विमानस्थल विस्तारमा सडकको बाधा

दक्षिणतर्फको भाग सडकमा पर्ने भन्दै उक्त क्षेत्र छोड्न सडक डिभिजनले विमानस्थललाई पत्र पठाएको छ ।

सुर्खेत : धानवमार्ग साँघुरो भएका कारण सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने योजना बनाइरहँदा सडकका कारण थप खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएको छ । रत्न राजमार्ग अन्तर्गत धुलियाविटदेखि बाङ्गेसिमलसम्मको सडक विस्तार गर्नका लागि विमानस्थलको जग्गा समेत च्यापिने भएको छ । सडक विस्तारका लागि विमानस्थलको केही क्षेत्र छोड्न सडक डिभिजन कार्यालय सुर्खेतले अनुरोध गरेको छ । विमानस्थलको दक्षिणतर्फको तारजाली हटाउनुपर्ने पत्र सडकले सुर्खेत नागरिक उड्डयनको कार्यालयलाई पठाएको छ । भएको जमिननै विमानस्थललाई कम भइरहेको बेला सडक विस्तारका लागि छोड्नुपर्ने पत्र आएपछि थप समस्या देखिएको नागरिक उड्डयन कार्यालयका प्रमुख उमेशकुमार पन्थीले बताए । ‘यसै पनि सुर्खेत विमानस्थलको चारैतर्फ साँघुरो क्षेत्र छ’ उनले भने ‘अझै गम्भीर कुरो त विमानस्थलको रन–वे दक्षिणबाट उत्तर तर्फ हो ।’ यसरी दक्षिणतर्फकै जमिन छोड्नुपर्दा विमानस्थलको धावनमार्ग झनै साँघुरो हुने उनले बताए ।

पन्थीका अनुसार करिब एक महिनाअघि सडक डिभिजन कार्यालय पत्र पठाएर दक्षितर्फको केही क्षेत्र छोड्न भनेको छ । तर यसका लागि थप प्रक्रिया भने अघि बढेको छैन । सडकले पत्र पठाए पनि प्राविधिक भने पठाइसकेको छैन । उनले सुर्खेत नागरिक उड्डयन कार्यालयसँग प्राविधिक नभएकोले पत्र आएको जानकारीसहित प्राविधिक माग गरी केन्द्रीय कार्यालयमा लेखी पठाएको जानकारी दिए । ‘अहिले पनि उडानमा थुप्रै समस्या रहेको छ’ पन्थीले थपे विमानस्थलकै क्षेत्र अपुग भएको बेलामा सडकको लागि जमिन छोड्दा समस्या आउन सक्छ ।’

सडकमा भएको अतिक्रमण हटाउने सन्दर्भमा विमानस्थलको जाली समेत सडकको क्षेत्रमा लगाइएको पाइएको हुनाले तत्काल यो जाली सार्न अनुरोध छ भनेर सडक डिभिजन कार्यालय सुर्खेतले पत्र पठाएको उनले बताए । आफूहरूले भने सडकको जमिन विमानस्थलमा परेको छ वा छैन, परेको छ भने कति परेको छ भनी अध्ययन गर्ने तयारीमा रहेको उनले जानकारी बताए । यद्यपि केन्द्रीय कार्यालयबाट प्राविधिक नआएको उनले बताए । सडकको तारजाली हटाउनुपर्ने अवस्था आएपछि अहिले आइरहेको जहाजहरू सबै आउने र सामान बोक्ने क्षमतामा भने कमी आउने पन्थीले जनाए ।

उता सडक डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख धिरज ढकालले सडक पच्चीस मिटर दायाँ र पच्चीस मिटर बायाँ गरी पचास मिटर विस्तार गर्ने क्रममा सडकमा पर्ने जमिन जो कसैले पनि छोड्नुपर्ने तर्क गरे । उनले रत्न राजमार्गको धुलियाविटदेखि बाङ्गेमिसलसम्मको क्षेत्रमा भएका सडक अतिक्रमणहरू हटाउने क्रममा सुर्खेत विमानस्थललाई समेत तारजाली हटाउनको लागि पत्र काटेको बताए । ‘मेरै घर पनि सडकको भागमा परेको भए छोड्नुपथ्र्यो’, उनले भने ‘हामी सबै नीति र नियममा चल्नुपर्छ ।’ अहिले विमानस्थलको लागि तारजालीसम्मको जमिन खासै प्रयोगमा नआएको उनले तर्क गरे । नियम अनुसार सडकको जमिन अहिले सुरक्षित गर्न सकेको खण्डमा भविष्यमा समस्या नहुने दावी ढकालको छ ।

उनका अनुसार सडकबाट करिब १५ मिटरको दूरीमा विमानस्थलको तारजाली भएको र १० मिटर जति जमिन छोड्नुपर्ने हुन सक्छ । नागरिक, व्यवसायी लगायत सबैलाई अतिक्रमण हटाउनको लागि पत्र काटेपछि विमानस्थललाई मात्रै छोड्न नमिल्ने उनले बताए । रत्न राजमार्ग विस्तारको लागि सडकमा पर्ने अतिक्रमण हटाउन कार्यालय कडाईका साथ प्रस्तुत भएको उनले जानकारी दिए । सुर्खेत विमानस्थलको धावनमार्ग सानो भएको कुरा पटक–पटक उठेको विषय हो । विमानस्थल विस्तारको समेत चर्चा नचलेको होइन । दक्षिणतर्फको क्षेत्र सडक र उत्तरतर्फको क्षेत्र विद्यालय परेको छ । पूर्व–पश्चिमको क्षेत्रमा उडान समस्या हुने सुर्खेत नागरिक उड्डयन कार्यालयले बताउँदै आएको छ । सुर्खेत विमानस्थल साँघुरो हुँदा ठूला विमान सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण विमानस्थल थप विस्तार गर्न अध्ययन भइरहेको छ । त्यतिमात्र होइन यसको विकल्पमा अन्यत्र विमानस्थल बनाउने चर्चा पनि चल्दै आएको छ ।

प्रकाशित मितिः   २७ पुष २०७६, आईतवार ०८:२४