शुक्रवारदेखि मौसममा सुधार

काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शुक्रवारबाट विस्तारै सुधार भएको छ । सोमवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सजिना शाक्यले शुक्रवार साँझदेखि मौसम क्रमिक सुधार भएको जनाइन् । राती देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशका पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । आइतवार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।