दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा

मुगु : चिसोको मौसमलाई मध्यनजर गरी मुगुका विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–२ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना र महाकाली नमूना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका दृष्टिविहीन, सुस्त श्रवण भएका १८ विद्यार्थीलाई शनिवार न्यानो कपडा वितरण गरिएको हो ।

हिमाली जिल्ला मुगुमा यो वर्ष मंसिर महिनाको २८ गतेबाटै हिउँ पर्न सुरु गरेपछि दृष्टिविहीन बालबालिका चिसोमा कठ्यांग्रिदै विद्यालयमा पढ्दै र बस्दै आएको देखेपछि न्यानो कपडा सहयोग गरिएको हिरिसडेक मुगुका अध्यक्ष मिनबहादुर रावलले बताए । उनका अनुसार विद्यार्थीलाई चिसोमा सहजका लागि प्रत्येक विद्यार्थीलाई जकेट, टोपी, थर्मकोट, जुत्ता, मोजा, तन्ना र सिरकको खोल दिइएको बताए । विद्यार्थीलाई सरसफाइ गर्न सहज होस् भन्ने उद्देश्यले टावेल, सेनेटरी प्याड, साबुन मञ्जन, ब्रससमेत वितरण गरिएको छ । चिसोबाट बच्नका लागि न्यानो कपडाहरू पाएपछि दृष्टिविहीन बालबालिकाको मुहारमा खुशी देखिएको थियो । छायाँ नेपाल नामक संस्थाको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुको सहजीकरणमा न्यानो कपडा वितरण गरिएको हो ।

प्रकाशित मितिः   २७ पुष २०७६, आईतवार ०८:१४