्णयबारेमा मलाई कुनै जानकारी छैन । तर भोलि बस्ने प्रतिनिधिसभाको बैठक मैले नै चलाउँछु’, उनले शनिवार साँझ भनिन्, ‘म सभामुख पदका लागि अयोग्य हुने कारण पार्टीले दिन सक्नुपर्छ ।’

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उप–सभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो । उप–सभामुखले राजीनामा दिएपछि मात्रै सभामुख चयनको प्रक्रिया अघि बढ्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । रिक्त रहेको सभामुख पदको निर्वाचन आइतवारबाट सुरु हुने भएपछि नेकपाले उक्त निर्णय लिएको हो । यद्यपि उप–सभामुख तुम्बाहाम्फेले राजीनामा नदिने बरू महाअभियोग लगाएर हटाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिँदै आएकी छन् । शुक्रवार मात्रै उप–सभामुख तुम्बाहाम्फेले दुवै अध्यक्षसँग भेटवार्ता गरेर सभामुखका लागि आफ्नो अयोग्यता पुष्टी गर्न भनेकी थिइन् ।

असोज १२ गते संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेर तत्कालीन कृष्णबहादुर महरा जेल गएपछि सभामुख पद रिक्त रहेको छ । सभामुखका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको पक्षमा छन् । अध्यक्ष पुष्पकमल दाहालले अग्नि सापकोटाको पक्ष लिएका छन् । यस्तो अवस्थामा उप–सभामुखको राजीनामा नआएसम्म नेकपाले सभामुख चयन अगाडि बढाउने संवैधानिक व्यवस्था छैन । यस्तो अवस्थामा उप–सभामुख तुम्बाहाङ्फेले पार्टीको निर्णय नमान्ने बताउँदै भोलिको बैठक आफैं चलाउने बताएकी छन् । ओली र दाहालको अडानबीच उप–सभामुखले पनि पछि नहट्ने बताएकी छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएको चर्चा राजनीतिक वृत्तमा छ ।

नेकपाले सभामुख चयन नगर्दा पुस ४ गतेबाट सुरू भएको प्रतिनिधिसभाको संसद् बैठक दुई पटक स्थगित भइसकेको छ । आइतवार संसद्को बैठक बोलाइएको छ । स्रोतका अनुसार नेकपा सचिवालयको उक्त निर्णयपछि उप–सभामुख डा. तुम्बाहाङ्फेले छलफल अघि बढाएकी छन् । उनले नेकपाकै नेतृत्वसँग पनि परामर्श थालेकी छन् । उनले नेकपा नेतृत्वसँग एक पटक परामर्श गरेर मात्रै निर्णय लिने भएकी छन् ।

प्रकाशित मितिः   २७ पुष २०७६, आईतवार ०८:१६